मेराे मल प्रेम र अमेरिकाकाे अर्थशास्त्र : तारा भट्टराई

इनेप्लिज २०७६ वैशाख २२ गते २:३२ मा प्रकाशित

सन् २०१५ काे सेप्टेम्बरमा म काठ्माण्डाैबाट नयाँ आप्रवासीकाे रुपमा न्यूयाेर्ककाे क्वीन्समा बसाई सरेदेखि नै क्विन्स मल मेराे दाेस्राे घर हाे। एकाबिहानै स्टार बक्सकाे तात्ताताे कफी पिउन हाेस वा चिसाे आईसक्रीम खानलाई हाेस् म मल मै पुग्छु।कसैसँग भेटघाट गर्नु पर्ने भए पनि म मल कै ठेगाना दिन्छु। कन्जुस घरवेटिले न्यूयाेर्ककाे माईनस पुगेकाे तापक्रममा हिट नदिंदा न्यानाे खाेज्दै हाेस वा प्रचण्ड गर्मीमा शीतल खाेज्दै म मल मै पुग्छु। म काेठा सेयरिंगमा बस्दा रूममेट सँगकाे किचलाे र असजिलाेपनलाई छल्न पनि मल मै पुग्छु भने दैनिक जीवनमा आईपरेका अप्ठेराहरुकाे वारेमा साेचबिचार गर्न, समाधान खाेज्न र दिमाग ठण्डा गर्न पनि म मलकाे साेफामै गएर थचक्क बस्न पुग्छु।

अफिस सकिना साथ हतार हतार मल कै न्यानाे मेचमा गएर झुपुझुपु निन्द्रा पुर्याउछु । दिनभर कामकाे थकानले दुखेकाे शरिरलाई मलकाे साेफामा एक डलर राखे पछि पॉच मिनेट मसाज पनि गरिदिन्छ र रिल्याक्स महसुस गर्छु। मेरा सम्पूर्ण भेटघाटहरु मल भित्रकै फुडकाेर्ट वा कफिशपमा हुन्छन्। मेरा जीवनका कति रमाईला डेटिंगहरु पनि मलभित्रै भए र कति सम्बन्धहरु त्यहिं टुंगिए र बिलिन भए कहिल्यै शुरुवात नहुने गरि भने मलबाटै शुरु भएका कतिपय सम्बन्धहरु अहिले पनि रुपमा जारी नै छन्। समग्रमा मैले क्वीन्स मललाई मेरै गाउँकाे चाैतारी सरह सम्झेर आफ्नाे ठानेकि छु , मनमा सजाएकि छु र अत्यन्तै प्रेम गर्छु।

करिब ९६६,४९९ स्क्वायर फ़िट क्षेत्रफल रहेकाे याे मलमा १९८ वटा स्टाेर छन् र याे क्वीन्सकाे सबैभन्दा ठूलाे मल पनि हाे। तर मलभित्रका धेरै स्टाेरहरु याे बर्षभित्र छाेडेर जॉदैछन् । त्यहाँ भित्र रहेकाे अमेरिकन महिलाहरुकाे अति मन पर्ने भिक्टाेरिया सिक्रेट नामकाे स्टाेर पनि बन्द हुँदैछ भन्ने समाचार अमेरिकी महिलाहरुका लागि अप्रिय पनि हाे। अहिले क्वीन्स मल लगायत ५३ वटा स्स्टाेर मा क्लाेजिंग सेल लागेकाे छ। टिनएजर देखि लिएर ९८ बर्ष सम्मका महिलाहरु ब्रा, पेन्टि, पर्फ़्यूम ,लाेसन ,ब्याग लगायतका सामान किन्न यहॉ आएकाे भेटेकि छु। क्रिस्मस वा थैंक्सगिभिंग डे मा किनिने गिफ़्टहरु मध्येकाे नम्बर एक भिक्टाेरिया सिक्रेट नै हाे भने ब्वाई फै्ण्डले गर्ल फ्रैण्डलाई जन्म दिन वा भ्यालेन्टाईन डे मा दिने गतिलाे उपहार पनि भिक्टाेरिया सिक्रेटकै सामान हुन्।

भिक्टाेरिया सिक्रेटकाे आकर्षक गिफ्ट र्‍याप गरेकाे ब्याग नपुगेकाे अमेरिकनहरुकाे घर सायदै नहाेला कि जस्ताे पनि लाग्छ मलाई।मलाई पनि मेरा सहकर्मीहरुले क्रिष्मसमा भिक्टाेरिया सिक्रेट कै उपहार हातमा थमाईदिन्छन् र लगभग बर्ष भरि नै अत्तर छर्कन र लाेसन लगाउन पुग्छ। याे स्टाेरमा म करिब सयाैंपटक भन्दा बढी नै छिरे हाेला तर मैले आजसम्म पैसा तिरेर केहि पनि किनेकाे भने छैन। तर मानिसहरुकाे क्रेज़ कति छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ। अब याे मल बन्द भएपछि याे ब्राण्डलाई अर्काे कुन ब्राण्डले रिप्लेस गर्ला र अर्काे बर्ष के गिफ़्ट हात पर्ने हाे भन्ने पनि खुल्दुली मनमा लागिरहेकाे छ।

