मंगलबार, साउन २४ २०७९
काठमाडौं १४:२१
वासिङटन डिसी 04:36

हिन्दु धर्मको जगेर्ना कि पार्टीको जगेर्ना?

इनेप्लिज २०७५ पुष ९ गते २३:०४ मा प्रकाशित

 

आजभोली धर्मको चर्चा ज्यादै सुनिन् थालिएकोछ। केही नेताज्युहरुमा हिन्दु धर्मप्रति अगाध आस्था बढेको छ भने केही नेताज्युहरुमा अन्य धर्मप्रति मोह बढेको छ। जसले जति घांटी सुकाएपनि नेपाली समाजमा धर्मप्रति आस्था घटेको छैन भन्ने कुरा मठमन्दिरमा लाग्ने भीडले र धुमधामले चाडपर्व मनाउने परम्पराले प्रमाणित गरिदिन्छ। धर्मको लडाई र विवादमा कहिल्यै नफसेको नेपाललाई अब बिस्तारै यो विवादमा तानेर र एकपछि अर्को पृष्ठभूमि तयार गरेर धार्मिक लडाई लडाएर शान्ति खल्बलाउने प्रयास प्रत्यक्ष र अप्रत्यक्षरुपमा शुरु भएकोछ।

एकातिर हिन्दु धर्मको रक्षाको लागी आवाज उठिरहेको छ र त्यही धर्म रक्षाको आवाज उठाउनेहरु कर्मकाण्डलाई घटाएर वा हेरफेर गरेर धर्म परिमार्जन गर्न तर्फ लागेकाछन। यसबाट यो प्रस्ट हुन्छ कि हिन्दु धर्मको ज्ञान भएका दिग्गज नेपालमा ज्यादै थोरै छन्। धर्मको उत्पत्तिसंगै धर्मशास्त्रको उत्पत्ति भएको हुदा धर्मशास्त्रको परिमार्जन कुनै संविधान र विध्येक जसरी हेरफेर गरिदैन। जसलाई आस्था छ उसले धर्मको पालना गर्छ, जसलाई छैन ऊ नास्तिक बन्छ।

दुखलाग्दो कुरा, हिन्दु धर्ममा हिन्दु धर्मालम्बीहरुले धर्मग्रन्थ पढ्नैपर्छ भन्ने अनिवार्यता छैन। पुरोहितहरुले गरेको पाठ र त्यसको व्याख्या सुनेपुग्छ। पुरोहितज्युहरुलाई पनि कुनै शैक्षिकस्तर तोकिएको छैन। पुरेत्याईलाई पेशाको रुपमा लिइन्छ, यस तर्फ कसैको ध्यान गएको देखिदैन। संस्कृत भाषामा लेखिएको धर्मग्रन्थहरुको रक्षा गर्न संस्कृत भाषाको जगेर्ना र प्रवर्धन गर्नु पर्नेमा उल्टै संस्कृत भाषालाई पाठ्यक्रमबाट हटाउनु तत्कालीन शासकहरुको सबैभन्दा ठुलो मुर्खता थियो। संस्कृत भाषालाई पाठ्यक्रमबाट हटाउनुको सट्टा नेपाल भाषा, मैथली भाषा र अन्य भाषालाई पाठ्यक्रममा समावेश गर्न सक्नुपर्थ्यो। शिक्षाले भ्रम सिर्जना गर्दैन, शिक्षाले ज्ञानको बोध गराउछ।

विदेशमा प्राथमिक विध्यालयस्तरबाट नै अनिवार्य धार्मिक शिक्षा दिइन्छ। बिध्यार्थीहरुलाई उनीहरुले मान्ने धर्मको आधारमा धार्मिक कक्षामा पठाइन्छ तर हाम्रो समाजमा धार्मिक शिक्षा लियोभने समाज भाडिन्छ भन्ने जस्तो मान्यता छ। संकुचित विचार, छुवाछुत र भेदभावलाई धर्मशास्त्रभन्दा बाहिर गएर र धर्मशास्त्रको कपोलकल्पीत व्याख्या गरेर धर्मको बदनाम स्वंयम हिन्दु धर्मालम्बीहरुबाट भएको छ। यिनै  कारण हिन्दु धर्म क्रिश्चियन, मुस्लिम र बौध धर्म भन्दा निकै पछाडी परेको छ।

भारतीय कालगणनाको अनुसार समयलाई चार युगमा बाढीएकोछ। सत्ययुग, त्रेतायुग, द्वापर युग र कलियुग।

सनातन मान्यता अनुसार वेदकाे विभाजन रामचन्द्रकाे जन्मपूर्व पुरूरवा ऋषिकाे समयमा भएकाे हाे । कालान्तरमा अथर्वा ऋषिले अथर्ववेदकाे रचना गरेका हुन् । कतिपय विद्वानहरूका मतमा चाँहि श्रीकृष्णकाे समय द्वापरयुगकाे समाप्तिपछि महर्षि वेदव्यासले वेदलार्इ चार भागमा विभाजन गरी व्यवस्थित गरेका हुन् । उनले यी चार भागकाे शिक्षा क्रमशः चार शिष्यहरू पैल, वैशम्पायन, जैमिनी र सुमन्तुलाई दिए । त्यस क्रममा उनले पैललाइ ऋग्वेद, वैशम्पायनलाइ यजुवेद, जैमिनीलाई सामवेद तथा सुमन्तुलाऊ अथर्ववेदकाे जिम्मेवारी दिए । यसकाे अाधारमा भन्दा वेद लिखित रूपमा अाजभन्दा ६५०८ वर्ष पुरानाे ग्रन्थ हाे । यसलार्इ पनि साेझै नकार्न सकिँदैन किनभने श्रीकृष्ण अाजभन्दा ५११२ वर्ष अगाडि यस धर्तीमा भएकाे तथ्य फेला परिसकेकाे छ । वेदका चार विभाग छन्: ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । ऋग-स्थिति, यजु-रूपान्तरण, साम-गति‍शील र अथर्व-जड । ऋक भनेकाे धर्म, यजुः भनेकाे मोक्ष, साम भनेको काम, अथर्व भनेको अर्थ पनि मानिन्छ । यसैका आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रकाे रचना भएकाे हाे ।

ऋषिमुनिहरुद्वारा गहन विचार गरेर जून ज्ञान प्राप्त गरे त्यसलाई वेद भनियो । त्यही वेदको अंतिम भागलाई उपनिषद भनिन्छ । मनुष्य जीवनको विशेषता मनुष्यमा रहेको बौद्धिक क्षमता नै हो र उपनिषदमा निहित भएको ज्ञान मनुष्यको उच्चतम अवस्था हो यसबाट मनुष्य आफ्नो बुद्धिको सीमा भन्दा परको अवस्थालाई प्राप्त गर्छ त्यहि ज्ञानलाई औपनिषदिय ज्ञान भनिन्छ त्यही ज्ञानलाई सामान्य अर्थात उपनिषदको कठिन अर्थलाई सामान्यरूपले दर्शाउन वेद व्यासले भगवद्गीता संक्षिप्त रूपमा प्रस्तुत गरेका छन् ।त्यसैगरी महर्षि वाल्मीकिले त्रेता युगमा रामायणको रचना गरेका हुन भन्ने विश्वास रहेको छ ।

यो धर्मको विवाद शुरु गर्नु अघि र जनतामा धर्मिक भ्रम सिर्जना गर्नु अघि राजनैतिक नेता र पार्टीहरुले आफुलाई सच्चा हिन्दु र हिन्दुधर्मालम्बी भएको प्रमाणित गरेर यो विवाद अगाडी बढाउदा राम्रो हुन्छ।

(विभिन्न श्रोतको सहयोगमा तयार पारिएको)

बाबा राजेश्वरी थापा

भियना, अस्ट्रिया

 

 

प्रतिक्रिया