स्थानीय राजपत्र र ऐन सार्वजनिक गर्दै मौलापुर नगरपालिकाद्वारा छात्रालाई ल्यापटप कार्यक्रम सञ्चालन

सञ्जय मित्र, रौतहट २०७५ फागुन १३ गते २३:३९ मा प्रकाशित

रौतहटको एक नगरपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४को परिधिभित्र रहेर स्थानीय राजपत्रसहित विभिन्न ऐन संग्रह सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नम्वर २ अध्यक्ष एवं सासद प्रभु साहसहित सासदत्रय सरला यादव, रेखाकुमारी झा, समिना हुसैन, प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेश सभा सदस्य बाबुलाल साह, कुन्दन कुशवाहा, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा फिरोज, उपमेयर नूरजहाँ खार्तुन, गरुडा नगरपालिकाकी उपमेयर रंगीलादेवी जयसवालले सोमवार संयुक्त रुपमा ऐन संग्रह तथा राजपत्र सार्वजनिक गरेका हुन् । नगरपालिकाले स्थानीय राजपत्रसहित नगरपालिका शिक्षा ऐन २०७५, कृषि ऐन, कृषि संस्थान ऐन, सहकारी ऐन, एफएम रेडियो ऐन, प्राविधिक तथा व्यवसायिक तालिम प्रतिष्ठान ऐन र प्रशासनिक कार्यविधि (नियमित गर्ने) ऐन गरी सातवटा ऐन तयार गरेर २०७५ फागुन ५ गतेदेखि नगरमा लागु गरेको हो ।

सार्वजनिक समारोहका प्रमुख अतिथि रौतहट क्षेत्र नम्वर ३ का साँसद तथा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले मौलापुर नगरपालिकाले विकास निर्माण लगायत नगरका जनतालाई आत्मनिर्भर बनाउनलाई चाहिने ऐन बनाएर सार्वजनिक गरेकोमा खुशी व्यक्त गरेका छन् ।

नगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने ५० जना छात्राहरुलाई ल्पापटप प्रदान गरेको छ । यसअघि साँसद साहले छात्रालाई साइकल प्रदान गर्ने अभियान संचालन गरेका थिए । छात्रालाई साइकल अभियान जिल्लाभरि फैलिएको छ जसले हजारौ छात्रा लाभान्तिव भएका छन् । प्रदेशको एकमात्र महिला मेयर रहेको मौलापुर नगरपालिकाले पहिलोचोटि छात्रालाई ल्यापटप प्रदान गर्ने नयाँ अभियानको थालनी गरेको छ ।

ल्यापटपको अभियानले छात्रालाई डिजिटल साक्षरता र आत्मनिर्भरताको साथै आत्म सम्मानमा वृद्धि हुने विश्वास आफूले लिएको नगर प्रमुख रिनादेवी साहको भनाइ छ ।

प्रतिक्रिया