नेपाल–अंग्रेज युद्धमा प्रयोग भएको हतियार २०४ वर्षपछि फेला पर्यो

सञ्जय साह मित्र २०७५ पुष १३ गते २२:५८ मा प्रकाशित

रौतहटको गढीमाई नगरपालिकाको समनपुरमा सन् १८१४–१६ को नेपाल अंग्रेज युद्धमा प्रयोग गरिएको हतियार फेला परेको छ । नेपाल र अंग्रेजबीच युद्ध भएर नेपाली पक्ष शानदार रुपमा विजयी भई नेपाली पक्षले अंग्रेजहरुबाट अनेक हतियार प्राप्त गरेको थियो । अंग्रेजहरुबाट प्राप्त गरेको हतियारहरु स्थानीयले एउटा पोखरीमा फालेका थिए । पोखरीबाट आफ्नो ससुराको हजुरबाले प्राप्त गरेको तरबार ९९ वर्षकी पिरितियादेवी राउतले बताइन् । नेपाली सेनाको गौरमा रहेको इन्द्र बक्स गणका कर्णेल सुजन शाक्यले प्रथम विश्वताका पनि यस्तै हतियारको प्रयोग गरिएकोले नेपाल–अंग्रेज युद्धको समयको हतियार भएको स्पष्ट पारेका छन् ।

पिरितियादेवी राउतको घरको अगाडि रहेको ऐतिहासिक पोखरीबाट ससुराका हजुरबाले यस्ता अन्य साना हतियारहरु पनि पोखरीबाटै फेला पारेको तर समयक्रममा विस्तारै जम्मै हराउँदै गएको बताइन् । पिरितियादेवी राउतले करिब २०४ वर्ष पहिलेको हतियार उपलब्ध गराइदिएकोमा गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले पुरस्कारस्वरुप तत्काल दुई हजार रुपैया प्रदान गरेका छन् । साथै मेयर यादवले नगरपालिकाको तर्फबाट सम्मान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

मेयर यादवले ऐतिहासिक समनपुरको संरक्षण गर्न सरकारले पनि सहयोग गर्नुपर्ने बताउँदै स्थानीय सरकारले पहल गरिरहेको बताएका छन् । यसैबीच नेपाली सेनाको इन्द्र बक्स गणको टोलीले समनपुरमा रहेको ऐतिहासिक स्तम्भ र पोखरीको भ्रमण गरेको छ । नेपाली सेनाको इतिहासमा समनपुरको स्थान महत्वपूर्ण रहेको बताइन्छ । सन् १८१४ डिसेम्बर ३१ तारिख र १ जनवरी २०१५को संक्रमणको मध्यरातमा अंग्रेजी फौजले समनपुरमा नयाँ वर्ष मनाइरहँदा स्थानीयबासीले आक्रमण गरी फौजलाई तितरबितर पारेको थियो । त्यस युद्धमा सयौँ अंग्रेजी फौज हताहत भएको र स्थानीयबासीले अंग्रेज फौजको तोपसमेत नियन्त्रणमा लिन सफल भएको थियो ।

अंग्रेजहरुलाई लखेट्दै भारत बिहारको वैशाली जिल्लाको सदरमुकाम हाजीपुरको कौनहारा घाटसम्म पु¥याएको थियो । समनपुरमा कप्तान सर्वजीत थापाको नेतृत्वमा १२०० नेपाली फौज खटाइएको उल्लेख इतिहासमा पाइन्छ । त्यत्तिवेला पर्सा, बारा र रौतहटको नेपाली फौजको नेतृत्व कर्णेल रणवीर सिंहले गरेका थिए ।

नेपाल–अंग्रेज युद्धकालीन तरबार फेला परेपछि स्थानीयबासी आफ्नो ठाउँको ऐतिहासिक परिचय विस्तार खुल्दै गएको बताउँदै खुसी व्यक्त गरेको गढीमाई नगरपालिकाका नगर प्रवक्ता एवं ऐतिहासिक पोखरी भएको वडाका वडाध्यक्ष रामविनय यादवले बताएका छन् ।

(क्याप्सन : हतियार लिएर हेर्दै कर्णेल सुजन शाक्य)

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया