अमेरिकाका ठूला सहरमा हत्या घट्यो

यादवराज जोशी २०७५ पुष ५ गते ११:२० मा प्रकाशित

सन् २०१८ मा अमेरिकामा हत्या र अपराध घटेको ब्रेनन सेन्टर फर जस्टिसको हालैको प्रतिवेदनले देखाएको छ । यो वर्ष अमेरिकाका ३० ठूला सहरमा हत्याको दर सन् १९९० पछिको सबैभन्दा कम देखिएको छ । ब्रेनन सेन्टर फर जस्टिस सार्वजनिक नीति क्षेत्रको थिंक ट्यांक हो ।

सन् २०१८ मा हत्याको दरमा ६ प्रतिसतले गिरावट आएको छ, अनुसन्धाता अमेस ग्रावेट र क्यामरुन किम्बलले जनाएका छन् । हत्या दरसंगै समग्र अपराधमा पनि कमी आएको छ । समग्र अपराध १.८ प्रतिसतले घटेको छ । यो दर सन् १९९० पछिको सबैभन्दा कम हो, अध्ययनमा भनिएको छ ।

शिकागो र सनफ्रान्सिस्कोमा हत्या दरमा उल्लेख कमी आएको छ भने बल्टीमोरमा सापेक्षित सुधार भएको छ । सबै ठूला सहरमा हत्याको दर घटेको छैन । अमेरिकाको राजधानी वासिड.टन डिसीमा हत्याको दर ३९.५ प्रतिसतले बढेको छ । यसैगरी, ह्युसटनमा हत्या २२.६ प्रतिसतले बढेको छ ।

सन् २०१६ पछि मात्र अमेरिकामा हत्या, हिंसा र अपराध घटन थालेको हो । सन् २०१५ सम्म हत्या र अपराधको दर बढने क्रममा थियो । हत्या तथा अपराध घटनुमा केन्द्रीय सरकारको भुमिका निकै कम हुने भएकोले स्थानिय निकायको क्रियाशीलताले यो उपलव्धी हासिल भएको अध्ययनमा उल्लेख गरिएको छ । केही राजनीतिज्ञले यसको जस ट्रम्प सरकारलाई दिने गरेका छन् तर यसमा केन्द्रिय सरकारको भुमिका छैन, अध्ययनमा भनिएको छ ।

अमेरिकामा सन् १९६० को दशकमा हत्याको दर प्रति एकलाखमा पाँच थियो । यो संख्या बढदै गएर सन्
१९८१ मा एकलाखमा ११ पुगेको थियो । त्यसपछि सन् १९९० सम्म हत्या घटेको थियो । सन् १९९० मा ९ प्रति एकलाख थियो । गत वर्ष हत्या दर ५ प्रति एकलाख थियो ।

हत्याको दर घटबढमा एउटा मात्र घटनाले पनि प्रभाव पार्ने गरेको छ । उदाहरणको लागि सन् २०१७ मा लस भेगासमा हत्या दर २२.६ प्रतिसतले बढेको पाइएको थियो किनकी उक्त वर्ष एउटै गोलीबारीको घटनामा ५८ जनाको हत्या भएको थियो ।

स्रोतः ब्रेनन सेन्टर फर जस्टिस

प्रतिक्रिया