स्मृतिको तराजुमा गणेश पण्डित

बिकास थापा ,हेरिसबर्ग,अमेरिका २०७५ फागुन २६ गते १४:३० मा प्रकाशित

राजनीति, पद, प्रतिष्ठा र सत्ता बाहिरबाट भन्दा, हेर्दा, सुन्दा जस्तो देखिए पनि भित्री यथार्थ यति सरल र सिधा कहिल्यै हुँदैन । यसभित्र अदृश्य रुपले एक दम्भ लुकेको हुन्छ जसले प्रतिस्पर्धी र सहपाठीलाई सहजै चिढाइदिन्छ । यो नै राजनीतिको विशेषता हो । राजनीतिमा सिधा रूख सधैँ काटिन्छन् र बाङगाटिङ्गा सुरक्षित रहनु राजनीतिको अर्को क्रुर पाटो पनि हो । अन्तमा फेरि समाज, देश र विश्व चलाउन यो नभई पनि हुँदैन । राजनीतिमा जब महाभारतको पोको खोलिन्छ हरेक दाउपेच यसभित्र सम्भव छ भन्ने सम्भावनाको यथार्थलाई नकार्न पनि सकिँदैन । यसभित्र नियतिका कठोर निर्देशनहरू पनि मानिसले पालन गर्नु नै पर्छ । यो अर्को शाश्वत सत्य पनि हो । सबै विकल्पहरू सत्य पनि हुँदैनन् । अहिलेको युगमा मानिसले आफ्नो अवचेतन मन र मस्तिष्कको प्रयोग गरी आफ्नै मानसिक कमजोरीहरू कसैले खोज्दैन । यो युग भीडलाई सत्य मान्ने युग हो । भीडमा सधैँ संख्या त धेरै हुन्छ तर भीडले परिभाषित गरेको सत्य जहिल्यै अपाङ्गो हुन्छ । बहुमत र सत्य भन्ने कुरा पनि निकै फरक कुरा हुन् । मानिस जीवनमा राजनीतिको खोक्रोपनभन्दा बढी गृहस्थी र विविध सम्झौताको बीचमा पनि बढी चेपिन्छ ।

व्यक्तिको जीवनमाथि समीक्षा गर्ने कुरा निकै चुनौतिपूर्ण काम हो । सन्तुलित भएर सत्य तथ्यमा अडिएर लेख्न सकिएन भने लेखाइको औचित्य रहँदैन ।आवश्यकता भन्दा बढी बढाइचढाइले पनि उसको कद घटाउँछ । बढी छोपछाप र यथार्थभन्दा पर गयो भने लोकले पचाउँदैन । व्यक्तिको योगदानमाथि कुठाराघात हुन्छ ।

नुवाकोटमा कम्युनिष्ट आन्दोलनका संस्थापक, पञ्चायतकालमा भूमिगत, अर्धभूमिगत हुँदै खुल्ला राजनीतिमा नुवाकोटबाट उदाएका गणेश पण्डित एक बहुप्रतिभाका धनी हुनुहुन्थ्यो । धार्मिक अभियन्ताको रुपमा उहाँले नुवाकोटमा थुप्रै काम गर्नुभएको छ । शैक्षिक विकासको क्षेत्रमा उहाँले नुवाकोटमा गर्नुभएको योगदान भोलि समयले मूल्याङ्कन गर्ने छ । शिक्षाप्रेमी तथा पूर्व प्रअ । शिक्षण पेसाबाट नै उहाँ राजनीतिमा उदाउनुभएको हो । तसर्थ, नुवाकोटमा शिक्षा र धार्मिक क्षेत्रमा उहाँले गर्नुभएको योगदान अतुलनीय छ । आफ्नो सिद्धान्तमा सदैव अडिग रहन सक्ने उहाँमा छुट्टै विशेषता र खुबी थियो । वि.सं. २०४२ सालको बमकाण्डमा जेल परेसँगै नेपालको बामपन्थी आन्दोलनमा सधैँ उहाँ अग्र मोर्चामा रहनुभयो । जेलको चिसो छिँडी र जेलभित्रको चरम यातनाले उहाँलाई एक अविचलित देशकै एक वाम हस्ती बनायो । यसले गर्दा नै वि.सं. २०४८ सालको आम निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट नेकपा एमालेबाट सभासद बन्नुभएका उहाँ पुराना बामपन्थी नेताहरूमध्ये एक हुनुहुन्थ्यो ।

तीसको दशकमा नै गणेश पण्डित नुवाकोटमा एक आदर्शवान् बामपन्थी नेताको रुपमा स्थापित भई सक्नुभएको उहाँ मूलत नुवाकोटमा बामपन्थीको पहिलो बीउ उहाँले नै रोप्नुभएको हो । बामपन्थी आन्दोलनका एक हस्ती, सशक्त र एक कर्मठ निडर योद्धा । सिद्धान्त, आदर्श, विचार, राजनीतिक मूल्यमान्यतामा कसैसँग कुनै हालतमा नझुक्ने र सम्झौता नगर्ने उहाँको बानी थियो । विचार, सिद्धान्त र नैतिकतामा अडिग रहनसक्ने अचम्मको खुबी थियो । एक सफल, सक्षम र लोकप्रिय शिक्षकको रूपमा पहिचान बनाएका शिक्षक नेता ०४० को दशकमा किसानहरूको नेतृत्व गर्दै तत्कालीन अनेकिसंघको नेताका रूपमा महत्त्वपूर्ण जिम्मेवारी निभाएका किसान नेता बन्नुभएको एक लेखक र कवि पनि हुनुहुन्थ्यो । काजनीतिको केन्द्रीय धूरीमा बसेर बुझेको राजनीति र बाहिरबाट अनुमान लगाएर बुझेको राजनीति पनि निक्कै फरक हुन्छ ।

नेपालका बामपन्थीहरू ९० प्रतिशत भन्दा बढी नेताहरू बाहिर क्रान्तिकारी, प्रजातन्त्रिक भनेर जति नै खोके पनि अँध्यारो कोठाभित्र यिनीहरू सामन्त, दलाल, पुँजीपति, शोसक र नव सामन्ती वर्गहरू नै हुन् । कोही त्यो वर्गमा नपरे पनि अहिले आफूलाई स्थापित गराउन तँछाडमछाडमा छन् । यो बामपन्थीको नाममा देश र जनतालाई गरिएको सबैभन्दा ठूलो गद्दारी हो ।

राजनीतिक जीवनमा उहाँलाई फसाइएको पहिलो काण्ड थियो अमेरिकी काण्ड । वि.सं. २०४८ को आम निर्वाचनपछि नेपालमा बहुदलीय प्रजातन्त्र भर्खर बामे सर्दै थियो । त्यही समयमा अमेरिकाले आफ्नो देशको प्रजातान्त्रिक पद्धति, सिस्टम र विकास देखाउन नेपालका सांसदहरूलाई समय समयमा अमेरिका भ्रमण गराउँथ्यो । त्यही क्रममा त्यस समयका सभामुख दमननाथ ढुङ्गानाले गणेश पण्डितलगायत थुप्रै सांसदहरूलाई छनोट गरी २०४९/५० सालतिर अमेरिका भ्रमण गर्न पठाएका थिए । त्यो नितान्त सरकारी भ्रमण र देशको प्रतिनिधित्व थियो । त्यही भ्रमणलाई निहुँ बनाएर एक होनहार नेतामाथि प्रपञ्च रचियो र उहाँको राजनीतिक जीवनलाई उठ्नै नसक्ने गरी थिचियो जुन पूर्वाग्रह मात्र थिएन त्यस समयमा एमाले पार्टीभित्र र बाहिरबाट सुनियोजित षड्यन्त्र गरिएको थियो । त्यस समयमा उहाँको बौद्धिकता, क्षमता र नेतृत्वले पार्टीभित्रको एक तत्त्वलाई निकै पोलेको थियो । जुन तत्कालीन एमालेका केही व्यक्तिहरूलाई मन परेको थिएन । गणेश पण्डितजस्तो क्षमतावान् व्यक्ति पार्टीभित्र रहनु भनेको केहीको भविश्य अन्धकार हुनु थियो तसर्थ उहाँलाई अनेकौँ षड्यन्त्र गरेर आफ्नो भविष्य सुनिश्चित पारे । हिजो यो विषय उठाउनेहरू आज हेराँै अमेरिका आउन र आफ्ना छोराछोरी अमेरिका पढाउन र भ्रष्टचार गरी सात पुस्ते थुपार्न तँछाडमछाड छ । त्यस्ताहरूले एक निष्ठावान् नेताको पार्थिव शरीर उभिएर कस्तो श्रद्धाञ्जली दिए होलान ? यो अब इतिहासको गर्भमा अनुत्तरित हुनेछ ।

