आइतबार, जेठ ३० २०७८
काठमाडौं २२:५२
वासिङटन डिसी 13:07

राष्ट्रपतिको समुपस्थितिमा नवनियुक्त पाँच न्यायाधीशलाई शपथ

इनेप्लिज २०७६ वैशाख ८ गते ८:४९ मा प्रकाशित

काठमाडौं, ८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा छन् ।उनीहरुमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुन भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी हुन ।

प्रधानन्यायाधीश राणाले सोही समारोहमा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पद तथा गोपनीयताको शपथ गराए । उनी नेपाल सरकारको सचिव थिए ।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझाले पद तथा गोपनीयताको शपथ लिएका थिए । नवनियुक्त सदस्य ओझासँग लामो समय अधिकारकर्मीका रुपमा काम गरेको अनुभव छ ।

राष्ट्रपति भण्डारीले उनीहरु सातै जनालाई तत् पदमा गत शुक्रबार नियुक्ति गरेकी थिइन ।

सर्वोच्च अदालतका न्यायाधीश न्याय परिषद्को सिफारिसमा तथा प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयोगका सदस्य संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया