महिनावारीलाई गलत रुपमा बुझनु हुँदैन, स्वास्थ्यमा ध्यानदिनुपर्छः गंगा चौधरी

इनेप्लिज २०७५ माघ ६ गते १२:३९ मा प्रकाशित

काठमाडौं, ६ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रतिनिधि सभाको सांसद गंगा चौधरीले किशोरीहरुको महिनावारीसम्बन्धी सुरक्षा र स्वास्थ्यका विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने बताएकी छिन् ।

‘किशोरीहरुका दिन नेपाल’ नामक संस्थाले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौधरीले महिनावारीका बेला स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताइन् ।

महिनावारीलाई गलत अर्थमा बुझ्न नहुने बताएकी सांसद चौधरीले भनिन्, ‘मलाई पनि शुरुवाती दिनमा महिनावारी हुँदा घरमा समस्या थियो । स्वास्थ्य र जनचेतनाका बारेमा जानकारी पाएपछि सोहीअनुसार गरेँ ।’ सांसद चौधरीले सुधारहरु एकै पटक नहुने तर क्रमशः परिवर्तन हुने बताइन् ।

संसद र संसदका समितिहरुमा महिला हिंसा, छाउपडी, महिनावारीका समस्या लगायतका विषयमा बोल्ने गरेको बताउँदै नेकपाकी सांसद चौधरीले भनिन्, ‘छाउपडी दण्डनीय हो र यो विषयमा करकापमा पार्नेलाई कारबाही हुन्छ भनेर कानूनले व्यवस्था गरेको छ । हालै संसदीय समितिले पनि छाउपडीमा बस्न बाध्य बनाउनेहरुलाई कानून बमोजिम कारबाही गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छौँ ।’

सांसद चौधरीले ‘किशोरीहरुका दिन नेपाल’ले किशोरीहरुका लागि तयार पारेको पुनः प्रयोग गर्न मिल्ने प्याडलाई सबै जिल्लामा लैजान सुझाव दिइन् ।

अर्की सांसद लक्ष्मी चौधरीले आफू स्वयं महिनावारी र छाउपडीका बारेमा नजिकबाट जानकार रहेको बताइन् ।

‘म पनि महिनावारी हुँदा कसरी माथि आएँ भन्ने कुरा जानकारी छ’, उनले भनिन्, ‘यसलाई राम्रो र नराम्रो भन्दा पनि प्रकृतिले दिएको विषयलाई सहज रुपमा चेतना दिएर अगाडि बढाउनुपर्छ ।’

सांसद चौधरीले स्थानीय सरकारहरुसँग मिलेर ‘किशोरीहरुका दिन नेपाल’ले तयार पारेको पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याडको विस्तार गर्न सुझाव दिइन् ।

अर्की सांसद आशाकुमार विकले आफू सांसद भए पनि बेलाबेला छाउपडीको समस्याले पिरोल्ने गरेको बताइन् । उनले समय र परिवेशअनुसार सुधार आवश्यक रहेको बताइन् ।

‘किशोरीहरुका दिन नेपाल’ नामक संस्थाकी अध्यक्ष तारा महर्जनले महिनावारी भएका बेला किशोरीहरुले पुनः प्रयोग गर्न मिल्ने प्याडलाई धेरै जिल्लाहरुमा विस्तार आवश्यक रहेको बताइन् । उनले विद्यालयका किशोरीहरुलाई प्याड लगाउने र स्वास्थ्यसम्बन्धी शिक्षा दिनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया