निर्मलाका बलात्कारी र हत्यारा पत्ता लागिसक्यो, ४ दिनभित्रमा सार्वजनिक गर्छौँ : प्रहरी प्रवक्ता

इनेप्लिज २०७५ मंसिर २४ गते २:३६ मा प्रकाशित

उत्तमराज सुवेदी, प्रवक्ता, नेपाल प्रहरी

मुलुकमा हत्या हिंसा र बलात्कारका घटना दिनप्रतिदिन बढिरहेको छ । कतिपय घटनाका दोषी लामो समयसम्म पत्ता नलाग्दा नेपाल प्रहरी आलोचित हुँदै गएको छ । के नेपाल प्रहरी असफल नै भएको हो त ? निर्मला पन्त प्रकरणको अनुसन्धान कहाँ पुग्यो ? यिनै विषय वस्तुमा केन्द्रित रहेर ऋषि धमलाले नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

निर्मला पन्तको बलात्कार र हत्या भएको ४ महिना नाघिसक्यो । प्रहरीको अनुसन्धान कहाँ पुग्यो ?
सबै क्षेत्र र पाटोबाट अनुसन्धान भइरहेको छ । अपराधी पत्ता लगाउनका लागि सबै संयन्त्र प्रयोग भइरहेको छ । आशंका लागेका व्यक्तिहरुमाथिको अनुसन्धान तीब्र गतिमा अगाडि बढेको छ । अनुसन्धानको दायरा साँघुरो हुँदै गएको छ । अब अनुसन्धान चाँडै टुँङ्गिन्छ ।

अपराधीलाई कहिले सार्वजनिक गर्नुहुन्छ ?
हाम्रो प्रयास भनेको जतिसक्दो चाँडो अपराधीलाई सार्वजनिक गर्ने हो ।

अपराधी पक्राउ परिसकेको हो ?
त्यस्तो त होइन, तर अनुसन्धानको दायरा साँघुरो हुँदै गएको छ । चाँडै नै निष्कर्षमा पुग्छौँ ।

प्रदिप रावल पक्राउ परेका छन्, उनीमाथिको अनुसन्धान कहाँ पुग्यो ?
निर्मला प्रकरणमा धेरै व्यक्तिहरुमाथि छानविन भइरहेको छ । अनुसन्धानको दायरा सानो बनिसकेको छ । पक्राउ परेकाहरुमाथिको अनुसन्धानबाट दोषी पत्ता लगाउने प्रयास गरिरहेका छौँ । सत्यतथ्य बाहिर निकाल्नका लागि हामी अहोरात्र खटिरहेका छौँ ।

प्रदिप रावलले बलात्कार र हत्या गरेको स्वीकार गरेका हुन् ?
त्यस्तो आधिकारिक कुरा आइसकेको छैन । अनुसन्धान नसकिदै केही भन्न मिल्दैन ।

निर्मलाको सामुहिक बलात्कार भएको पुष्टी भएको हो ?
यो कुरा अनुसन्धानकै क्रममा छ । अहिले नै भन्दा अनुसन्धान प्रभावित हुन सक्छ । हामीले २–४ दिनभित्रमा नै अपराधी सार्वजनिक गर्ने प्रयासमा छौँ ।

कञ्चनपुरबाट पनि ४ जना पक्राउ परेका हुन् ?
अहिले यति मात्रै भन्छु कि धेरैजनामाथि अनुसन्धान जारी छ ।

निर्मला पन्तको न्यायका लागि भन्दै टाँसिएको पोष्टर प्रहरीले किन च्यात्यो ?
विरोध कार्यक्रमको पोष्टर च्यात्ने वा रोक्ने नेपाल प्रहरीको मनसाय होइन । तत्कालिन अवस्थामा अन्तराष्ट्रिय सम्मेलन भइरेको समय भएकाले सुरक्षाका लागि गरिएको हो । सवारी आवागमनमा बाधा नपुगोस् भनेर त्यस्तो गरिएको हो ।

निर्मला पन्तको पोष्टर च्यातेर तपाईहरुले के फाइदा लिनुभयो त ?
कुनै फाइदाका लागि गरिएको होइन । त्यसबेलाको परिस्थितीअनुसार हामीले जिम्मेवारी बहन गरेका मात्रै हौँ ।

प्रतिक्रिया