काठमाडौंका सडकमा घुम्न थाले ‘ब्रमुर’

इनेप्लिज २०७५ चैत १३ गते ८:५१ मा प्रकाशित

काठमाडौँ, चैत १३ गते । काठमाडौँ महानगरपालिकाभित्रका सडक अब धूलोमुक्त हुने भएका छन् । आधुनिक प्रविधियुक्त ‘बु्रमर’बाट शहरका सडक सरसफाइ अभियान सुरु भएपछि काठमाडौंँ धूलोमुक्त हुने भएको हो ।
यो अभियानसँगै काठमाडौँ बु्रमरले धूलो सफा गर्ने देशकै पहिलो महानगरपालिका भएको छ ।  धूलो र धुवाँले महानगरबासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै यहाँको सम्पदामै असर पुगेको थियो ।
काठमाडाँैं महानगरपालिका क्षेत्रभित्रका सडक धुलोमुक्त बनाउने अभियानको सुरूवात मङ्गलबार काडमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले गर्नुभयो ।
“हेर्दा सानो तर यसलाई ठूलो बनाउन युद्ध जितेजस्तै गाह्रो भयो,” अभियानको सुरूवात गर्दै उहाँले थप्नुभयो, “उजुरी, विरोध, शंका उपशंकाका कारणले बु्रमर आउनै दुईवर्ष लाग्यो ।”
बु्रमर चिल्लो सडकमा मात्र धूलो उठाउने मेसिन भएकाले सडक विभाग, मेलम्ची खानेपानी आयोजनालाई भत्केका, भत्काइएका खाल्डाखुल्डी तत्काल पुरिदिन उहाँले आग्रह गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले ब्रुमरले धूलोका साना कण समेत बटुल्ने भएकाले अभियान साकार हुने विश्वास व्यक्त गर्नुभयो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठलगायतले काठमाडौँ शहरलाई धुलोमुक्त बनाउने अभियानबारे चर्चा गर्नुभयो ।
इटालीबाट ल्याइएका पाँचवटा बु्रमरले मङ्गलबार रातिदेखि शहर सफा गर्ने थालिएको छ । राजधानीका सडकलाई महानगरपालिकाले पाँचवटा रुटमा विभाजित गरी सफाइ थालेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बु्रमर रुट नम्बर १ मा टेकु, सोल्टीमोड हुँदै कलंकी त्यसपछि फर्केर त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्ध सालिक, महाङ्काल, जमल पुग्नेछ ।
त्यस्तै, घण्टाघर, लाजिम्पाट, शीतल निवास, शिक्षण अस्पताल, नारायण गोपालचोक हुँदै फर्केर घण्टाघर, भद्रकाली, शहीद गेट सुन्धारा पुग्नेछ ।
रुट नम्बर २ को बु्रमरले टेकुबाट त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बबरमहल, बानेश्वर, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म सफा गर्नेछ । फर्केपछि कोटेश्वर, पेप्सीकोला, नयाँबानेश्वर, बबरमहल, त्रिपुरेश्वरहुँदै कालीमाटी बल्खुसम्म सफा गर्नेछ ।
रुट नम्बर ३ को बु्रमरले टेकु त्रिपुरेश्वर, सुन्धारा ,भोटाहिटी, विश्वज्योति हुँदै पुतलीसडक क्षेत्र सफा गर्नेछ ।
त्यस्तै कमलादी, हात्तीसार, दरबारमार्ग हुँदै केशरमहलबाट लैनचौरको खानी तथा भूगर्भ विभाग पुगेर उत्तरी गेट हुँदै बालुवाटर पुग्नेछ । फर्कंदा बालाजुबाट इन्द्रायणी हुँदै नरदेवीबाट टेकु निस्कनेछ ।
रुट नम्बर ४ को बु्रमरले भने प्ुतली सडक, कमलपोखरी, मैतीदेवी, पुरानो बानेश्वर, सिनामंगल हुँदै गौशाला चाबहिल क्षेत्र सफा गर्ने जनाइएको छ ।
रुट नम्बर ५ को बु्रमरले टेकुबाट न्यूरोड, वसन्तपुर हुँदै ठमेल पुगेर धूलो सफा गर्नेछ । त्यस बु्रमरले बाँकी रहेका दक्षिणढोका, बागबजार, डिल्लीबजार, प्रदर्शनीमार्ग, पुरानो बसपार्क क्षेत्रको धुलो उठाउनेछ ।
युरो ४ एमिसन स्ट्याण्डर्डको डुलेभो ६००० मोडेलको बु्रमरको इन्जिन क्षमता १०७ किलोवाट रहेको छ । एउटा अगाडि, दुईवटा छेउमा र एक बीच भागमा गरी चारवटा ब्रस ब्रुमरमा रहेका छन् । यसमा ५०० लिटर पानी र ४.६८ घन मिटर धूलो भण्डारण गर्ने क्षमता रहेको छ । प्रतिघण्टा दश किलो मिटर दूरीका दरले सडक सफा गर्ने प्रवक्ता डंगोलले जानकरी दिनुभयो ।
सरकार र महानगरपालिकाको संयुक्त पहलमा दश करोड रुपियाँ लागतमा पाँचवटा बु्रमर खरिद गरिएको हो । यस लगत्तै चीनबाट थप दुईवटा बु्रमर ल्याउने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया