पोखरामा अनुवाद विषयक विचार गोष्ठी तथा कवि गोष्ठी

ईनेप्लीज प्रतिनिधि २०७६ वैशाख २७ गते १:४९ मा प्रकाशित

ईनेप्लीज प्रतिनिधि

नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले पोखरामा विचार गोष्ठी र कवि गोष्ठीको आयोजना गर्यो । प्राज्ञहरु माया ठकुरी तथा उषा ठाकुरले प्रज्ञा प्रतिष्ठानको प्रतिनिधित्व गरेका थिए भने अनेसासका तर्फवाट अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली तथा अनेसास नेपाल च्याप्टरका पदाधिकारीहरुले गरेका थिए ।

कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणको विचार गोष्ठी सत्रमा “नेपाली आख्यान साहित्यमा अनुदित कृतिहरु” विषयक कार्यपत्र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा नवराज न्यौपानेले प्रस्तुत गरेका थिए।

विचार गोष्ठीमा प्राडा यामबहादुर पौडेल क्षत्री, भाषाविद मुकुन्दशरण उपाध्याय, अनेसास का निवर्तमान अध्यक्ष पदम विश्वकर्मा, अनेसास नेपाल च्याप्टर महासचिव सन्ध्या पहाडी, अनेसास वेलायत च्याप्टर अध्यक्ष सुमलकुमार गुरुङ, अनेसास गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह बाबा, साहित्यकार गोविन्द गिरी प्रेरणा, डा. रेणुका सोलु, ज्ञानु अधिकारी, गीता मैनाली, गीता कार्कीलगायतले विभिन्न टिप्पणी गरेका थिए।

अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले निकट भविष्यमै समाजले २० जना कथाकारका कथाहरु अंग्रेजीमा अनुवाद गरेर प्रकाशन गर्ने तयारी पनि गरिरहेको बताए। साथै, उनले हाल कथा छनौटको काम चलिरहेको जानकारी दिए। ‘उत्कृष्ट कृतिको पहिचान र त्यसलाई बजारीकरण गर्ने हो। पुस्तक प्रकाशन गरेरमात्रै हुँदैन विश्व बजारमा पठाउनुपर्छ, ’ उनले भने, ‘हामी त्यसकै तयारीमा छौं। कथा पहिचान गरिरहेका छौं। ’

कार्यक्रमको अर्को सत्र कवि गोष्ठीमा साहित्यकारहरू सुमन वर्षा, जलेश्वरी श्रेष्ठ, उपमा आचार्य, सरु सुवेदी, सुशीला खडका, रञ्जना निरौला, डा. शान्तिमाया गिरी, पुष्पा खनाल, पवित्रा अधिकारी, अर्जुन थापा, गीता रेग्मी, राजेन्द्र केसी, सूर्य खडका बिखर्ची, पद्यराज ढकाल, प्रभा बराल, सरस्वती श्रेष्ठ सरु, रमा पराशर, घायलश्री, वसन्त चालिसे, गोविन्द गिरी प्रेरणा। गीता तिवारी गौतम, मदन मल्ल छाया, सरु दाहाल अधिकारी, नरेन्द्र रानाभाट, डिल्लीराम कार्कीलगायतले कविता वाचन गरेका थिए। साथै, कार्यक्रममा मेनका लामाले कत्थक नृत्यसमेत प्रस्तुत गरेकी थिइन।

साथै सो कार्यक्रममा अनेसासको मुखपत्र “अन्तरदृष्टि” को ताजा अङ्कको विमोचन समेत भएको थियो ।

कार्यक्रममा मदन पुरस्कार प्राप्त पोखरेली कवि मुकुन्दशरण उपाध्याय, विश्व शाक्य, तीर्थ श्रेष्ठ लगायतको सहभागिता र उपस्थिति रहेको थियो । गोष्ठीमा विश्वका विभिन्न देशमा रहेका अनेसासका च्याप्टर अध्यक्ष एवम प्रतिनिधि, प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य र सभासद, प्रज्ञा प्रतिष्ठानअन्तर्गत गद्य तथा आख्यान विभाग र अनुवाद विभागका विभागीय प्रमुखसहितका पदाधिकारी र काठमाडौंबाट आएका अग्रजसहित पोखरेली अग्रज, समकालीन र अनुज स्रष्टा साधकको उपस्थिति थियो।

अनेसास महासचिव सन्ध्या पहाडीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनेसास नेपालका सदस्य पुष्पा खनाल र अनेसास गण्डकीका सचिव असफल गौतमले गरेका थिए।

प्रतिक्रिया