अहिले नेपालका बामपन्थीहरूको अमेरिका यात्रा मक्का मदिनाजस्तै बनिसकेको छ । अझ तत्कालीन माओवादीहरूभित्र पलाएको धन युद्ध र लुटतन्त्रको त कुरा नगरौ । नेपालका बामपन्थीहरू ९० प्रतिशत भन्दा बढी नेताहरू बाहिर क्रान्तिकारी, प्रजातन्त्रिक भनेर जति नै खोके पनि अँध्यारो कोठाभित्र यिनीहरू सामन्त, दलाल, पुँजीपति, शोसक र नव सामन्ती वर्गहरू नै हुन् । कोही त्यो वर्गमा नपरे पनि अहिले आफूलाई स्थापित गराउन तँछाडमछाडमा छन् । यो बामपन्थीको नाममा देश र जनतालाई गरिएको सबैभन्दा ठूलो गद्दारी हो । गरिबी, गरिब जनता र खोक्रो सिद्धान्त साधन मात्र हुन् । यो सत्ताको भर्याड्ग चढ्ने गतिलो माध्यम हो । जनयुद्धदेखि लिएर धनयुद्धसम्म पुगेको नेपालको बामपन्थी आन्दोलन । एमाले माओवादीको पार्टी एकीकरण र माओवादिले एमालेभित्र छिरेर फुकाएको कुबेर पोकोले नेपाली बामपन्थी आन्दोलन कति शुद्ध र पारदर्शी छ थप व्याख्या गर्न जरुरी त छैन तर यसबाट फाइदा लिने बामपन्थी नेता कम छैनन् । कयाौँ पात्र र शकुनि इतिहास बाहिर आउन बाँकी नै छ । अन्य बामपन्थी नेता जो धनयुद्धमा पोख्त छैनन्, जो धूर्त र चाकरीको राजनीति गर्दैन भोलि उसको नियति पनि गणेश पण्डितको जस्तै बन्न सक्छ । अचम्म लाग्छ, समयअनुसार बामपन्थी दर्शन पनि नेपालमा फेरिएको छ ।

चाहे त्यसलाई आध्यात्मिक दृष्टिकोणबाट हेर्नुस् वा भौतिकवादी चश्माले । आखिर माक्र्सवादभित्रको मूल तत्त्व पनि गीताकै सार हो । यसले गर्दा कोही गीतावादी हुँ भन्यो भने आधुनिक माक्र्सवादी हो । यदि ऊ सच्चा माक्र्सवादी हुँ भन्छ भने ऊ गीतावादी पनि हो । बुझाइ र चेतनाको अभावले मात्र मानिस भ्रम र वादको पछाडि दौडिएको हो । यो तहबाट सोच्दा म यो वादी भन्नुको कुनै तुक र अर्थ छैन ।

