संघारमा नयॉ वर्षको पदचाप सुन्दा
ढोका खोल्न आतुर र उत्ताउलिएकि म
सोर्ह सिंगारले अनुहारका मुजाहरु छोपेर
उनैको प्रतिक्षामा बाटो ढुकेर बसिरहेकि म
उनीसंग रम्ने र झुम्ने रहरमा डुबेकि हुन्छु म
उनको आगमनको आभासले ढोका खोल्न हुत्तिन्छु म
क्षितिज पारी उनी बेचैन छिन् रे भनि सुन्दा
ऑखा रसिला हुन्छन् अनि अनायासै सिथिल हुन्छु म
उनी त दरो पटुका कसेर रात भरि कोल्टे फेर्छिन् रे
भोकका परिकारहरु मनै भित्र पस्किएर अघाउंछिन् रे
आकासे छानो मुनि मनको पीर सरि तारा गन्छिन् रे
कहिले काहिं त लछारिने र पछारिने पनि हुन्छिन् रे
धेरै पटक आए यी नयॉ बर्ष, नयॉ अनुहार फेरि फेरि
अनगिन्ति बने उनैको नाममा काया बदल्ने योजना हेरि हेरि
तर पनि उनि उहि रुपमा छिन् विवश, निरिह र लाचार
आफ्नो जीवन घिसारि रहेकि छिन् निरिह प्राणी सरि
सायद पॉच तारेमा उनैकोलागि योजना बनाउंदा
डकारेका गन्धहरुले उनको बस्ति नगन्हाएको भए
भावहिन ऑखा रहरको मलामी जॉदैनथ्यो होला
उनको विर्तामा सन्तानहरुको लुछाचुंडी नभएको भए
प्रशब खपेर जन्माएका सन्तानहरुले पसिना नबेचेको भए
हिमाल, पहाड र तराईको कित्ता कित्ता नलेखेको भए
उनि पनि म जस्तै लालायित हुन्थिन् होला यो दिन हेर्न
ती हातहरु सलवलाइ रहन्थे होला एउटा भित्ते पात्रों फेर्न
प्रतिक्रिया