‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’ (भिडियोसहित)

इनेप्लिज २०७५ पुष १० गते १७:०९ मा प्रकाशित

उत्तमराज सुवेदी, प्रवक्ता, नेपाल प्रहरी

पछिल्लो समय नेपाल प्रहरीलाई निर्मला पन्त प्रकरणले रनभुल्ल पारेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको १ सय ५० दिनसम्म पनि अपराधी पत्ता लगाउन नसक्दा प्रहरीको क्षमतामाथि नै प्रश्न उठेको छ । अरु धेरै राम्रा काम गर्दा गर्दै पनि निर्मला पन्त प्रकरणले त्यस्ता राम्रा कामलाई ओझेलमा पारेको छ । निर्मला पन्त प्रकरणको अनुसन्धान लगायत नेपाल प्रहरीको समग्र भूमिकाका बारेमा ऋषि धमलाले नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीसँग कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

निर्मला प्रकरणमा नेपाल प्रहरी किन पूर्ण असफल भयो ?
यसलाई पूर्ण असफल भन्न मिल्दैन । नेपाल प्रहरीले हरेक घटनामा दोषीलाई २४ घण्टाभित्र पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाउने प्रयास गर्दै आएको छ । धेरै घटनामा हामी सफल भएका छौँ । तर निर्मला पन्त प्रकरणमा भने ढिला भएको हो ।

निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधीलाई पक्राउ गर्न सक्नुहुन्छ ?
हामीले अहिलेसम्मको अवधिमा पनि धेरै प्रयास गरेका थियौँ । अपराधीलाई कानुनी कठघरामा ल्याउने प्रयास जारी छ । अहिलेसम्मको प्रयास प्रयासमै सिमित छ । तर हामी दोषीलाई पक्राउ गरेरै छाड्छौँ ।

कहिलेसम्म पक्राउ गर्न सक्नुहुन्छ ?
यो अनुसन्धानको पाटो हो । मिति घोषणा गर्न सकिदैन । हामीले विभिन्न कोणबाट उक्त घटनाको अनुसन्धान गरिरहेका छाँै । नतिजा नआउञ्जेल अनुसन्धान जारी रहन्छ ।

अनुसन्धानका लागि समितिहरु बनाइयो । तर सत्य तथ्य फेला पर्न सकेन । किन ?
नतिजा नआउन्जेलसम्मको कुरा हो यो । तर अपराधी पत्ता लागेपछि सबैले गरेको काम देखिन्छ । चाँडोभन्दा चाँडो अपराधी पत्ता लाग्छ भन्ने विश्वास लिएका छौँ ।

यो घटनाले त नेपाली प्रहरी नै असफल भयो भन्ने टिप्पणी सुरु भएको छ नि ?
तत्काल घटनास्थलमा खटिएका प्रहरीले लापरबाही गरेकै हो । त्यसैले अनुसन्धान लम्बिएको हो । तर पनि नेपाल प्रहरीले हरेस खाएको छैन । अनुसन्धान पूरा गरेरै छाड्छौँ । समग्रमा बलात्कारका घटनामध्ये ९० प्रतिशत अनुसन्धान त सफल भइरहेको छ । कतिपय घटनाका दोषी १०–१५ वर्षपछि पत्ता लागेको इतिहास पनि छन् । यसको मतलब निर्मलाका बलात्कारी १०–१५ वर्षपछि पक्राउ पर्छन भन्न खोजिएको होइन ।

यो घटनाका कारण नेपाल प्रहरीको छवीमा कालो दाग लाग्यो भन्नेहरु पनि छन् नि ?
त्यसो होइन । नेपाल प्रहरीलाई विश्वास गर्नुपर्छ । एउटै घटनाका कारण व्याख्या गर्नु हुँदैन । अहिले पनि अरु घटनाका दोषीलाई २४ घण्टाभित्र पक्राउ गरेर मुद्धा चलाइरहेका छौँ । निर्मलाको न्यायका लागि हामी पनि धेरै चिन्तित छौँ । कुनै घटनामा यस्तो हुँदोरहेछ । तर धैर्य गर्नुपर्छ ।

प्रहरी प्रमुख सर्वेन्द्र खनालले नै गल्ती स्वीकार गर्नुभयो हैन ?
आइजीसावले कर्मचारीले गरेको गल्तीको जिम्मेवारी लिनुभएको हो । गलत गरेको कुरालाई स्वीकार मात्रै होइन, त्यस्ता कर्मचारीलाई कारबाही पनि गरिसक्यौँ ।

प्रहरीले प्रमाण नष्ट गरेकै कारण अपराधी पत्ता नलागेको हो ? कुनै पनि प्रमाण र अधार छैन ?
घटनामा खटिएका कर्मचारीले लापरबाही गरेकै हुन् । उनीहरुले गरेको लापरबाहीको सजायँ हामीले पनि भोगिरहेका छौँ । तर सबै प्रमाण नष्ट भएको छैन । म सबैलाई निश्चिन्त भएर केही समय पर्खिन आग्रह गर्छु ।

अन्तरवार्ताको पूरा अंश यो भिडियोमा हेर्नुहोला ।

प्रतिक्रिया