सरकारले अझै राम्रो काम गर्नुपर्छ : विष्णु पौडेल [अन्तरवार्ता]

इनेप्लिज २०७५ पुष १८ गते १:२५ मा प्रकाशित

विष्णु पौडेल, महासचिव, नेकपा सचिवालय
सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक सकिएको छ । बैठकले अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पास गरेको छ । तर कतिपय विषयमा सबै नेताहरुले सहमति जनाएका छैनन् । पार्टीभित्रैबाट सरकारको कामप्रति पनि तीब्र असन्तुष्टी देखिएको छ । पार्टी संचालनप्रति पनि सबै नेताहरु सन्तुष्ट हुन सकेका छैनन् । यिनै विषयमा केन्द्रित रहेर ऋषि धमलाले नेकपाका महासचिव विष्णु पौडेलसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

स्थायी समिति बैठकमा अध्यक्षद्धय केपीओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विवाद कायमै रहेको हो ?
राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

तर धेरै नेताहरुले असहमति जनाएका छन् नि ?
छलफलका क्रममा केही साथीहरुले फरक विचार राख्नुभएको हो । तर अन्तिममा सर्वसम्मतिले पारित भएको हो । बैठकमा उठेका उपयुक्त विचारहरुलाई समेट्ने गरी पास गरिएको छ ।

तर सबै नेताहरुबीचमा एकताको भयो भन्ने सन्देश त जान सकेन नि ?
स्थायी समिति बैठकले एकतावद्ध हुनुपर्छ भन्ने विश्लेषण भएको छ ।

भीम रावलको असन्तुष्टी त कायमै छ नि ? उहाँले उठाएको एसिया प्यासिफिक समिटको बारेमा त जवाफ आएन ।
विभिन्न विषयमा छलफल हुनु स्वभाविक हो । तर बैठकमा उठेका सुझाबहरुलाई सम्बोधन गर्नेगरी राजनीतिक प्रतिवेदन पारित गर्न सबै सहमत हुनुभएको हो ।

स्थायी समिति बैठकले सरकारले गर्ने कामको बारेमा केही छलफल गर्यो कि गरेन ?
सरकारको कामलाई अझै प्रभावकारी, शसक्त र उपलब्धिमूलक बनाउनका लागि के गर्नुपर्छ भन्ने कुराहरु स्पष्ट रुपमा लेखिएको छ । पार्टी संचालनका विषयमा पनि स्पष्ट दिशानिर्देश गरिएको छ ।

तपाईको नेतृत्वमा कार्यदल बनाइएको छ । यो कार्यदलले के काम गर्छ ?
पार्टीको सबै तह एकीकरणका लागि गृहकार्य गर्छौँ । हामीले संसारलाई नै सन्देश दिने गरी दुईवटा पार्टी एक गरेका हौँ । अब भातृसंगठनको एकता पनि सफल पार्छौँ ।

प्रधानमन्त्री केपी ओलीले सरकार संचालन गर्दा पार्टीलाई वेवास्ताग गर्नुभयो भन्ने आरोप लागेको छ । नेताहरुले लगाएको आरोप सत्य हो ?
त्यस्तो होइन । पार्टीको नीतिका आधारमा ओलीले सरकार चलाउनुभएको छ । आवश्यकताअनुसार प्रधानमन्त्रीले नेताहरुसँग परामर्श लिने गर्नुभएको छ ।

केपी ओली प्रधानमन्त्री भएपछि गरेका कामहरुबाट नेकपाका सबै नेता सन्तुष्ट छन् त ?
सरकारले राम्रो काम गरेको छ । अझै राम्रो काम गर्नुपर्छ । हामी राम्रो काम गरेर मात्रै चित्त बुझाउँदैनौँ । अझै राम्रो काम गर्नुपर्छ ।

यो सरकारले पनि भ्रष्टाचारीहरुलाई कारबाही गर्न सकेन । किन ?
भ्रष्टचारीहरुलाई कारबाही गरिरहेको छ । भइरहन्छ । पछिल्लो समय सरकारले भ्रष्टाचारीमाथि जुन तरिकाले कारबाही गरिरहेको छ, त्यसले भ्रष्टाचार न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेलेको छ । भ्रष्टाचारप्रति यो सरकारको शुन्य सहनशिलता छ ।

संसदमा कांग्रेसका सांसदहरुले कर्मचारी समायोजन अध्यादेश फिर्ता लिनुपर्ने माग गरेका छन् । यसलाई कसरी लिनुहुन्छ ?
सरकारले नियम र प्रक्रिया पूरा गरेर ल्याएको अध्यादेश फिर्ता हुँदैन ।

डा. गोविन्द केसीसँग भएका सम्झौता किन कार्यान्वयन भएन ?
डा. गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन गर्नका लागि सरकार तयार छ । सरकारले प्रक्रिया अगाडि बढाएको छ । नियतबस सहमति कार्यान्वयन नभएको होइन ।

प्रतिक्रिया