सीके राउतसँगको सहमति खारेज गर्न विवेकशील साझाको माग

इनेप्लिज २०७५ फागुन २८ गते ११:४० मा प्रकाशित

काठमाडौँ, २८ फागुन । विवेकशील साझा पार्टीले सरकार र सीके राउत समूहबीच भएको ११ बुँदे सहमति खारेज गर्न माग गरेको छ । सहमति लगत्तै सहमतिको ठाडै उलंघन गरेर राउत समूहले देखाएको रवैया र उनीसँग भएको सहमतिले सृजना गरेको व्यापक अन्यौलका कारण सहमति खारेज गर्नुपर्ने उसको माग छ ।

सरकारले गएको २४ गते राउत समूहसँग गरेको सहमति र त्यसले सृजना गरेको अन्यौलका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको पार्टीले जनाएको हो ।

पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै विखण्डनकारी, देशद्रोही र हिंसात्मक कुनै पनि समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने सरकारको प्रयासको स्वागत गरेको जनाउँदै राउतले सार्वभौम अखण्ड नेपालप्रति जनाएको प्रतिवद्धता केवल जेलबाट मुक्त हुन दिइएको चालवाजीपूर्ण धोकाको रूपमा प्रयोग हुनु अत्यन्तै निन्दनीय उल्लेख गरेका छन् ।

‘सहमतिको मसी पनि सुक्न नपाउँदै गत आइतबार जनकपुरमा राउत समूहले गरेको गतिविधि नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको बर्खिलापमा छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसको विवेकशील साझा घोर भत्सर्ना गर्दछ र त्यस्ता गतिविधि गर्नेहरूप्रति कडाभन्दा कडा कानुनी कारवाहीको माग गर्दछ ।’

सहमतिमा प्रधानमन्त्री स्वयंको बहकाउपूर्ण अनावश्यक संलग्नता, पर्याप्त गृहकार्यको अभाव र सहमतिमा प्रयोग गरिएको आपत्तिजनक भाषाशैलीले सरकारको चरम लापरवाही र गैरजिम्मेवारीपन उजागर भएको विवेकशील साझाको ठहर छ ।

प्रतिक्रिया