अब त राजतन्त्रको भूत देखे पनि तर्सनुपर्ने खण्ड आयो:विपिन कोइराला, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य– नेपाली कांग्रेस

इनेप्लिज २०७५ पुष १० गते ३:४१ मा प्रकाशित

विधान संशोधनको कुरा आइराख्या छ । आर्थिक एजेण्डा पनि तयार गर्दैछौं भन्या छन् । असाध्यै ठूलो चौबाटोमा पर्या बेला छ यो । नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाले सभापतीय पद्धतिबाट पार्टी चलाउँदै आउनुभएको थियो । महाधिवेशनबाट एउटा सभापति निर्वाचित हुन्थ्यो, अरु पदाधिकारी कार्य समिति जम्मै सभापतिले मनोनित गर्ने विधान थियो । ०४८ सालसम्म कृष्णप्रसाद भट्टराई सभापति हुँदासम्म पनि त्यही पद्धति लागू थियो । कांग्रेसमा विवाद पनि कम थियो । कहिल्यै संयोगले पार्टीको सभापति र प्रधानमन्त्री एउटै हुन्थ्यो, कहिले हुँदैनथ्यो । ०५३ सालमा आएर जब गिरिजाप्रसाद कोइराला सभापति हुनुभयो, पाँच विकास क्षेत्रबाट पाँच जना प्रतिनिधि निर्वाचित भएर आउने विधान बन्यो । ०५७ सालमा अलि बढी भयो र हुँदाहुँदा ०५८ सालमा पार्टी नै फुट्यो । ०६४ सालमा आएर गणतन्त्रमा जाने भन्ने निहुँमा नाटकीय ढंगले दुईटा पार्टी मिले । बिना छलफल, एकता महाधिवेशनको बैठक बस्ने भनेर डाकियो र गणतन्त्रको प्रस्ताव ल्याएर पारित गरियो ।

विधान संशोधनको तयारी सांगठनिक उद्देश्यले मात्र हुँदैछ कि राजनीतिक उद्देश्यले पनि ?

त्यसैमा म जाँदैछु । सबैभन्दा ठूलो कुरा हो नीति र नियत । हाम्रो नियत पनि सफा भएन, नीतिको त कुरै छोडदिनुस् । वीपीको नाउ त भजाउँछौं मात्र । सभापतीय पद्धति भयो भने पनि केही आपत्ति हुँदैन, यदि त्यो नेता ‘भिजनरी’ भयो भने दूरदृष्टि भएको समन्वयकारी भूमिका खेल्नसक्ने नेता भयो भने । अहिले कांग्रेसमा केन्द्रीय सदस्य संख्या बढाउने, ८५ बाट १३१, १४१ पुर्याउने भन्ने एकथरिको भनाइ छ । अर्काेथरिको भनाइ के छ भने त्यसो भए पदाधिकारीको संख्या पनि बढाउनुपर्छ । यो फोकटिया बहस हो । पालना गरे विधान विधान हो, पालना नगरे कागजको खोष्टा हो । अहिले पहिलेको भन्दा उल्टो परिस्थिति छ, शेरबहादुर देउवाजी संस्थापन पक्ष हुनु भा’छ, कोइराला परिवार, रामचन्द्रजी, सिटौलाजी इतरपक्ष हुनु भा’ छ । ०७२ सालदेखि भनौं न । अलिकति आकांक्षीहरु इतरपक्षमा बढी छन् । तिनीहरुलाई ‘एडजष्ट’ गर्न पाए हुन्थ्यो भन्ने पौडेलजीहरुको चाहना हो । शेरबहादुरजीको पक्ष पार्टी विभाजन हुँदादेखि नै एकदम ‘इन्ट्याक्ट’छ । मलाई दुःख यस कुरामा छ, शेरबहादुर, रामचन्द्र दुवै मेरा समकालीन साथीहरु हुन् म शेरबहादुरलाई नै चारचोटि प्रधानमन्त्री भैसकिस, ०५७ सालमा गिरिजाप्रसादसँग र ०६७ सालमा सुशीलदाइसँग लडेर तैंले भूमिका बनाएको थिइस्, ०७२ पछि भइ पनि हालिस, अब तँ सिंगो पार्टीको सभापति हुनुपर्छ, त्यो अनुसार गर भन्छु ।

गिरिजाप्रसादसम्म पनि जेनतेन थियो, जुन वीपी, सुवर्ण शमशेर, गणेशमान, किसुनजीसम्म एउटा सर्वमान्य नेतृत्वको व्यक्तित्व थियो । ‘टावरिङ पर्सनालिटी’ थियो । नेपाली कांग्रेसलाई चाहिएको कुरा त्यो हो । एउटा ‘भिजनरी’ र गतिलो नेतृत्व नभएको हुनाले एउटै व्यक्तिलाई सर्वेसर्वा बनाउने परिस्थिति अहिले नेपाली कांग्रेसमा विद्यमान छैन । त्यसैले एउटा सामूहिक नेतृत्वको अवधारणामा जानुपर्छ । सामूहिक र संस्थागत निर्णय गर्ने परिपाटी बसाउन सकियो भने पार्टी राम्ररी चल्छ ।

कांग्रेसको पहिलो पुस्ता नरहेपछि दोस्रो पुस्तामा तपाईले भनेजस्तो ‘टावरिङ पर्सनालिटी’ निर्माण हुन नसक्नुको कारण के होला ?

जो पहिलो पुस्ता थियो र अहिले जुन पुस्ता दृश्यमा छ, त्यसको बीचमा अर्काे पुस्ता पनि थियो । त्यो पुस्ता बीचबाट नेपाली कांग्रेसका होनहार मानिसहरुको हत्या भयो । जस्तो सरोजप्रसाद कोइराला, योगेन्द्रमान शेरचन, दिवानसिंह राई । हामी त ०१७ सालपछिको पुस्ता । ००७ साल र ०१७ को बीचको पुस्ता उहाँहरु हुनुहुन्थ्यो । सरोज कोइरालाको मधुवनीमा हत्या भयो । रमाइलो झोडाकाण्डमा दिवानसिंह राईको हत्या भयो, जो वीपीसँगै जेल बसेका थिए र सहायक मन्त्री भइसकेका थिए । त्यस्तै अर्का सहायक मन्त्री योगन्द्रमान शेरचन पनि वीपीसँगै जेल बसेका मान्छे हुन्, उहाँलाई एउटा ड्राइभरले किचेरै मारिदियो । उहाँहरुको हत्याले शायद एउटा अलि ठूलो ‘ग्याप’ भयो । अर्काे कुरा हामी अलि बढी लोभीपापी भयौ कि ? स्वार्थी भयौ कि ?

के यस्तो पनि हुनसक्छ कि कांग्रेस पार्टीको पहिलो पुस्ताले राम्रो संस्कृति नबसालिदिएकोले कांग्रेसको अहिलेको पुस्ता बढी स्वार्थी र लोभीपापी भएको हो ?

