कञ्चनपुरको एनसेल टावरमा पनि आगजनी

इनेप्लिज २०७५ फागुन ११ गते ९:०८ मा प्रकाशित

कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

“आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ”, उहाँले भन्नुभयो, “एनसेल कम्पनीको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको छ ।”

टावर रहेको क्षेत्रमा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका कारण कारवाही गर्नुपरेको कुरा उल्लेख गरेको पर्चासमेत प्रहरीले फेला पारेको छ । प्रहरीले टावरमा आगजनी गर्नेको खोजीकार्य भइरहेको जनाएको छ ।

कार्यालय भवन बन्ने 

एशियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा शहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चार तले आधुनिक शैलीको कार्यालय भवन निर्माण गर्ने भएको छ ।

भवन निर्माणका लागि कार्यालयले डिजाइन र लागत इष्टमेट तयार गरेर एडिबीमा बजेट स्वीकृतीका लागि पठाएको छ । पहिलो चरणमा रु १४ करोडको लागतमा दुई तले भवन निर्माण गरिने आयोजना कार्यान्वयन एकाइ धनगढीका उपव्यवस्थापक श्यामलाल बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार नगरपालिका सञ्चालनका लागि आवश्यक पर्ने सबै संरचना भवनमा निर्माण गरिनेछ । भवन अत्याधुनिक शैलीको हुनेछ ।

“शुक्लाफाँटासँगै कैलालीको गोदावरी नगरपालिकाको समेत सोहीअनुसारको भवन निर्माण हुने छ”, उहाँले भन्नुभयो । दुवै नगरपालिकमा व्यवस्थित कालोपत्रे सडक निर्माणको कार्यसमेत छिट्टै शुरु हुने उहाँको भनाइ छ । सुदूरपश्चिम प्रदेशका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा शहरी विकास आयोजना सञ्चालनमा छ ।

गोदावरी र शुक्लाफाँटा नगरपालिकामा आयोजना कार्यान्वयनका लागि आवश्यक डिजाइन र लागत इष्टमेटलगायतका काम भएको उपव्यवस्थापक बुढाथोकीले बताउनुभयो । “शुक्लाफाँटा र गोदावरी नगरपालिकामा काम गर्न सहज छ”, उहाँले भन्नुभयो, “फोहर व्यवस्थापनका लागि आवश्यक जग्गा प्राप्ति भएको छ ।”,

धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकामा यो आयोजना कार्यान्वयन गर्न समस्या भइरहेको उहाँले बताउनुभयो । “फोहर व्यवस्थापनका लागि जग्गा प्राप्त हुन सकेको छैन । एडिबीले फोहर व्यवस्थापनलाई प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया