महाभारत क्षेत्रका प्राकृतिक पोखरीहरू मासिँदै

इनेप्लिज २०७६ वैशाख ५ गते १२:०७ मा प्रकाशित

मतानबास (सिन्धुली), वैशाख ५ गते । प्राकृतिक रूपमा रहेका पोखरी, दह र सिमसार क्षेत्रको महत्व र उपयोगिताबारे स्थानीयले चासो नदिँदा महाभारत क्षेत्रका प्राकृतिक पोखरीहरू मासिँदै गएका छन् ।
सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्ये महाभारत पदमार्गलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रस्तावित पदमार्ग तथा आसपास रहेका प्राकृतिक पोखरी, धाप, सिमसार, चौतारा, देउराली, भञ्ज्याङ, कुवा, पधेँरा, धाराको संरक्षणमा स्थानीयले भने खासै चासो दिइएका छैनन् । ती सम्पदाको महत्व स्थानीयलाई थाहा नहुँदा पोखरी लगायतका सम्पदा मासिने क्रममा छन् ।
सुनकोसी गाउँपालिका ७ नागीका लालबहादुर लामाका अनुसार, नागीमा रहेका पाँच वटा प्राकृतिक पोखरीमध्ये सिमपोखरी मात्र अस्तित्वमा छ । ऐतिहासिक किंबदन्तीअनुसार, गोल्मे राजारानी नुहाउने विश्वास गरिएको गोल्मेडाँडाका दुई पोखरीमध्ये एउटा पुरेर भुमेश्वर आधारभूत विद्यालयको आँगन बनाइएको छ । अर्को पोखरी विद्यालयकै अतिक्रमणमा परेको छ । त्यस्तै, लामाडाँडा पोखरी पुरेर चन्द्रकन्या आधारभूत विद्यालय र पोखरीचोकको पोखरी मासेर कच्ची बाटोको चोक बनाइएको छ ।
सोही वडाको मतानवासस्थित रमणीय बोजो पोखरीमा बसपार्क बनाउने योजना रहेको स्थानीयले बताए । चारकुने सो पोखरीको पूर्वी कुनो सडकले मिचेको छ । स्थानीय तीर्थबहादुर स्याङ्वाका अनुसार, सो पोखरी मासेर बसपार्क बनाउने योजना छ । स्याङ्वाले भन्नुभयो, “गाईवस्तु पाल्न छाडिए, किन चाहियो पोखरी ?”
सुनकोसी गाउँपालिका ५ का वडा सदस्य यमबहादुर सुनुवारका अनुसार, बन्दिपुरमा रहेको गुम्बा नजिकैको पोखरी गाउँलेकै अनुरोधमा पुरेर बसपार्क बनाइएको छ । बन्दिपुरकै ऐतिहासिक बोजो पोखरी पनि सडकको अतिक्रमणमा परेको छ । सो पोखरी पुरेर बसपार्क बनाउने योजना रहेको वडा सदस्य सुनुवारले जानकारी दिनुभयो । सो क्षेत्रका धेरै बोजो पोखरीहरू सडक, विद्यालय, खेलमैदान र बसपार्क बनाउने नाममा अतिक्रमणमा परेका छन् ।
मतानबासका स्थानीय सन्दिप लामा प्राकृतिक पोखरी, गोरेटो बाटो, पानीका मुहान संरक्षण हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । यद्यपि, उहाँको मान्यतालाई गाउँलेले चासो दिने गरेका छैनन् । लामाले भन्नुभयो, “पोखरी पुर्ने र पुरानो गोरेटो बाटो मास्ने कार्यको बिरोध गर्दैआएको छु तर मान्दैनन् । सडक आएपछि किन चाहियो अब भन्छन् ।”
महाभारत क्षेत्रकै फिक्कल गाउँपालिकाको चनौटेस्थित ठूलो पोखरी पुरेर विद्यालयका लागि खेल मैदान बनाइएको छ महिनाजति भयो । मरिण गाउँपालिकाको खलङ्गास्थित पोखरी पनि विद्यालयको आँगन बढाउने नाममा च्यापिएको छ । पोखरी छेउबाटै कच्ची बाटो बनाइएको छ । बाटो बनाउँदा पोखरी छेउको धेरै पुरानो रुख काटिएको स्थानीयले बताए । मरिण गाउँपालिका वडा १ का अध्यक्ष हीरा गुर्मछानले भन्नुभयो, “सबैको सल्लाहबाट नै भएको हो ।”
यद्यपि, केही स्थानमा पोखरी संरक्षणमा स्थानीयले चासो दिएको पाइएको छ । सुनकोशी ६ अमारेको पोखरीलाई स्थानीयले संरक्षण र उपयोग गर्दैआएका छन् । कमलामाई नगरपालिका–३ चपौलीमा पनि पोखरी संरक्षणको राम्रो प्रयास गरिएको छ । वडा सदस्य तुलसीप्रसाद आचार्यले भन्नुभयो, “रक्तमाला पोखरी, जलकन्यादेवी पोखरी, प्रतापे भञ्ज्याङ पोखरीलाई संरक्षण गरिएको छ । यद्यपि, प्राकृतिक रुपमा नै पोखरी संरक्षण हुन सकेको छैन ।”
सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहाल महाभारत क्षेत्रमा रहेका प्राकृतिक पोखरी संरक्षण गरिने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “पोखरी, पानी पँधेरा, चौतारा मास्ने कार्यलाई गाउँपालिकाले कदापि प्रोत्साहित गर्न सक्दैन । यिनै सम्पदाको संरक्षण र प्रवद्र्धन गरी पर्यटन विकासको आधार बनाउने लक्ष्य हाम्रो छ ।”
उहाँले प्लाष्टिक पोखरी राख्न गाउँपालिकाले नागरिकलाई प्रोत्साहित गरिरहेको चर्चा गर्नुहुँदै भन्नुभयो, “प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा नागरिकले सचेत हुनैपर्छ । इतिहासको संरक्षण गरेर मात्रै विकासको नयाँ खाका कोर्न सकिन्छ ।”

प्रतिक्रिया