०१७ सालपछिको हाम्रो पुस्ता स्वयं खतरा मोलेर आफै कांग्रेस भएको पुस्ता हो । कि त नेताहरु जेलमा कि निर्वासनमा हुनुहुनथ्यो । हामी पहाडियाका सन्तान, हामी पढ्न आएका विद्यार्थीहरु हक हितको आवरणमा प्रजातन्त्र स्थापनाको लागि कांग्रेसको दियो बाल्ने हामी । योगदान र योग्यताको कुरा गर्नुहुन्छ भने नेताहरुले ००७ सालमा गर्याभन्दा पनि बेशी थियो । ००७ सालको बेलामा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल थियो । त्यो चाँडै र अलि सहजै सफल भयो । वीपी ३६ वर्षको उमेरमा गृहमन्त्री भइसक्नु भा’थ्यो, मातृका ३९ वर्षमै प्रधानमन्त्री भइसक्नुभा’थ्यो । हाम्रो पुस्ता पनि एम.ए., बी.ए. र १२–१४ वर्ष जेल बसेको भन्दा घटी कोही पनि छैन । तर नेताहरुको सान्निध्यमा बसेर राम्रोसँग कोही पनि प्रशिक्षित हुन पाएन । हामीहरु धेरैजसो आफै कांग्रेस बनेका । वीपी उताबाट फर्किएपछि पनि गिरफ्तारीमा परिहाल्नुभयो । त्यही ०३६ सालदेखि ०३८ सालसम्म उहाँको नजिकमा बसेर प्रशिक्षित हुने मौका ज–जसले पायो, पायो । ‘ऐ ! राजतन्त्र मास्ने कुरा नगर है’ वीपी त ‘भिजनरी’ मान्छे । अन्तर्राष्ट्रिय जगतको, इण्डियाको ‘डिजाइन’ के छ उहाँलाई थाहा थियो । हामीले मूर्खतावश फालिदियौं । अहिले एउटा नौटंकी देखिइहाल्नु भो, कोरियाका मून दम्पत्तिहरुको ! पार्टीमा काजमा मान्छे ल्याउन खटाउन मिलेन । चीनबाट, भारतबाट अलिकति राम्रा मान्छे ल्याउँ भन्न मिलेन । हामी बिग्रिएकैहरु मध्येबाट सुधारेर लैजानुको विकल्प छैन । अर्काे कुरा ०१७ सालपछि हामी कांग्रेस त सबैजसो जेलमै हुन्थ्यौ । कोही ३ हजारको, कोही ५ हजारको जरिवानासहित । त्यो जरिवानाको रकम तिर्न नसकेर दिनको डेढ रुपैयाँ कट्टी हुने गरी जेल बसेका हामी त ! ज्यान सस्तो पैसा महँगो भएका मान्छे हामीहरु ! हाम्रो त्यही पुस्ता प्रजातन्त्र आएपछि धेरै समयसम्म सत्तामा बस्यौं । हामी केका निम्ति जेल बस्यौं ? लडाइ गर्याै ? राणा फाल्यौं, पञ्चायत फाल्यौं, राजाको तानाशाही ढाल्ने लडाइँ लड्यौं । यद्यपि यो गणतन्त्र प्रायोजित रुपमा आएको गणतन्त्र हो है फेरि ! जनताको आन्दोलनको कुरा होइन यो । तर पनि हामी केमा केन्द्रित भयौं भने सत्ता, पैसा र चुनाव । पैसा भएपछि चुनाव जितिन्छ भन्ने मानसिकताबाट ग्रसित भएर हामी आजको अवस्थामा आइपुगेका हौं ।

त्यही त नेपाली कांग्रेसलाई त प्रजातन्त्रको पर्यायवाची पार्टीको रुपमा हेरिंदै आएको हो नि ! मूल्यको राजनीति कहाँ हरायो ?

म पनि त्यही भन्दैछु, हेर्नुस् न कस्तो दिन आयो भने राम्रा मानिसहरु लोकप्रिय मानिसहरु यदि उनीहरुसँग पैसा छैन भने ‘टिकट चाहिंदैन’ भन्ने दिन आयो । मैले यद्यपि शेरबहादुरजीको आग्रह, उहाँ मेरो साथी नै हो, ‘चुनाव लड्नुहोस् त’ भन्नुभयो, मैले पैसा छैन लड्दिन भनिदिएँ । पैसा नभएर कांग्रेसले मात्र चुनाव नजित्ने कुरा हुँदैन रहेछ, ठेकेदार, व्यापारी, डनहरुले पनि नजित्दा रहेछन् । हामी नैतिक रुपले स्खलित कहाँ भयौ भने जो आदर्श र निष्ठाको राजनीति हो, चुनाव हारोस् वा जितोस् त्यो हामीले छोड्नु हुँदैन । दोस्रो कुरा गल्ती गरिन्छ, गल्ती गर्न पाइन्छ । हामीले गल्ती भो भन्ने हिम्मत गरेनम । प्रचण्डको छोरी बोक्नुको के काम थियो ? ती राप्रपाहरु बोक्नुको के काम थियो ? बाबुराम भट्टराई बोक्नुको के काम थियो ? फोरम राजपालाई बोक्नुको के काम थियो ? कांग्रेस त एक्लै लड्ने पार्टी हो । हाम्रो बाटो बिराइ नै के हो भन्देखि कम्युनिष्टहरुसँगको सैद्धान्तिक गठबन्धन ! पहिलो जनआन्दोलनदेखि नै मेरो विमति थियो । जुन गठबन्धनको प्रस्ताव वीपीले कहिल्यै स्वीकार्नु भएन । तपाईले सत्ताका लागि एकदम उग्र दक्षिणपन्थी, उग्रवामपन्थीसँग पनि तालमेल गर्नुभयो । उग्र बिखण्डनकारी तत्वसँग पनि हामीले जो तालमेल गर्याै, त्यो हामीलाई प्रत्युत्पादक भयो । त्यसैले यो महासमितिमा नेपालका अहिलेका राजनीतिक पार्टीहरुसँगको हाम्रो सम्बन्ध के भन्ने कुरा पनि छुट्याइनुपर्याे । हामीले सहकार्य गर्ने पार्टी त पहिले राष्ट्रवादी हुनुपर्याे, दोस्रो कुरा त्यो प्रजातन्त्रवादी नै हुनुपर्याे । कम्युनिष्टसँगको सम्बन्धले त हामीलाई फाइदा दिएन ।

तपाईले एउटा कांग्रेसी विचारधाराका जे जस्ता गम्भीर प्रसंगहरु उठाउनुभयो, कांग्रेसको यो महाधिवेशनले के ती एजेण्डाहरु ल्याउँदैछ ? अथवा फ्लोरबाटै त्यस्तो प्रस्ताव आउने सम्भावना कति छ ?

आधिकारिक रुपले केन्द्रीय समितिमा सभापतिज्यूको बहुमत छ । तैपनि केन्द्रीय समितिमा मेरोजस्तो राय राख्ने केही मानिस छन् । तिमीहरुले प्रस्ताव ल्याउ न भन्या छु मैले । ल्याए राम्रै भो, त्यो थपथाप हुन्छ । किसुनजी के गर्नुहुन्थ्यो भने कसले के बोल्छ उहाँलाई पहिल्यै थाहा हुन्थ्यो । एक दुई वटा विरोधीलाई पनि दिने अनि समर्थकलाई पनि दिने । शेरबहादुरलाई पनि को के भन्ने थाहा भैसक्या छ । त्यहाँ के कस्तो माहौल बन्छ ‘इण्डिभिजुअल बेसिस’ मा पनि कुरा त उठ्छ । हाम्रो पुस्ताका साथीहरु भनेको हामी सबै ७० कटेका ७५–७६ का भैसक्यौं । मेरो भनाइ के भने पुरानो पुस्ताको क्रियाशील अभिभावकत्वमा नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्छ । अहिले हामीले रुवाबासी गरेर एकले अर्काेलाई दोष दिने बेला यो हैन । महासमितिको बैठकले अहिले व्याप्त निराशालाई चिरेर जानुपर्छ । कांग्रेसलाई साथ दिंदैआएका बुद्धिजीवीहरुमा छाएको निराशालाई मेट्नुपर्छ, मतदाताहरुमा छाएको निराशालाई मेट्नुपर्छ ।

नेपाली कांग्रेसले नीतिगत गल्तीहरु गरेका कारण नेपालमा कम्युनिष्टहरु हावी हुने मौका पाए भन्ने एकथरि बुद्धिजीवीहरुको भनाइ रहँदै आएको छ, यो विषयमा यो महासमिति बैठकमा कांग्रेसले पुनर्विचार गर्ला ?

कांग्रेसले के गर्छ म जान्दिन । ‘रिथिंक’ हुनुपर्छ भन्ने मेरो जबर्जस्त आवाज छ । वीपीले ०३६ सालमा कम्युनिष्टहरुसँग गठबन्धन गर्न किन मान्नु भएन ? ०१५ सालमा १०९ सिटमध्ये ४ सिट मात्र जितेको त्यो कम्युनिष्ट जबकि कांग्रेसले ७४ सिट जितेको थियो । १९ सिट गोरखा परिषद्ले र ५ सिट के.आइ सिंहको पार्टीले जितेको थियो । त्यस्तो पुड्को कम्युनिष्टलाई ०४६ सालमा वीपीको लाइनको खिलाफमा गएर मिलेर आन्दोलन गरियो । वीपीको सधैंभरिको भनाइ के हो भने एक्लै आन्दोलन गरे पनि प्रजातन्त्र आउँछ । मनलागे उनीहरुले पनि आन्दोलन गर्छन् । ०३६ सालमा त्यसै भन्नुभयो, बहुदलको पक्षमा भोट माग्न उनीहरुलाई कसले रोक्या छ भनेर । तर उहाँकै उत्तराधिकारीहरुले कम्युनिष्टसँग लगनगाँठो गाँसे । ०४६/४७ मा त कांग्रेस ‘डोमिनेटेड’ आन्दोलन थियो । कांग्रेस पहिलो भयो कम्युनिष्ट दोस्रो । अर्काे कुरा जत्ति राजाले दुःख दिए पनि, ३ पुस्ता त्रिभुवन, महेन्द्र र वीरेन्द्र सबैले, वीपी राजसंस्थाप्रति कहिल्यै आलोचनात्मक बन्नु भएन । राजालाई प्रजातान्त्रिक हुनैपर्छ, संवैधानिक हुनैपर्छ नत्र मुलुक नै रहँदैन भन्ने अडान बाँचुञ्जेल लिनुभयो । उहाँकै भाइले झोकझाकमा जम्मै गर्नुभयो, दिल्ली जानुभयो, १२ बुँदे गर्नुभयो, माओवादी ल्याउनुभयो । मैले भन्न खोज्या के भने ०४६ सालको आन्दोलन कम्युनिष्टहरुसँग मिलेर गर्नु हाम्रो गल्तीको प्रस्थान बिन्दु थियो, वीपीकै भाइले माओवादीलाई १२ बुँदेबाट ल्याएर अन्तरिम संसदमा कम्युनिष्टको दुइतिहाइ संख्या पुर्याइदिनु भयो । ०४६ साल हाम्रो गल्तीको प्रस्थान बिन्दु थियो, ०६२/६३ हाम्रो गल्तीको चरमबिन्दु थियो । निष्पक्ष भएर एउटा कांग्रेसीको रुपमा मेरो ‘कमेन्ट’ यही हो । शुरुआत गणेशमानजी र किसुनजीले गर्नुभयो, उत्कर्ष गिरिजाबाबुले र स्वाहा भएको छ शेरबहादुरजीको पालामा । यसलाई अब जगाउनुपर्छ ।

तपाईले भनेजस्तो यो चेतनाले कांग्रेस जागृत भयो भने एउटा समय आउला कांग्रेस आफ्नो मौलिक स्वरुप र आकारमा फर्किएला । तर अहिले कम्युनिष्टहरुको ‘डोमिनेशन’ त डरलाग्दो छ नि ?

मैले अस्ति मेरो साथी सभापति देउवालाई भेटेको बेला भन्याथें बौद्धिक हिसाबको त गिरिजाबाबु पनि हैन सभापतिजी तपाई पनि हैन । गिरिजाबाबुले अस्ति माले मसाले मण्डले एक हुन् भन्नु भो । अरु सैद्धान्तिक रुपले त्यसको व्याख्या गर्नुभएन । ओलीजी ०७१ को प्रधानमन्त्री हुँदा म माले मसाले मण्डलेको प्रधानमन्त्री भएँ भन्नुभो । कमल थापादेखि चित्रबहादुर केसीसम्मको । त्यस्तै सभापतिजीले एउटा राम्रो कुरा गर्नुभयो, व्याख्या त गर्नु भएन तर भन्नुभयो, कम्युनिष्टहरुको सत्ता आएपछि रुन पनि पाइदैन भनेर । अधिनायकवादमा जान्छ भन्नुभयो । मैले उहाँलाई भनें पनि तपाईको यो कुरा र गिरिजाबाबुको त्यो कुरा मिल्यो है भनेर । उहाँ खुब खुशी पनि हुनुभयो । त्यस्तै मैले भन्न खोज्या के भने अहिले ओलीलाई वीपी कोइराला हुने मौका थियो, वीपीले ०१५ सालमा पाएजस्तै प्रचण्ड बहुमत थियो, अझ ओलीका न सन्तान न केही ! उहाँ पार्टी प्रमुख पनि प्रधानमन्त्री पनि । मरेर जाँदा लाने के ? तर उहाँले मौका गुमाउनु थाल्नु भो । गुमाइनै सक्नु भो भन्दा पनि हुन्छ । उहाँ प्रधानमन्त्री भएको ५/६ महिनापछि नै उहाँका मतदातामा समेत वितृष्णा पैदा भैसक्यो । उनीहरुले त सकेसम्म प्रेसमाथि ‘सेन्सरसीप’, विपक्षीमाथि असहिष्णु बन्नु स्वाभाविक छ । अस्ति यो मूनवाला गलत भयो है, क्रिश्चियनवाला भनेर लेख्ने, बोल्ने बुद्धिजीवी प्रोफेसरहरु, स्तम्भकारहरुमाथि प्रधानमन्त्री असहिष्णु बनेर खनिनुहुन्छ ? तर मलाई के थाहा छ भने नेपाली जनता राणाको होस् कि पञ्चायतको होस् निरंकुशताविरुद्ध खडा भएका जनता हुन् र कम्युनिष्टहरुको निरंकुशता पनि उनीहरुले सहने छैनन् । भारतीय नाकाबन्दीको बेला पनि देखियो नि नेपाली जनता प्रजातन्त्र र राष्ट्रियता माथिको धावा चाहे कम्युनिष्टले बोलोस् चाहे विदेशीले त्यसमा खरो उत्रिने हैसियत नेपाली जनताले राख्दछन् । कम्युनिष्टहरु मौका गुमाउँदैछन्, गर्न पनि केही सकिराछैनन् ।

भर्खरै मात्र प्रधानमन्त्री ओलीले योजना आयोगको बैठकलाई सम्बोधन गर्दै विदेशीहरुको ऋण अनुदान केही पनि लिनु हुँदैन, सित्तैमा पाए पनि लिनु हुँदैन भन्नु भएछ । उहाँको यो अभिव्यक्तिको अर्थ के हो जस्तो लाग्छ ?

०४८ सालपछि सबै राम्रो काम भयो म भन्दिनँ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भइसकेपछि उदार अर्थनीतिले प्रवेश पाएको हो । त्यो अर्थनीतिमा विश्व नै टिकेन हामी झन् के टिक्ने ? मित्रराष्ट्रहरुले उपहारका रुपमा बनाइदिएका बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना जो चीनले बनाइदियाथ्यो, वीपी प्रधानमन्त्री हुँदा रुसले बनाइदिएको जनकपुर चुरोट कारखाना अनि चीनले बनाइदिएको ईंटा टायल कारखाना जुन नेपाली कच्चा पदार्थले चल्ने उद्योगहरु हामीले बेच्यौं, त्यसमा गल्ती गरेकै छौं । तर उदार अर्थ व्यवस्थाका उपलब्धिहरु पनि छन्, हिजो एउटै एयरलाइन्स थियो आज कति धेरै छन्, हिजो २/३ वटा सरकारी बैंकहरु थिए, आज कति धेरै बैंकहरु खुलेका छन्, हिजो टिचिङ एउटा मात्र मेडिकल कलेज थियो, आज कति धेरै छन् । यो कांग्रेसले बसालिदिएको जग थियो । यही जगमा मनमोहन, माधवकुमार, प्रचण्ड, झलनाथ, बाबुराम, केपी ओली सबैले आ–आफ्नो अर्थनीति चलाउनु भयो क्या रे ! त्योभन्दा त बाहिर जान सक्नु भा’छैन । हावादारी गफ गरेर मात्र हुन्छ र ? राम्रो मोटर बाटो बनाउन सक्या छैन चीनको रेल ल्याउँछु, भारतको पानीजहाज ल्याउँछु भनेर हुन्छ र ? चीनका नाका खोल्नु भो ठीक छ, तर के तपाईलाई थाहा छ, रसुवागढीबाट ५ हजार माइल टाढा पर्छ, चीनको सबैभन्दा नजिकको बन्दरगाह । भारतको विशाखापट्टनम यहाँबाट १५ सय माइल पर्छ । तातोपानीको बाटो लड्यालड्यै छ । सपना त उहाँले के बाँड्नु भएन ? तर बनाउने कले त, केले त ? विदेशी ऋण नलिने, सपना चाहीं ठूलो देख्ने ? ढाँटको कुरा कतिञ्जेल चल्छ ?

