सरकार र कम्युनिष्ट पार्टीप्रति काँग्रेसको खरो आलोचना

इनेप्लिज २०७५ मंसिर २५ गते १२:३२ मा प्रकाशित

काठमाडौँ, २५ मंसिर । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले नेपालका कम्युनिस्ट पार्टी र वर्तमान सरकारविरुद्ध कडा टिप्पणी गरेको छ ।मंगलबार केन्द्रीय समिति बैठकमा पेश गरिएको राजनीतिक प्रस्ताव मस्यौदामा काँग्रेसले सरकार र कम्युनिष्ट पार्टीको खरो आलोचना गरेको हो ।

कांग्रेसले देशलाई तीव्र विकासको गतिमा लैजान सक्ने क्षमता प्रधानमन्त्रीमा नदेखिएको बताएको छ। विगतका प्रधानमन्त्रीहरुलाई भन्दा वर्तमान प्रधानमन्त्रीलाई सहज राजनीतिक वातावरण प्राप्त भए पनि कुशल राजनीतिक क्षमता नदेखिएको आरोप लगाएको हो ।

‘तुलनात्मक रुपले सहज राजनैतिक वातावरणको सदुपयोग गरेर देशलाई तीव्रतर विकासको गतिमा लैजान सक्ने कुशल शासकीय क्षमता र नेतृत्व उहाँमा देखिएको छैन’, मस्यौदामा भनिएको छ।

सर्वत्र अनुभूत गरिएको अधिनायकवादको आशंकालाई खण्डित गर्नेभन्दा सरकारको शैली र व्यवहारले यसलाई पुष्टि गर्ने वस्तुगत आधार प्रदान गरेको मस्यौदामा उल्लेख छ।

त्यसका लागि उसले पाँच वटा आधार व्यक्त गरेको छ– संघीयताप्रति उदासिनता, संविधानप्रति अपनत्व विस्तारमा अवरोध, प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रीकरण, विरोधी स्वर नियन्त्रणको प्रयत्न, सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप।

यस्तै नेपालका कम्युनिष्ट पार्टीहरु तत्कालीन राजा महेन्द्रको संरक्षणमा हुर्किएको अरोप लगाउँदै  कांग्रेसले कम्युनिष्टहरुमा लोकतन्त्रप्रति विश्वास नरहेको जनाएको छ ।

‘पुष्पलाल र उनका अनुयायीहरू संसद प्रतिस्थापनको मागमा काँग्रेससँग सहमत भई संघर्षमा संलग्न भएपनि २०१८ पछि विभिन्न चिरामा विभाजित बहुसंख्यक कम्युनिष्ट समूहहरू राष्ट्रियताको तथाकथित नारामा प्रत्यक्ष–अप्रत्यक्ष राजा महेन्द्रको संरक्षणमा हुर्किएका हुन् । २०३६ सालको जनमत संग्रहमा समेत कम्युनिष्टहरू विभाजित नै रहे र उनीहरुको ठूलो तप्का पञ्चायतको पक्षमा प्रयोग भयो’,  दस्तावेजमा भनिएको छ ।

काँग्रेसले हाल संसदमा दुई तिहाइको शक्ति आर्जन गरेको नेपाल कम्युनिष्ट पार्टीलाई लोकतन्त्रको आवरणमा एकपछि अर्को गर्दै संविधानको भावना र मर्ममाथि प्रहार गरी शक्तिको दुरुपयोग गर्न थालेकोले उसको लोकतन्त्रप्रतिको विश्वास र निष्ठामा शंका गर्नुपर्ने अवस्था रहेको जनाएको छ ।

‘संसदमा दुई तिहाई सरहको शक्ति आर्जन गर्नासाथ लोकतन्त्रको आवरणमा  सत्तासीन नेपाल कम्युनिष्ट पार्टी एकपछि अर्को गर्दै सम्विधानको भावना र मर्ममाथि प्रहार गरी शक्तिको दुरुपयोग गर्न लागेको हुनाले उसको लोकतन्त्रप्रतिको विश्वास र निष्ठामा शंका गर्नुपर्ने अवस्था सिर्जना भएको छ ’ काँग्रेसले आफ्नो प्रस्तावित दस्तावेजमा भनेको छ ।

कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदामा एमाले र माओवादीको एकतालाई पनि रुचाइएको छैन। ‘सत्ता प्राप्तिका लागि एक हुने, सिद्धान्तको आवरण विस्तारै गाँस्दै जाने र जे-जस्तो उँट बन्ला त्यसलाई आजको माक्र्सवादको विल्ला भिराइदिने, यो रणनीतिले चुनावी सफलता त मिल्यो, तर यसको दुष्परिणाम र द्विविधाले सरकारको गतिलाई गहिरोसँग प्रभाव र दबाबमा राखेको स्पष्ट देखिन्छ’, मस्यौदामा भनिएको छ।

आजको नेपाल कम्युनिष्ट पार्टीका रुपमा विकसित तत्कालीन माले, मसाल र अरु केही कम्युनिष्ट पार्टीले निर्दल बहुदल एकै हो, जनमत संग्रह धोका हो भन्ने नारा लगाउदै उनीहरुले बहुदलका पक्षमा सक्रिय नेता, कार्यकर्ता र आम नागरिकमाथि आक्रमण गरेका काँग्रेसको आरोप छ ।

‘हेटौंडामा लौहपुरुष गणेशमान सिंहमाथि भएको आक्रमण प्रामाणिक उदाहरण हो तर नेपाली काँग्रेसको आह्वानमा २०४६ को जनआन्दोलनमा संयुक्त वाममोर्चामा संगठित भई आन्दोलनमा सहभागी हुनु र कार्यगत एकता मार्फत प्रजातन्त्र पुनःस्थापनाको संघर्षमा समाहित हुनु नेपाली कम्युनिष्ट आन्दोलनको सकारात्मक परिवर्तन थियो’ काँग्रेसको दस्तावेजमा भनिएको छ –‘तर त्यस  समयमा पनि कतिपय कम्युनिष्ट समूह काँग्रेसको नेतृत्वभन्दा पृथक रही उग्र नारामार्फत आन्दोलन असफल गराउन सक्रिय भएका थिए । उनीहरु २०४६ को परिवर्तनविरुद्ध सशस्त्र हिंसामा नै उत्रिए ।’

प्रतिक्रिया