सभामुख थोरै गरम भएपछि कांग्रेस सांसदले प्रश्न सोध्न पाउनुभएन : देव गुरुङ

इनेप्लिज २०७५ पुष २६ गते १२:१० मा प्रकाशित

देव गुरुङ, प्रमुख सचेतक, नेकपा

आज संघीय संसदको बैठक बस्दैछ । २२ गते बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारले गरेका कामबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीको सम्बोधनपछि कांग्रेसका सांसदहरुले प्रश्न गर्न खोज्दा सभामुख कृष्णबहादुर महराले रोक्नुभयो । त्यसपछि कांग्रेस रुष्ट छ । आज बस्ने बैठकमा सभामुखले के गर्नुहोला ? सत्तारुढ दल नेकपाको धारणा के छ ? यस विषयमा ऋषि धमलाले नेकपाका मुख्य सचेतक देव गुरुङसँग कुराकानी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

आज बस्ने संसद बैठकमा प्रधानमन्त्री केपी ओलीले जवाफ दिनुहुन्छ ?
प्रधानमन्त्रीको जवाफ भनेको उहाँले बोल्ने दिन दिने हो । आज प्रश्न उत्तरको कार्यक्रम हुन्छ कि हुँदैन यकिन भन्न सक्दिन ।

यसअघिको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने व्यवस्था किन गरिएन ?
यसअघिको बैठकमा प्रधानमन्त्रीको सम्बोधनपछि माननीय सांसदज्यूहरुले प्रश्न सोध्न चाहनुभएको थियो । तर समयको चापले गर्दा अर्को दिन प्रश्नोत्तरको कार्यक्रम राख्दा के हुन्छ भनेर सभामुखले परामर्श गर्न खोज्नुभएको थियो । तर त्यही दिन प्रश्न राख्न चाहनुभएकाले २१९ को दफाअनुसार समय दिइएको थियो । तर प्रश्न सोध्न चाहने सांसदहरुले नै चाहनुभएन ।

तर सभामुख कृष्णबहादुर महराले मध्यमार्गी भूमिका खेल्न सक्नुभएन नि । उहाँले नेकपाको सदस्यता त्याग्नुभएको छैन ?
कांग्रेसका प्रमुख सचेतक र सभामुखबीचको सल्लाहपछि दुई जनालाई प्रश्न सोध्न दिने कुरा भएको थियो । तर उहाँहरु सबैले प्रश्न सोध्न चाहनुभयो, जुन सम्भव थिएन । सभामुख महराले सहजिकरणकै भूमिका निर्वाह गर्नुभएको हो । एक पक्षको भूमिका थिएन । तर कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेर गलत गर्नुभयो । रोष्टम नै घेर्नुपर्ने अवस्था थिएन ।

तर सभामुखले प्रश्नउत्तरको कार्यक्रम नै छैन भनेर भन्नुभएको थियो नि ? यो त नियमावलीविपरित होइन र ?
प्रश्नोत्तरको कार्यक्रम गर्नैपर्छ भन्ने बाध्यकारी नियम छैन । सभामुखको अनुमतिले मात्रै प्रश्न सोध्न पाइने हो । नियमावलीको २१९ को उपदफा २ मा मन्त्री अथवा प्रधानमन्त्रीले बोलिसकेपछि सभामुखले अनुमति दिए मात्रै प्रश्न गर्न पाइने व्यवस्था छ । त्यसैले प्रश्न गर्न दिनुपर्ने बाध्यता हुँदैन । तर पनि सभामुखले मिनेन्द्र रिजाललाई समय दिनुभएको थियो । तर त्यो समयको प्रयोग किन गर्नुभएन ?

त्यसो हो भने सभामुखले जे गर्नुभयो त्यो सही छ ?
सभामुखले कांग्रेसका प्रमुख सचेतसँग २ जनाले प्रश्न सोध्ने सहमति गर्नुभएको थियो । तर प्रमुख सचेतकले त्यो सहमति सबैलाई जानकारी नगराएका कारण सबैले प्रश्न सोध्न खोज्नुभयो । सुरुमा रिजाललाई प्रश्न सोध्न समय दिदा होहल्ला गर्नुभयो । त्यसपछि सभामुखले अर्को एजेण्डा ल्याउनुभएको हो । २ जनाले प्रश्न सोध्ने सहमति भएपछि ५ मिनेट बैठक स्थगित गरेको भए सबै सांसदले सहमति बारे थाहा पाउनुहुन्थ्यो । यो कुरा सभामुखले पनि स्वीकार गर्नुभएको छ । सभामुखले के भन्नुभयो भन्दा “३ पटक प्रश्न सोध्नका लागि आह्वान गरेँ । तर प्रश्न सोध्नुको साटो होहल्ला भएपछि म पनि थोरैँ चाहीँ गरम भएर अर्को एजेण्डामा गएँ । तर ५ मिनेट बैठक स्थगित गरेर सहमति जानकारी गराएर प्रश्न सोध्न दिनुपर्नेमा मैले गल्ती गरेँ ।”

अबका दिनमा सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध कस्तो हुन्छ ?
हामी राष्ट्रिय मुद्धामा सहमति र सहकार्यका आधारमा नै अगाडि बढ्ने हो । एकले अर्कोलाई निषेध गर्नुहुँदैन ।

नेपाली कांग्रेसले छायाँ सरकार बनाउँदैछ । यसलाई कसरी लिनुभएको छ ?
संसदीय व्यवस्थामा छायाँ सरकार बनाउनुलाई अन्यथा लिन सकिदैन । यो सामान्य कुरा हो

प्रतिक्रिया