सरकार अधिनायकवादतिर गइरहेको छ, जुनसुकैबेला आन्दोलन सुरु गर्छौँ : निधी

इनेप्लिज २०७५ पुष १४ गते ३:४८ मा प्रकाशित

विमलेन्द्र निधी, उपसभापति, नेपाली कांग्रेस

नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ । बैठकले पार्टीको विधान संशोसन गरेर पारित गरेको छ । महासमिति बैठकको उपलब्धि केके भए त ? सरकारको कामकारबाहीप्रति कांग्रेसको धारणा के हो ? यिनै विषयमा केन्द्रित रहेर कांग्रेसका उपसभापति विमलेन्द्र निधीसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

महासमिति बैठकपछि अब कांग्रेस कसरी अगाडी बढ्छ ?
महासमिति बैठक अत्यन्त सफल भएको छ । विधान समावेशी र लोकतान्त्रिक बनाएर संशोधन गरेका छौँ । अब विधानमा टेकेर कांग्रेस प्रभावकारी रुपमा अगाडि बढ्छ ।

केन्द्रिय कार्यसमितिको संख्या ठूलो भयो भन्ने गुनासो छ नि ?
हामीले सबै तहमा ३३ प्रतिशत महिलाको उपस्थिती गराएका छौँ । यस्ता केही समावेशि सिद्धान्तअनुसार समावेश गर्दा ठूलो देखिएको हो ।

कांग्रेसभित्रको विवाद समाधान भयो त ?
महासमिति बैठक सुरु हुनुभन्दा अगाडि विवादका मात्रै कुरा गरिए । कांग्रेसले विधान संशोधन गरेर पारित गराउन पनि सक्दैन भन्थे । त्यो सब लोकतन्त्रविरोधीहरुको तर्क थियो । चुनावमा पनि हारेको कांग्रेस अब झन कमजोर बन्दै जान्छ भन्ने कतिपयको अनुमान थियो । तर अहिले ति भ्रम सबै चिरिएको छ । पार्टीभित्र राजनीतिक एजेण्डामा एकता भइसकेको छ ।

महासमिति बैठकमा महाधिवेशनको पनि चर्चा भयो । किन ?
महाधिवेशन अब दुई वर्षपछि हुन्छ ।

तर त्यही महाधिवेशनका लागि गुटगत राजनीति अब झन मौलाउँने सम्भावना छ नि ?
राजनीति गर्ने मान्छेले यस्तो तयारी सधैँ गरिरहन्छ । कहिले संसदीय चुनाव जित्ने कहिले महाधिवेशनको चुनाव जित्ने तयारी भइरहन्छ । यो त ठूलो कुरा भएन ।

आगामी फागुन मै महाधिशेन गरौँ भन्ने रामचन्द्र पौडेलेको प्रस्तावमा किन सहमति भएन ?
त्यो उहाँको व्यक्तिगत चाहना हो । तर महासमितिले पारित गरेन । अबको महाधिवेशन भनेको त संशोधित विधानअनुसार हुन्छ ।

कांग्रेसले हिन्दुराष्ट्रको एजेण्डा अघि सारेको हो ? नेकपा अध्यक्ष पुष्पकमल दाहालले त कांग्रेस फेरी पछाडि फर्किन खोजेको आरोप लगाउनुभएको छ नि ?
हाम्रो पार्टीमा सबैले आफ्नो विचार राख्न पाउँछन् । कम्युनिष्ट जस्तो विचारमै निषेध गर्ने पार्टी होइन । तर नेपाली कांग्रेसले संविधानमा भएको सबै विषयलाई पारित गरेको छ । धर्मनिरपेक्षतालाई पनि मानेको छ ।

तर महासमिति बैठकमा अधिकांश सदस्यहरुले त हिन्दुराष्ट्रको माग गरे नि ?
माग राख्नेलाई छुट छ । मुख्य कुरा कांग्रेसले के निर्णय गर्यो भन्ने हो । बहस त जुनसुकै विषयमा पनि चल्न सक्छ ।

सरकारले गरेका कामप्रति कांग्रेसको धारणा के हो ?
हामीले महासमिति बैठकबाट सरकारबारे धारणा राखिसकेका छाँै । वाइडबढी खरिद प्रकरणमा भ्रष्टाचार भयो । बुढिगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढ्न सकेको छैन । संस्थागत भ्रष्टाचारहरु मौलाइरहेका छन् । हत्या र बलात्कार रोकिएन । निर्मला पन्त प्रकरणका दोषीलाई पक्राउ गर्न नसकेको मात्रै होइन, अपराधी लुकाउने काम नै सरकारले गरिरहेको छ । सरकार अधिनायकवादतिर गइरहेको छ । जुनसुकैबेला हामी आन्दोलन गर्न सक्छाँै ।

प्रतिक्रिया