यसमा अर्को संयोग गणेश पण्डित नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह के.सी. का सहोदर मामा हुनुहुन्थ्यो । गणेश पण्डित र अर्जुन नरसिंह के.सी. नाताको हिसाबले जेसुकै भए पनि राजनीतिक रूपमा आआफ्नै विचार र सैद्धान्तिक हिसाबले आआफ्नै मान्यतामा अडिग थिए । राजनीतिक हिसाबले उत्तर र दक्षिण ध्रुव नै भए आम मानिसको बुझाइ त्यस्तो थिएन । तसर्थ उहाँका प्रतिस्पर्धीहरूले यो विषयलाई तत्कालीन एमाले वृत्तले सहज ढंड्गले लियो भन्ने मलाई लाग्दैन । भित्र केही नभए पनि बाहिर हाउगुजी भने पक्कै थियो । तसर्थ उहाँको राजनीतिक उचाइलाई पार्टीभित्र सिध्याउन उनीहरूलाई यसले पनि कुनै न कुनै रुपले थप बल पुगेको थियो । यदि गणेश पण्डित जत्तिको मानिस अगाडि आयो भने भविश्यमा आफ्नो राजनीतिक भागबण्डा असुरक्षित देख्नेले नै उहाँको राजनीतिक जीवन समाप्त पार्न पार्टीभित्र र बाहिरबाट हर सम्भव प्रयास गरे र एक कर्तव्यनिष्ठ, इमान्दार बामपन्थी नेतालाई जीवनभर थिच्ने काम गरे । उहाँ एक सम्पन्न परिवारमा जन्मिएको मानिसलाई आर्थिक जोहोको कुनै चिन्ता थिएन र पनि अनावश्यक मसाल बनाएर प्रहार गरिरहे । उहाँ जीवन भर यस बिषयमा जीवन भर कतै चुक्नु भएन तर ती चाकरी र धूर्त कर्मयोगीहरू अरूलाई दबाएर आफू चाहिँ जीवनमा कति सफल भए वा भएनन् त्यो चाहिँ अनुत्तरित छ ।

त्यस समयमा यदि गणेश पण्डितले बाहुबाजेले ब्याज खान लगानी गरेको तमसुक च्यातेर धितोमा राखिएका गरिबका लालपूर्जा फिर्ता नगरिदिएको भए ,अवसरको खोजिमा वामबिचार बाट बिचलित भएर पद र अवसरको राजनीतिमा रमाएको भए आज उहाँको यो उचाई बन्न सक्ने थिएन । यति लेख्न सक्ने कुनै ठाउँ पनि रहँदैनथ्यो । उहाँले जीवनमा सत्ताको धूरी चढ्ने सयौ अवसरहरूलाई त्यागेर एउटा निष्ठा र इमान्दारिको राजनीतिमा अडिग रहनुभयो । जीवन भर कुनै पनि परस्थिमा आफुलाई कुनै पनि अवसरवादको खोजिमा नलाग्नु उहाँको राजनीतिक जीवनको सबैभन्दा ठूलो सच्चाई र इमानदारिता थियो । सादागी जीवन , उच्च बिचारका धनी , सरलताका खानी , इमान्दार हुनु उहाँको ब्याक्तित्वको परिचय थियो र जीवनको कमजोरी पनि त्यहि बन्यो । अर्को जीवनभर आफ्नो नैतिकतामा कुनै दाग लाग्न नदिनु यो उहाँको जीवनको सबै भन्दा ठूलो सम्पति थियो र हो । तसर्थ उहाँले जीवन भर हारेर पनि अन्तिम दिनमा सबैलाई इमानदारिको बलले जितेर गए ।

अर्को विडम्बना, जिल्लामा राम्रो पकड बनाए पनि राष्ट्रिय स्तरमा उक्लन नसक्नु र समयसापेक्ष अरू बामपन्थी नेताहरूले झैँ आफूलाई समयअनुकुल परिवर्तन हुन नसक्नु उहाँको ठूलो कमजोरी थियो । अर्को राजनीतिक रुपमा नुवाकोटमा तीव्र प्रतिस्पर्धा हुनु र डा. प्रकाशचन्द्र लोहनी, नेपाली कांग्रेसबाट आफ्नै भान्जा अर्जुन नरसिंह के.सी., डा. रामशरण महत, डा. प्रकाशशरण महतजस्ता नेता नुवाकोटबाट राजनीतिक रूपमा उदाउनु र इमानको राजनीतिले हावा खानु । राजनीतिक नोट र अवसरमा चल्नु । ठोस परिस्थितिको ठोस मूल्याङ्कन गरेर अगाडि बढ्न नसक्नु उहाँको अर्को कमजोरी हो । राजनीतिक रुपले ओरालो लागेका र पारिवारिक राजनीतिमा अल्झेका ब्याक्तिबादिहरू सँगको निकटता पनि उहाँले राजनीतिक जीवनको सबैभन्दा ठूलो भूल थियो । उपयुक्त र सत्तामा पुग्ने संभावित गुटको असल भक्त बनेर भजन गाउन सकिएन भने नेपालमा जतिसुकै क्षमतावान भए पनि पछाडि पारिन्छ भन्ने यो अर्को उदाहरण थियो । नुवाकोटमा बामपन्थीको पहिलो जग हालेर पनि राष्ट्रिय राजनीतिमा उहाँ ओझेलमा पर्नुभयो । राजनीतिमा कि त गान्धी, मण्डेला, बीपी जस्तो क्षमता हुनुपर्यो कि त प्रचण्डजस्तो समयसापेक्ष ठोस परिस्थितिको ठोस मूल्याङ्कन गरेर अगाडि जान सक्ने खुबी हुनुपर्छ । अन्यथा, मन्त्री र सभासद तहसम्मको नेपालको राजनीति भनेको कुनै परम गुटको सच्चा भक्त हुनै नै हो चाहे त्यो नेकपा होस्, कांग्रेस वा अरु कुनै । राजनीति र वैचारिक दृष्टिले अति नै योग्य र जुझारू र विद्वान् नेता भए पनि भाग्य र नियति उसको पक्षमा परेन भने अहिले नेपालमा काम छैन ।

गाउँगाउँमा प्रत्यक्ष रुपमा धेरै मानिसहरूसँग सिधा सम्पर्क राख्ने एक समाजसेवी, एक शिक्षाप्रेमीको साथै गाउँ बस्तीहरूको अभिभावक जीवनभर तिनै झुपडीहरूको आँगनमा टेकेर तिनैका संस्कार, संस्कृति, जीवनको आरोहअवरोह, चालचलनहरू, इतिहास, सामाजिक संवेदना र अनुभुतिहरू नजिकबाट नियालेर एक सारथी बन्नु उहाँको जीवनको अर्को सकरात्मक पाटो थियो । उज्याला र अँध्यारा पक्षहरू खोतली गाउँबस्तीका मान्छेहरूका आआफ्ना भोगाइ, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, मन, बुद्धि, अहङ्कार तथा पूर्वीय दर्शनका सीमाहरू, ज्ञान र चिन्तनका उच्चतम पक्ष खोतल्नु उहाँभित्र रहेको ज्ञानभण्डारको अर्को महत्त्वपूर्ण पाटो हो ।

त्यस समयमा यदि गणेश पण्डितले बाहुबाजेले ब्याज खान लगानी गरेको तमसुक च्यातेर धितोमा राखिएका गरिबका लालपूर्जा फिर्ता नगरिदिएको भए ,अवसरको खोजिमा वामबिचार बाट बिचलित भएर पद र अवसरको राजनीतिमा रमाएको भए आज उहाँको यो उचाई बन्न सक्ने थिएन । यति लेख्न र बोल्न सक्ने कुनै ठाउँ र स्थान रहँदैनथ्यो ।

उहाँले जीवनमा मानिसहरूको हृदय पढ्नुभएको थियो । निर्दोष जनताको सपनाको व्यापार राजनीतिले कसरी गरिरहेछ ? देश कसरी खोक्रो बनिरहेछ, देश विकासका सुन्दरतम पक्षहरू कसरी ढलिरहेछन् र यसको समाधानको सूत्रको खोजी र चेतावनी आफ्ना हरेक लेख, रचना र अभिव्यक्तिमा पटकपटक उजागर गरी राख्नुहुन्थ्यो । देशले सबैसबै दिँदा पनि पटकपटक देशको चीरहरण गर्नेहरूप्रति उहाँको आक्रोश थियो । उहाँभित्र विचार, चेतना र चिन्तनको एउटा ज्ञान प्रबाह निरन्तर बगिरहेको थियो । एउटा कवि हृदयले देखेबुझेको देश र अरू आम मानिसले बुझेको देशमा कति फरक हुन्छ । उहाँका कविताका केही हरफहरू देश प्रति यसरी बोल्छन् :

यौटै यो व्यवहार मात्र छ कसी, साँचो प्रजातन्त्रको
बोली मात्र मीठो भएर कहिल्यै बन्दैन संसार यो
कुर्सीको परिमोहमा कति गिरे, झन् राजनीति तल
फल्दैछन् विष वृक्षबीच उनका, ज्यादै नराम्रा फल

व्यक्तिको जीवनमाथि समीक्षा गर्ने कुरा निकै चुनौतिपूर्ण काम हो । सन्तुलित भएर सत्य तथ्यमा अडिएर लेख्न सकिएन भने लेखाइको औचित्य रहँदैन । फेरि यसमा उपलब्ध सुचना र हल्लाहरूभित्र कति सत्यता छ त्यसले पनि लेखाइलाई प्रभावित गर्छ । यस्तो विषयवस्तुमा सत्य तथ्य कि त व्यक्तिसँग नजिकबाट उठबस गर्ने लोकलाई थाहा हुन्छ कि त परिवारलाई । यसले गर्दा व्यक्तिका जीवनका यावत पक्षहरूलाई सानो लेखमा समेट्न निकै कठिन त हुन्छ नै तर एउटा ध्रुवसत्य के हो भने यसले व्यक्तिका केही अदृश्य र अभिव्यक्त हुन नसकेका केही पाटा र तथ्यहरूलाई भने अवश्य पनि आम मानिससँग साक्षात्कार गराइदिन्छ । कतिपय कुराहरूमा मानिसको बाहिरी बुझाइ र व्यक्तिको आन्तरिक भोगाइ फरक हुन्छ । आवश्यकता भन्दा बढी बढाइचढाइले पनि उसको कद घटाउँछ । बढी छोपछाप र यथार्थभन्दा पर गयो भने लोकले पचाउँदैन । व्यक्तिको योगदानमाथि कुठाराघात हुन्छ । अन्तमा भन्नुपर्दा गणेश पण्डित व्यक्तिगत स्वार्थ र पार्टीगत राजनीतिबाट माथि उठिसकेका व्यक्ति थिए ।