त्यस्तो ऋण, अनुदान उहाँले साँच्चै लिन नचाहनु भएको होला कि अथवा त्यस्तो ऋण अनुदान नै पाइराख्नु भएको छैन ?

‘वृद्ध वेश्या तपस्वीनी’ भन्छन् । वेश्या मान्छे बुढी भएपछि जोगिनी, तपस्वीनी हुनुपर्याे नि त ! अहिलेको सरकारको हाल कसैले पत्याएका छैनन् । स्थीर सरकार भन्या छन् । तर केही कुुराको सुरक्षा छैन । मान्छे मारिएका छन्, निर्मलाकै कुरा भन्नुस् । डा.गोविन्द केसी पक्षधरहरुले यो सरकारको विश्वास किन गर्ने ? सिण्डिकेटको कुरा हेर्नुस्, एनसेल घोटाला हेर्नुस् । कति किलो त सुनकै कुरा थियो । अहिले नेपाल वायुसेवा निगमको भ्रष्टाचारको कुरा उठ्या छ । जबसम्म सुरक्षाको ग्यारेन्टी हुँदैन, भ्रष्टाचारको डर रहिरहन्छ को लगानी गर्न आउँछ ? विदेशी न स्वदेशी !

भर्खरै प्रचण्डको एउटा अभिव्यक्ति आएको छ– पूर्वराजा ज्ञानेन्द्र होटलमा नाच्दैमा राजतन्त्र फर्कदैन भनेर । पूर्वराजा एउटा पारिवारिक जमघटमा नाचेको घटनालाई लिएर उनले यति गम्भीर प्रतिक्रिया किन दिएका होलान् ?

विद्यार्थीकालदेखिको मेरो एउटा भोगाइ छ, पञ्चायतकालमा चर्काे चर्काे नारा दिने क्रान्तिकारी कुरा गर्ने राम्रै मान्छे रहेछ जस्तो लाग्थ्यो । ती मान्छे हामीसँगै पक्रन्थ्यो । अनि उनीहरु नै जेलमा पनि हाम्रो रिपोर्ट गर्थे । जो धेरै चर्काे कुरा गर्छ, त्यो झन् रहस्यमयी हुन्छ, एक । दोस्रो यी अतिवादीहरु आपसमा मिल्ने सम्भावना बढ्ता हुन्छ । जस्तो कांग्रेस मध्यबिन्दु भयो कम्युनिष्ट र राजा दुई छेउ भए । अब एउटा बेतको लौरालाई तपाईले बेस्सैसँग मोड्नुभयो भने मिल्ने त दुईटै छेऊ नै हुन् । त्यो पनि हुनसक्छ । अर्काे राजतन्त्र त हामीले ०६५ सालमै बिदा गरिसक्यौ नि । तैपनि राजा कहीं जाँदा तर्सिने किन त ? यदि आफू सक्षम र बलियो छ भने राजतन्त्रसँग तर्सनुपर्ने केही कुरा छैन । बाहिरी परचक्रीहरुको एजेण्डा बोकियो भन्ने ‘रियलाइजेसन’ पो हो कि ? गणतन्त्रवादी आन्दोलनकारीहरुले शासन व्यवस्था आफूले राम्रोसँग सञ्चालन गर्न नसक्ने, त्यो आउँदैछ– त्यो आउँदैछ त्यसकारण हामीले गर्न नसक्या भनेर थोपर्ने सुविधा अहिलेका सत्तारुढहरुलाई छैन । सफल भए पनि असफल भए पनि उहाँहरुकै आफ्नै कारणले हो । राजासँग तर्सनुपर्ने अनुमान मेरो के हो भने प्रजातन्त्र ल्याउनेहरुको लोकप्रियता घट्या छ, सबै दलको, मेरै पार्टीको पनि । जनता त जनता नै हो नि भ्रष्टाचार देख्छन्, बेथिति देख्छन् तलब खर्च देख्छन्, विदेशीको चलखेल देख्छन् अनि राजा आउँदा त सजिलो थियो भन्ने मानिहाल्छन् । राजाको पालामा शक्तिकेन्द्र, आर्थिक केन्द्र एकै ठाउँमा मात्रै थियो, अहिले त पार्टीपिच्छे दश–आठ वटा राजा छन् । हाम्रा राजनीतिक दलहरुको अकर्मण्यता र अलोकप्रियताले स्वाभाविक रुपमा राजा आए वेश हुन्छ भन्ने भावना पनि विकसित हुँदैछ । अर्काे एउटा कुरा तपाई मान्नुस् यत्रो ९४ प्रतिशत ओमकार परिवार भएको हिन्दूराष्ट्रका बारे जनमत संग्रह गरेर टुंगो लगाइदिए भैहाल्यो नि । आँट छ र ? छैन नि । हो यी सबै कारणले गर्दा राम्रो काम गर्न नसक्या कारणले गर्दा सिध्याइसकेको राजतन्त्रको भूत देखे पनि तर्सनुपर्ने खण्ड आयो ।

दलहरुको असफलताको तपाईले चित्रण गर्नुभयो, दलहरुको असफलताको विकल्प त राजतन्त्र नै त होला नि ?

त्यही म भन्दैछु । दुइटा छ, दलहरुको शासन हेर्याै, राजाको पनि हेर्याै । कांग्रेसको पनि हेर्याै, एमालेको पनि हेर्याै, माओवादीको पनि हेर्याै सबैको हेर्याै । यदि मुलुकमा बेथिति बढ्दै गयो भने दुईटा विकल्प छ । एउटा हामी नेपालीले चाख्न नपाएको सैनिक शासन । अर्काे सुध्रिएर आएको राजतन्त्र । पहिलोको जस्तो राजतन्त्र त अब आउँदा पनि आउँदैन, चल्न पनि चल्दैन । त्यसो त राजतन्त्र हामीले हटाएको पनि हैन । हामी नेपालीहरु त निमित्त मात्र हो । परचक्रीहरुले हटा हो । राजतन्त्र लोकप्रिय हुने अहिलेको भावभूमिको सृजना फेरि हामीले नै गर्या हो । राजतन्त्र समाप्त पार्ने भावभूमि राजाले नै तयार पारे । अधिकार आफ्नो हातमा लिएर । ०६१ माघ १९ मा । अहिले काम गर्न नसकेर राजतन्त्र फर्किने भावभूमि हामीले नै तयार पार्या जस्तो लाग्छ । एउटा असफल राष्ट्रका संकेतहरु जे–जे हुन् भ्रष्टाचार, अशान्ति, असुरक्षा जसले जे गरे पनि हुने अराजकता, विकास छैन, निर्माण छैन ती सबै देखा परिसकेका छन् । हाम्रो स्वाभिमानपूर्ण असंलग्न परराष्ट्र नीति अहिले खुम्चिंदा खुम्चिंदा मोदी र सी जिन पिङमा सीमित भा छ । त्यसतर्फ हाम्रो ध्यान गम्भीर रुपले जानुपर्दछ । राणाहरुलाई जति गाली गरे पनि उनीहरुले ब्रिटिशहरुको चाकडी नै गरेर भए पनि हाम्रो सार्वभौमसत्ताको रक्षा त गरेका थिए नि ! वीपी प्रधानमन्त्री हुँदा पनि हाम्रो परराष्ट्र नीति स्वाभिमानयुक्त थियो । त्यो बेला ठूलो नेपाल र अहिले सानो नेपाल भा हो र ? पहिला त मुलुक चाहियो नि ! नियतिले हामी बाँच्न लेखेको छ भने त्यतातिर नगैकन सुखै छैन ।

समाचार साभार :नवचेतना
तस्बिर ” सौर्य अनलाइन

प्रतिक्रिया