मल भित्रकाे अर्काे मेराे मन पर्ने स्टाेर जेसीपेन्नी हाे। अमेरिका र पाेर्टाेरिकाे गरि जम्मा ८६० वटा स्टाेर सन्चालन गरिरहेकाेमा २०१९ मा सधैकालागी साे स्टाेरले म जस्ता राम्रा र नियमित ग्राहकहरुलाई ढाेका बन्द गर्दैछ भन्ने समाचार पनि मलाई राम्राे लागेन। म मेड इन चाईना भन्दा अलिक फरक र मेराे १८० पाउण्डकाे माेटाे शरिरमा सजिलाे लाग्ने अनि मेराे बजेटले भ्याउने सुपथ मुल्यका लुगा कपड़ा लगाउन मन पराउने भएकाले याे स्टाेरमा सधैं जसाे छिर्ने गर्छु।

मेड ईन भियतनाम लेखिएका लुगा म निर्धक्क किन्छु। कारण कुनैबेला भियतनाम अमेरिकाकाे कट्टर दुश्मन थियाे र अहिले स्वतन्त्र व्यापार सम्झौता पछि कस्ताे गुणस्तरका सामान उत्पादन गरेर अमेरिकी बजारमा बेच्छ त भन्ने मेराे चासाे काे बिषय पनि हाे। अर्काे कुरा युद्ध ग्रस्त भएर गुज्रेकाे देशका जनताहरुले अत्यन्त दु:ख कष्ट भाेग्नु परेकाे हुन्छ र दु:खमा सिर्जना पनि राम्राे हुन्छ अनि आफ्नाे उत्पादन राम्राे गुणस्तरकाे मात्रै गर्छन भन्ने मेराे विश्वाश पनि हाे। सन् २०१४ काे अगष्टमा म भियतनाम घुम्न जॉदा त्यहॉकाे तीव्रआर्थिक विकासले मलाई निक्कै प्रभाव पारेकाे थियाे।

जेसीपेन्नी ले प्राय धेरै देशका उत्पादनहरु बेच्ने गर्थ्याे र त्यहॉकाे अर्थतन्त्रलाई टेवा दिने गर्थ्याे।स्टाेर बन्द सँग सँगै मैले बंगालादेश र भियतनामका गार्मेन्ट फ्याक्ट्रिमा काम गरिरहेका मजदुरहरुलाई सम्झे। अब यहॉ स्टाेरमा चिटिक्क परेका सेल्स गर्लहरुले त अरुतिर जागिर पाउलान तर ती गार्मेण्ट फ्याक्ट्रिमा रातदिन नभनिकन काम गर्ने मजदुरकाे जीवन सजिलाे हुँदैन भन्ने लाग्याे।

यहॉ स्टाेरहरुमा साेमबार देखि शुक्रवार बिहान सम्म एउटा मुल्य ट्याग हुन्छ र शुक्रवार बेलुका देखि आईतबार सम्म अर्कै हुन्छ। मेराे शपिंग साेमबार देखि बिहिवार बेलुका सम्म भैसक्नु पर्छ। ब्ल्याक फ्राईडेमा वा जुलाई फाेर्थ र अरु स्पेशल सेल भनेका बेलामा म शपिंग मलमा छिर्दिन। किनभने अरुबेला कै मुल्यलाई दाेब्बर तेब्बर पारेर पचास र पचहत्तर प्रतिशत छुट भन्ने हुन भन्ने कुरा पनि दैनिक रुपमा स्टाेरहरुका ट्याग अध्ययन गरेर नै मैले थाहा पाएकि हुँ। बिचरा उपभाेक्ताहरु पचास प्रतिशत छुट पाईयाे भन्ठान्छन् र क्रेडिट कार्ड घाेटेर झाेला भर्छन् अनि बर्षभरि पैसा तिर्न आफै घाेटिन्छन्। अमेरिकामा के कुरा छुट पाईन्थ्याे हाेला र ?

