बुधबार, माघ १२ २०७८
काठमाडौं ०२:०५
वासिङटन डिसी 15:20

नेपाल यसरी बन्यो बाल यौन दुराचारीको सजिलो गन्तव्य

इनेप्लिज २०७५ माघ ६ गते १२:११ मा प्रकाशित

काठमाडौं, ६ माघ । केही महिनाअघि नेपाल प्रहरीका नायब उपरीक्षक कबित कटुवाल भक्तपुरस्थित काठमाण्डू भ्याली फन पार्क पुगे। केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत कटुवाल त्यो सप्ताहान्त परिवारसँग थिए।

तर उनका तीक्ष्ण आँखा एक विदेशीमाथि पर्‍यो।

दुई बालक र चार बालिकासँग रमाइरहेका ती विदेशी पुरुषको हाउभाउ तथा क्रियाकलाप उनलाई अस्वाभाविक लाग्यो।

बालबालिकालाई सुम्सुम्याउने उनको शैली भिन्न देखिन्थ्यो।

पेशाले अनुसन्धान अधिकृत भएकाले होला केही समय नियालेपछि कटुवालले उक्त विदेशीको तस्बिर आफ्नो मोबाइल फोनको क्यामेराले खिचे।

त्यसपछि पनि उनका आँखाले विश्राम लिएनन्।

भोलिपल्ट कार्यालय पुगेपछि उक्त घटनाबारे कटुवालले अन्य प्रहरी अधिकारीसँग छलफल गरे। र, उक्त विदेशीमाथि निगरानी गर्ने निष्कर्षमा पुगे।

उनको तस्बिर प्रहरी जवान र खबरीहरूलाई उपलब्ध गराए।

केही दिनपछि त्यही विदेशी नागरिक काठमाण्डूको ठमेलमा घुमिरहेको भेटिए। ठमेल सातघुम्तीस्थित एक होटेलमा बसेका उनको निगरानी प्रहरीले बढायो। नेदरल्याण्ड्सका नागरिक रहेका उनकाबारे अन्य जानकारी प्राप्त गर्ने काम पनि अघि बढ्यो।

ती व्यक्तिका साथ अक्सर एक जना बालक देखिन्थे। उनी बसेको होटेलमा हरेक दिन जसो बिहान साढे आठ बजे तिनै बालक आइपुग्थे र प्रायजसो रातको साढे ११ बजे निस्कन्थे। दिउसो कतै निस्किए सँगै लिएर हिँड्थे।

काठमाण्डू भ्याली फन पार्कमै शङ्कास्पद गतिविधि गरेको पाइएका उक्त विदेशीको दिनचर्या झनै शङ्कास्पद देखिँदै गयो।

महिनौँसम्म चलेको अनुसन्धानका आधारमा प्रहरीले उनलाई बाल यौन दुराचारी ठहर गर्‍यो र अन्ततः २०७५ जेठमा उक्त होटलको कोठाबाट नेपाली बालकसँगै रहेको बेला पक्राउ गर्‍यो।

 बढ्दो क्रम

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार नेपालमा बाल यौन दुराचार सम्बन्धी घटनाहरू बाहिरिने क्रम बढ्दो अवस्थामा छ।

पछिल्ला तीन वर्षमा १० जना व्यक्ति पक्राउ परेका छन् जसमध्ये नौ जना विदेशी छन्।

अमेरिका, जर्मनी, अस्ट्रिया, नेदरल्याण्ड्स, क्यानडा र फ्रान्स जस्ता मुलुकका नागरिकले हालका दिनमा काठमाण्डूको सुन्धारा र नख्खुस्थित कारागारमा सजाय भोगिरहेका छन्।

नौ विदेशीमध्ये छ जना ६० वर्ष भन्दा बढी उमेर समूहका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुरवेदीका अनुसार पछिल्ला तीन वर्षमा १० वटा घटना सार्वजनिक भएता पनि नेपालमा बाल यौन दुराचारका घटना उक्त आँकडाभन्दा कम्तीमा तीन गुणा बढी रहेको हुन सक्छ।

विभिन्न कारणवस घटनाहरू बाहिर आउन नसकेको र स्रोत साधनको अभावका कारण अनुसन्धान पनि आवश्यकता अनुरूप हुन नसकेको उनले स्वीकार गरे।

