एसईई अन्तर्गत प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द

इनेप्लिज २०७५ चैत १४ गते ९:२९ मा प्रकाशित

काठमाडाैँ,  १४ चैत । एसईई अन्तर्गत प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का ८ जिल्लामा विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।

बुधबार राति ११ बजेतिर भाइबर, इमो, ह्वाट्सएप आदि माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए । एसईई अन्तर्गत बिहीबार विज्ञान विषयको परीक्षा थियो । रद्द भएको परीक्षा चैत २२ गते गरिनेछ ।

बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो । बिहीबार परीक्षा भएपछि जिल्ला परीक्षा समन्वय समितिले जिल्लाको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो ।

तर, प्रदेशभरी एउटै प्रश्नपत्र हुने भएकाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।

प्रतिक्रिया