त्यस्तै पेलेस भन्ने अर्काे एउटा पपूलर जुत्ता स्टाेर छ मलमा । अब मैले त्याे स्टाेर पनि देख्न पाउने छैन। म अमेरिका आए देखि नै काममा आज हायर हुन्छु अनि भाेली फ़ायर हुन्छु। हरेक अफिसका आ-आफ्नै लुगा र जुत्ता नीति छन्। मेराे बजेटले महँगा जुत्ता किन्न पुग्दैन। पेलेस गएर सातै रंगका जुत्ता किनेर राखेकि छु । भाेली के पर्ला पर्ला भनेर। फेरि काम गरिराखेकै ठाउँमा हाकिमकाे मुड पनि न्यूयाेर्ककाे माैसम जस्तै परिवर्तन भैहाल्याे भने जुत्ताकाे रंग पनिपरिवर्तन गरिदिन्छ।

आज डार्क ग्रीन लगाउनु भनेकाे ठाउँमा भाेली देखि लाईट ब्राउन रंगकाे लगाएर आउनु नत्र फ़ायर भनिदेला भन्ने डरले पनि मैले सबै रंगका जुत्ता किनेर राखेकि हुँ। केहि महिना अगाडी लेस बिनाकाे जुत्ता लगाउने भन्ने हाकिमकाे निर्णय बिरुद्ध यूनियन नै गुहार्नु परेकाे पनि थियाे। जुत्ताकाे लेस र कामका बिच के सम्बन्ध छ भन्ने कुराकाे जवाफ मैले अझै पाएकै छैन। अब पेलेसका २,५०० स्टाेरहरु बन्द हुने कुराले मेराे जुत्ता किन्ने गन्तव्य कहॉ हाेला भनेर पनि मलाई साेच्न बाध्य बनाएकाे छ। तर पेलेसका अनस्मार्ट र अल्छि कर्मचारि हरु बाट भने मलाई छुट्करा मिल्ने छ।

यसरी नजानिदाे तरिकाले मेराे माेह बसिसकेकाे मलमा २०१५ / १६ मा जुन चहलपहल देख्थे सन् १९ मा आईपुग्दा निक्कै कम भईसकेकाे छ। अहिले जाडाे सकिएर समर लागिसक्याे तर जुन चहलपहल हुनुपर्ने हाे त्याे कम नै देखेकि छु। कम चहलपहलसँगै यसरी मलभित्रका स्टाेरहरु बन्द हुनुमा मुख्य कारण पछिल्लाे समय मानिसहरु सुत्ने बेलामा अनलाईनमा सामान अडर्र गरेर बिहान उठ्दा ढाेकामा सामान पाउने हुनाले अनलाईन सपिंगमा क्रेज बढेकाे पनि हुनसक्छ। र ,न्यूयाेर्ककाे ट्राफिक पार गरेर पार्किंग खाेजेर गाडि पार्क गरेर सपिंग गर्नु भनेकाे ठूलै युद्ध जित्नु जस्तै पनि हाे । मलमा पुरुषहरु भन्दा महिला ग्राहकहरु नै बढी देखिन्छन्। उनीहरु ग्यॉस र बेबीसिटिंग काे पैसा तिरेर सपिंग गर्न जानुपर्छ। फेरि मीटरमा पैसा हाल्ने हताराे पनि त्यत्तिकै हुने र एन्जाईटि हुने गरेकाे धेरै ग्राहकहरु बताउँछन्।

अर्काे तिर सरकारले बेला बेलामा स्टाेरकाे मापदण्ड सम्बन्धी नीति नियमहरु पनि फेरबदल गर्रिरहन्छ। हुन पनि लामा पट्यारलाग्दा र अकस्मात् झ्याप्प नेपालमा जस्तै गरि बत्ति गएकाे कल्पनासँगै त मलाई भूतघरझै लाग्छन् यी स्टाेरहरु र लुगा छानेर ट्रायलरुममा पुग्दा त स्वासप्रस्वास नै बन्द हाेला जस्ताे हुन्छ । अर्काे कारण सरकारले आयात कर बढाउनु पनि हाेला।

स्टाेर काे भाडा पनि आठ प्रतिशत बाट २८ प्रतिशतले बढेका कारण पनि महँगाे भाडा तिरेर स्टाेर चलाउन गाह्राे भएकाे हुनसक्छ भने कर्मचारिहरुलाई दिनुपर्ने तलब पनि २०१७ मा ९ डलर , १८ मा १३ डलर र १९ मा न्यूनतम १५ डलर भएकाले सन्चालकहरुलाई तलब दिन नसकेर मार परेकाे पनि हुन सक्छ। किनकि कम्तिमा पनि ४० घण्टा काम र १५ डलर दिनै पर्ने हुन्छ न्यूयाेर्कमा २०१९ जनवरी देखि।

उता निर्माण गर्ने देशहरुमा पनि लागत खर्च बढेकाे हुनसक्छ अथवा अर्काे देशले त्यहिं सामान आधा लागतमा पाे बनाईदियाे कि ? प्रतिस्पर्धात्मक बजारमा अरु राम्रा डिज़ाइनका अफर पनि कति आए हाेलान। याे पुँजिवादकाे बजार हाे। म दैनिक मल धाउने एउटी उपभाेक्ता मात्र हुँ। याे अमेरिकाकाे सिंगाे अर्थशास्त्र म एउटी उपभाेक्ताले कसरी बुझ्न सक्छु हाेला र ?

प्रतिक्रिया