असहायको स्वास्थ्य बीमा गाउँपालिकाले गराउने

इनेप्लिज २०७५ पुष २१ गते ९:३२ मा प्रकाशित

दमौली, २१ पुस (रासस) : तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने असहाय एवं आर्थिकरुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गराउने भएको छ ।

चालू आर्थिक वर्षमा तीन सय घर परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराइने गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य बीमाका लागि लाग्ने खर्च गाउँपालिकाले बेहोर्ने बताउनुभयो ।

आर्थिकरुपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भए पनि गरीब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट वञ्चित नहुन् भन्नका लागि सो योजना ल्याइएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच जनासम्मको परिवारले स्वास्थ्य बीमाबापत वार्षिक रु दुई हजार ५०० शुल्क बुझाउनुपर्नेछ । गाउँपालिकाले रु. सात लाख पचास हजार शुल्क बेहोर्नेछ । जिल्लामा २०७४ भदौ १ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम शुरुवात गरिएको थियो । तनहुँमा हालसम्म १० हजार भन्दा बढि घरधुरी स्वास्थ्य बीमामा आबद्ध भइसकेको बताइएको छ । बन्दीपुर गाउँपालिकाका ५ सय २६ घरधुरी स्वास्थ्य बीमामा आबद्ध छन् ।

दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

बीमा गरिसकेपछि सदस्यले तोकिएका सेवा प्रदायक संस्थाबाट बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा पाँच जनासम्मको परिवारले आवश्यक पर्दा वार्षिक रु ५० हजारसम्मको स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् ।

प्रतिक्रिया