”सामाजिक प्रतिष्ठासँग जोडिने हुँदा धेरै जना यस्ता घटनालाई गुपचुप राख्न चाहने गरेको पाइन्छ,” चतुरवेदीले बीबीसी नेपाली सेवासँग भने। ”कतिपय सामाजिक संस्थाहरूले आफ्नो संस्थामा आउने सहायता रोकिएला भन्ने डरका कारण समेत त्यस्ता घटना दबाउने गरेको पाइन्छ।”

यसै हप्ता बाल यौन दुराचार आरोपमा क्यानेडियन प्रहरीले क्यानेडियन नागरिकलाई नेपालको एक बाल आश्रममा रहेका पाँच नेपाली बालकमाथि यौन शोषण गरेको आरोपमा पक्राउ गरेपछि यो विषय फेरि एक पटक चर्चामा छ।

 विकास उन्मुख देशको समस्या

नेपाल मात्र नभएर विश्वका थुप्रै अन्य विकास उन्मुख देशमा बाल यौन दुराचारको समस्या रहेको जानकारहरू बताउँछन्।

नेपाल लगायत अन्य त्यस्ता मुलुकमा जीवनयापन गर्न सस्तो पर्ने र प्राविधिकरूपमा पनि यस्ता मुलुक पछि रहेका कारण प्रहरी प्रशासनले आफ्ना गतिविधि सहजै पत्ता लगाउन नसक्ने हुँदा दुराचारीको रोजाइमा पर्ने गरेको पाइने उनीहरूको बुझाइ छ।

”अतिथि देवो भव: अर्थात् अतिथि देवता समान हुन्छन् भन्ने नेपाली संस्कार र विदेशी भन्ने बित्तिकै भगवान् मान्ने परिपाटीका कारण पनि नेपाल बाल यौन दुराचारीका लागि राम्रो गन्तव्य बन्न पुगेको छ,” चतुरवेदीले भने। ”विदेशीले गरेको भन्ने बित्तिकै हाम्रोमा जे पनि राम्रो हुन्छ वा उनीहरूले जे गरे पनि ठिक भन्ने मान्यता व्याप्त छ।”

अर्को महत्त्वपूर्ण पाटो नेपालीहरूको कमजोर आर्थिक अवस्था रहेको जानकारहरूको जिकिर छ।

प्रहरी अनुसन्धानका अनुसार अधिकांश त्यस्ता घटनामा दोषी पाइएकाहरूले पीडित तथा उनका परिवारलाई आर्थिक प्रलोभनमा पार्ने, आम नेपालीले सहजै पूरा गर्न नसक्ने खाले आवश्यकता पूरा गरिदिने र कतिपय अवस्थामा विदेश समेत घुमाउने गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ।

 जागरूकताको कमी

पश्चिमा र अन्य विभिन्न मुलुकका विद्यालयको पाठ्यक्रममै यौन शिक्षा समावेश गरिने गरेको प्रहरी अधिकारीहरूको दाबी छ।

त्यसैकारण त्यहाँका विद्यार्थीलाई कहाँ – कहाँ छुनु हुन्छ, कहाँ हुँदैन भन्ने सानैदेखि सिकाइएको हुन्छ।

नचिनेको मान्छेसँग बोल्न हुन्छ, हुँदैन भन्ने पनि पनि उनीहरूलाई बच्चाबाटै सिकाइएको हुन्छ।

”तर, नेपाली समाजमा अतिथिलाई देउता मान्ने संस्कार छ,” चतुरवेदीले दोहोर्‍याए।

 सङ्गठित कार्य

झट्ट हेर्दा यस्ता घटना संगठितरूपमा घट्ने नदेखिएता पनि यथार्थ भने भिन्न छ।

विभिन्न किसिमका सञ्जालहरू मार्फत बाल यौन दुराचारमा संलग्नहरू जोडिएका हुन्छन्।

नर्थ अमेरिका म्यान/बोई लभ असोसियसन र पेडोफाईल इन्फरमेसन एक्सचेन्ज जस्ता विभिन्न किसिमका संघ र समूह एक प्रमुख माध्यम मध्ये रहेको कटुवाल बताउँछन्।

त्यस बाहेक विभिन्न किसिमका नेटवर्कको प्रयोग गरेर बालबालिकाको अश्लील तस्बिर र भिडियो समेत एक अर्कासँग आदाप्रदान गर्ने गरेको जानकारहरू बताउँछन्।

प्रहरीले पक्राउ गरेका अधिकांश विदेशी प्राविधिक रूपमा सबल हुने हुँदा उनीहरूले इन्टरनेटको प्रयोगद्वारा हुने यस्ता गतिविधि सहजै पहिचान गर्न नसकिने पनि कटुवालले जानकारी दिए।

गन्तव्य लगायतका कुरामा सङ्गठित रहेर काम गरे पनि यौनजन्य कार्यमा संलग्न हुन बालबालिका खोज्ने र उनीहरूलाई आफूप्रति आकर्षित गर्ने काम भने आआफ्नै हिसाबले हुने गरेको प्रहरी अधिकारीहरूको भनाइ छ।

 मनोभाव

बयान लिने क्रममा पक्राउ परेका अधिकांशको मानसिक अवस्था आम मानिसभन्दा फरक हुने गरेको पाइएको प्रहरीले बताएको छ।

गहिरो मानसिक समस्या रहेको र वैवाहिक सम्बन्ध टुटेकाहरू प्राय: यस्ता किसिमका घटनामा संलग्न हुने गरेको उनीहरूको अनुभव छ।

”ती नेदरल्याण्ड्सका व्यक्तिकै कुरा गर्ने हो भने आफूलाई एक शिक्षकले बाल्यकालमै यौनजन्य क्रियाकलाप जबरजस्ती गरेको र त्यसैको बदला स्वरूप हालका दिनमा बाल यौन दुराचारमा संलग्न हुन पुगेको बयान दिएका थिए,” कटुवालले बीबीसी नेपाली सेवालाई बताए।

पीडित बालबालिकामा पनि असामान्य चरित्र देखिने गरेको उनी बताउँछन्।

सुरुवातमा बालबालिकालाई त्यस्ता किसिमका यौनजन्य गतिविधि पश्चिमा मुलुकमा सामान्य रहेको भनेर फकाइफुलाइ गर्ने गरिन्छ र शारीरिक यातना कम हुने खाले क्रियाकलाप गरिन्छ।

चरम पीडा हुने अवस्थामा पुग्दासम्ममा बालबालिकाहरू प्राय: असहाय भइसक्ने अधिकारीहरू बताउँछन्।

 

कानुनी प्रावधान

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार बाल यौन दुराचार गर्न गराउन नहुने र कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिने प्रावधान रहेको छ।

निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा समेत यौन दुराचार मानिने उक्त ऐनले बताएको छ।

बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

त्यस्तै बालबालिकालाई अप्राकृतिक मैथुन गरेमा पीडित बालकको उमेरका हिसाबले १० वर्ष देखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ।

साथै कसुरबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति भराइ दिनुपर्ने व्यवस्था समेत गरेको छ।

तर प्रहरी अधिकारीका कुरा मान्ने हो भने नेपालमा यौन दुराचारको सजाय अन्यत्र भन्दा कम छ। यौन दुराचारीले नेपाल रोज्नुको कारण पनि त्यही भएको उनीहरू बताउँछन्।

प्रयास

बाल यौन दुराचारका घटनाहरू कम गर्न र त्यस्ता घटनाबारे थाहा पाउन सरकारले सिविन नेपाल जस्ता संस्थासँग सहकार्य गरेर बाल हेल्पलाइन (१०९८) स्थापना गरेको छ।

त्यस बाहेक समुदाय प्रहरी साझेदारी मार्फत पनि यस्ता किसिमका घटनाबारे जनचेतना बढाउने काम भइरहेको जानकारी कटुवालले दिए। ”यस्ता किसिमका घटना गुपचुप रूपमा हुने हुँदा जनचेतनानै प्रमुख चिज हो,” उनले भने।

सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानका अनुसार बाल यौन दुराचार सङ्गठित अपराध भएको र यस्ता किसिमका कार्यमा हिंसाभन्दा पनि प्रलोभनको प्रयोग हुने हुँदा समयमै घटनाबारे थाहा हुन ढिला हुने बताउँछन्।

बालबालिका सम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाले स्वयंसेवक वा दाताको रूपमा आउने त्यस्ता विदेशी नागरिकको विगतबारे जानकारी नराख्दा त्यस्ता घटना बढ्दो क्रममा रहेको बताइन्छ।

कतिपय अवस्थामा आफ्नो संस्थामा आउने सहायता रोकिने डरले त्यस्ता घटनाबारे थाहा पाउँदा पनि लुकाउने गरेको पनि ठानिन्छ।

”बाल यौन दुराचारको कार्यमा संलग्न हुने व्यक्तिहरूले त्यसै कारण कमजोर आर्थिक अवस्था रहेको संस्था र परिवारको खोजी गरेर आउने गर्छन्,” प्रधानले बताए।

प्रतिक्रिया