कसरी सम्भव भयो जिल्ला तहको एकता ? झलनाथ खनालले गरे खुलासा

इनेप्लिज २०७६ वैशाख ९ गते ११:११ मा प्रकाशित

झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा

सत्तारुढ दल नेकपाले आज जिल्ला तहको एकता घोषणा गरेको छ । तर एकताका अझै धेरै प्रक्रिया बाँकी नै छन् र जिल्ला तहको एकतामा कसरी सहमति भयो र बाँकी संगठनको एकता कहिले कसरी हुन्छ भन्ने विषयमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग कुराकानी गरिएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
पार्टीभित्रको आन्तरिक द्धन्द्ध व्यवस्थापन भएको हो ?

सफल भयौँ । हिजो(आइतबार) हामीले महत्वपूर्ण निष्कर्ष निकाल्यौँ । जिल्ला तहको एकीकृत गर्नका लागि मापदण्ड तयार पारेर समाधान खोज्न सफल भयौँ ।

जिल्ला तहको एकता कसरी सम्भव भयो ?

जिल्लाको नेतृत्व बाँडफाँटका लागि हामीले निश्चित मापदण्ड तयार गरेका हौँ । पहिला पूर्व माओवादी र पूर्व एमालेलाई जिल्ला बाँड्यौ । त्यसपछि पूर्व एमालले पाएको जिल्लामा एकताअघि एमालेकै तर्फबाट जो जिल्ला अध्यक्ष थियो त्यही अब फेरी अध्यक्ष बन्छ । र एकताअघि माओवादीको नेतृत्व जसले गरेको थियो उसलाई सचिव बनाउने गरी सहमति गरेका हौँ ।

तत्कालिन जिल्ला अध्यक्षलाई नै नेतृत्व दिने सहमतिको विरोध पनि हुन थालेको छ नि ?

त्यस्तो असन्तुष्टी छैन । नेताहरुबीचमा सर्वसम्मति भएरै निर्णय गरिएको हो । यद्यपी केही स्थानमा असन्तुष्टी हुन सक्छ । त्यसबेलाका अध्यक्ष अहिले मन्त्री पनि भइसकेका होलान्, सांसद होलान्, वा अरु कुनै पदमा पुगिसकेका होलान् । कसैले म त अब अध्यक्ष बन्दिन भन्लान् । कसैले हिजो अध्यक्ष भइसकेको मान्छे अब सचिव बन्न सक्दिन भन्ने कुरा आएको छ । तर हाम्रो आग्रह के छ भने यो जिल्ला कमिटि ६ महिनाका लागि हो । मंसिरमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन हुन्छ ।

पार्टीको केन्द्रिय महाधिवेशन कहिले हुन्छ ।

महाधिवेशनका लागि पनि हामीले समय तोकेका छौँ । २ वर्षभित्र महाधिवेशन गर्ने हाम्रो सहमति हो । त्यसअनुसार काम हुन्छ ।

अब नेकपाको नृतृत्व तहमा रहेको विवादको अन्त्य भएको हो त ?

एकता प्रक्रिया टुङ्गिन नसक्दा नेता कार्यकर्तामा असन्तुष्टी थियो । विशेषगरी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालसँग असन्तुष्टी थियो । तर उहाँहरुलेएकताका लागि पहलकदमी लिनुभयो । हामी पनि छलफलमा बस्यौँ । सर्वसम्मतिको आधार निर्माण भयो । यसले के देखाउँछ भने विवाद थिएन ।

तर एकता प्रक्रियाका अझै धेरै काम त बाँकी नै छन् नि ?

हो, काम अझै धेरै बाँकी छ । केन्द्रिय कमिटिको कार्यविभाजन गर्न बाँकी छ । पोलिटव्यूरो बनाइएको छैन । जनवर्गीय संगठनहरुको एकता गर्नुपर्ने छ । आयोगहरु निर्माण गर्न बाँकी छ । यि सबै काम पनि आउने हप्ताभित्रै सम्पन्न गर्ने योजना बनाएका छौँ ।

तपाई आफैले एक व्यक्ति एक पद बनाउनुपर्छ भन्नुभएको थियो । पार्टीभित्र त्यो लागु हुन सकेन नि ?

एकता प्रक्रियाका क्रममा सहमतिबाट अगाडि बढ्नुपर्ने अवस्था आयो । एकतावद्ध हुँदा व्यवहारिक पाटो पनि महत्वपूर्ण हुन्छ । सहमतिका लागि साथीहरु पनि लचक हुनुभयो, म पनि लचक भएँ । तर अब महाधिवेशपछि त्यस्तो हुँदैन । केन्द्रिय महाधिवेशनसम्म पुग्दा विधानमा नै यस सम्बन्धमा स्पष्ट पार्छौँ ।

प्रतिक्रिया