जब मानिस जीवनको उत्तरार्धमा आइपुग्छ उसले आफूले जीवनभर हासिल गरेको अंकगणितीय सफलतालाई आध्यात्मिक दृष्टिले केलाउन थाल्छ । बस् ! त्यसपछि उसले आफूले जीवनभर प्राप्त गरेको अंकगणितीय सफलता पनि मिथ्या पाउँछ र ईश्वरीय भनाौँ वा ब्रह्माण्डीय सत्यतिर ढल्कन थाल्छ । चाहे त्यसलाई आध्यात्मिक दृष्टिकोणबाट हेर्नुस् वा भौतिकवादी चश्माले । आखिर माक्र्सवादभित्रको मूल तत्त्व पनि गीताकै सार हो । यसले गर्दा कोही गीतावादी हुँ भन्यो भने आधुनिक माक्र्सवादी हो । यदि ऊ सच्चा माक्र्सवादी हुँ भन्छ भने ऊ गीतावादी पनि हो । बुझाइ र चेतनाको अभावले मात्र मानिस भ्रम र वादको पछाडि दौडिएको हो । यो तहबाट सोच्दा म यो वादी भन्नुको कुनै तुक र अर्थ छैन । मृत्युपछि बोल्ने भनेको मानिसको निःस्वार्थ कर्म मात्र हो । उहाँ भन्नुहुन्थ्यो नेपालका आमजनता आफ्नो कर्तव्यबोधबाट चुकेका छन्, हामीमा आफू हुनुको गौरवबोध पटक्कै छैन, आफ्नै इतिहासप्रति अज्ञानता र गलत बुझाइ छ । जसले हाम्रो अस्मिता र विरासतलाई सधैँ ध्वस्त पार्न सघाइरहेको छ । गौरवपूर्ण राष्ट्रनिर्माण र इतिहास निर्माणको लागि कसैले एक इँटा थपेन । सबैमा माटोप्रतिको कर्तव्यबोध जगाउन नसक्नु हाम्रो सबैभन्दा ठूलो लाचरीपन हो । यो उहाँको गुनासोभन्दा पनि देशप्रति, आफ्नो माटोप्रति, आफ्नो इतिहासप्रति, आफ्नो दायित्वप्रति, आफ्नो कर्तव्यबोधप्रतिको गहिरो चिन्तन हो । उच्च राष्ट्रभाव हो थियो । मानिस सतकर्म र त्यागले महान बन्ने हो । स्वार्थको लडाइँमा अल्झिएको मानिस कोही महान बन्दैन । त्यसैले जो मानिस चेतनाको यो तहसम्म उक्लन सक्छ उसले केही हदसम्म जीवन र जगतलाई बुझेको हुन्छ अन्यथा व्यक्तिगत स्वार्थप्राप्तिमै अल्झन्छ ।

जीवनका उज्याला र अँध्यारा पक्षहरू खोतली गाउँबस्तीका मान्छेहरूका आआफ्ना भोगाइ, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, मन, बुद्धि, अहङ्कार तथा पूर्वीय दर्शनका सीमाहरू, ज्ञान र चिन्तनका उच्चतम पक्ष खोतल्नु उहाँभित्र रहेको ज्ञानभण्डारको अर्को महत्त्वपूर्ण पाटो हो ।

मलाई लाग्छ उहाँले जीवनमा जे जति गर्न सक्नुभयो नुवाकोटमा चेतनाको क्रान्ति, धर्मको र नीतिको रक्षा र एक असल शिक्षक भएर धेरैलाई चेतनाको ज्योति छर्नुभयो । बामपन्थी र पूर्व सभासद हुनुको नाताले पार्टीले उहाँको पार्थिव शरीरमा ससम्मान पार्टीको झण्डा ओढाएर त सम्मान गर्यो तर पार्टीगत र नीजि स्वार्थबाट मुक्त भइसकेको मानिसलाई झण्डाको औचित्य मैले देखिनँ । तसर्थ उहाँलाई एउटा पार्टीको झण्डा मुनि थिच्न मेरो आत्माले दिएन । मलाई लाग्छ उहाँ नेताभन्दा बढी एक असल शिक्षक र समाजसेवी, नैतिकवान् मानिस भएर बाँच्नुभयो तसर्थ यो आलेखलाई उहाँकै दुई लाइन कवितामार्फत् बिट मारिदिएँ :

सक्छौ पार लगाऊँ लौ मिलिजुली यो देशको दुर्दशा
शान्ति, न्याय, समानता, प्रगतिका झुल्कुन उज्यालो उषा

अल बिदा गणेश पण्डित सर अल बिदा ……अल बिदा …

प्रतिक्रिया