उपराष्ट्रपति पुन शिवलिंगेश्वर धाममा

इनेप्लिज २०७५ फागुन २ गते ११:४२ मा प्रकाशित

कञ्चनपुर, २ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले बेदकोट नगरपालिकामा रहेको शिवलिंगेश्वर धामको अवलोकन भ्रमण गरेका छन् । उनले बिहीबार विहान बेदकोट नगरपालिकाको वडा नं. ४ मा पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल शिवलिंगेश्वर धामको अवलोकन भ्रमण गरेका हुन् ।

आजै पर्यटकीय क्षेत्र बेदकोट ताल परिसरमा सुरु हुने बेदकोट धार्मिक पर्यटन मेला–२०७५को उद्घाटन समारोहमा सहभागी हुन कञ्चनपुर पुगेका उपराष्ट्रपति पुनले बुधबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र महाकाली झोलुंगे पुलको अवलोकन भ्रमण गरेका थिए ।

शिवलिंगेश्वर धामको भ्रमणमा पुगेका उपराष्ट्रपति पुनलाई बेदकोट नगर प्रमुख अशोक कुमार चन्दले स्वागत गरे । स्वागतको क्रममा नगरप्रमुख चन्दले शिवलिंगेश्वर धाम ऐतिहासिक, धार्मिक केन्द्र रहेको बताए । उनले परापूर्वमा तराई पहाड यात्रा गर्ने क्रममा हात्तिको डर हुने र यस क्षेत्रमा बसेपछि शिवले रक्षा गर्ने गरेको विश्वास रहेको उल्लेख गरे ।

शिवलिंगेश्वर धाममा पर्यटकहरुको भिड लाग्ने गरेको छ । यसलाई स्थानीय सरकारले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लगेको छ ।

प्रतिक्रिया