काठमाडौं, ६ पुस । पत्नीसहित पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष कमल थापाको लन्च मिटिङको तयारी भएको छ ।
हिन्दु राज्य र राजसंस्थाको मुद्दालाई सडकसम्म लैजाने तयारी गरेको राप्रपाका अध्यक्ष थापा र सहानुभुतीको जनमत पाएका पूर्वराजाबीच हुने लन्च मिटिङलाई राजनीतिक रूपमा पनि अथ्र्याउन थालिएको छ ।
पूर्वराजा दुई साताका लागि केही दिन अघि पोखरा पुगेका थिए । उनलाई स्थानीयले भव्य स्वागत गरेका थिए । अझ एक सातासम्म पोखरा बसाईका क्रममा पूर्वराजाले राजनीतिकदेखि नागरिक संवाद गर्दै धार्मिक स्थलको भ्रमण गर्नेछन् ।
थापा भने कार्यकर्ता प्रशिक्षणका लागि विहीबार पोखरा पुगेका थिए । पूर्वराजासँग लन्च मिटिङ हुनसक्ने उनले खुलाएका थिए । निर्मलनिवास स्रोतका अनुसार थापासँगको भेटमा हिन्दु अभियान र राजसंस्थाका विषयमा कुराकानी हुनेछ ।
गण्डकी स्तरीय कार्यकर्ता प्रशिक्षणका लागि पोखरा पुगेका थापाले राजसंस्थाको खुुलेर तारिफ गरेका छन् । पूर्वराजा शाहलाई पोखरामा दिइएको सम्मान र स्वागतले आस्थामा बढोत्तरी भइसकेको पनि भन्न भ्याए । त्यतिमात्र होइन, हिन्दु राज्य र राजसंस्थाका लागि आन्दोलन गर्नुपर्ने विषयमाथि कार्यकर्ता प्रशिक्षणमा थापाले बोल्ने तयारी भएको छ ।
पूर्वराजाको पोखरा बसाई अंग्रेजी नयाँ बर्षसम्मका लागि हुनेछ । उनले पोखराका जनतासँग केही समय बिताउने बताएका थिए । त्यतिमात्र होइन, जनताले बोलाएको ठाउँमा आफू उपस्थित हुने सटिक जवाफ पनि दिएका थिए ।
प्रतिक्रिया