हाम्रो सानो “ क्रिसमस रूख”

शशी के.सी २०७५ मंसिर २३ गते १२:१३ मा प्रकाशित

पोहोर साल क्रिसमस सकिए पछि थन्काएको हाम्रो सानो”क्रिसमस रूख”फेरी निकाल्ने बेला भइ पो सकेछ । समय बित्न केही बेर नलाग्ने। खासमा हामी हिन्दु धर्मावलम्बी हौ , तर पनि म बर्षै पिच्छै यो रूख घरमा सजाउने गरेको छु । यो रूख सजाउनुको नि आफ्नै कथा छ। कुरा सन २००१ को क्रिसमस तिरको, हाम्रो पहिलो क्रिसमस अमेरीकामा,आजभन्दा १७ बर्ष अगाडीको हो।

“हुन त नेपालमा म पढेको स्कुलमा कहिलेकाही जिजस सम्बन्धी प्रवचन, फिल्म तथा जाडो महिनाको २ महिने छुट्टीमा होस्टेलबाट घर जानु अगाडी फिनल्यानबाट आएको सिस्टरहरू(नर्स) जो स्कुलको सानो अस्पताल हेर्नु काम गर्नु हुन्थ्यो । उँहाहरूले क्रिसमसमा नाचगान, खानपिन, र केही उपहारहरू सबैलाई दिएर मनाउने गरेकोले , क्रिसमस किन मनाइने रहेछ भन्ने केही जानकारी चैं थियो मलाई ।”

छोरा ३ बर्षको थियो । बिहान एउटा र बेलुका अर्को प्रि स्कुल जान्थ्यो। क्रिसमसको समयमा कहिले के कहिले के अर्नामेन्ट बनाएर लेराउँथ्यो अनि भन्थ्यो “ क्रिसमस रूख” मा राख्ने । अब भरखर नेपालबाट आएको ३-४ महिना भएको ,डलर बराबर कति नेपाली पैसा हिसाब गर्ने बानी छुटी सकेकै थिएन , केही खेलौनाहरू छोरालाई तथा अरू आवश्यक सामानहरू उपहार भनेर आफुलाई किनेको त थियौं ,रूख त किनेनौ ।

क्रिसमसको दिन बिहान छोरालाई उपहार दिएको त रून पो थाल्यो, खोइ हाम्रो” क्रिसमस रूख “ खोइ मैले बनाएको अर्नामेन्ट , शान्ताकल्जले रूखको तल उपहार राख्छ रे धेरै भन्न पो थाल्यो , परेन त आपत ! बच्चा न हो उपहारको खेलौना देखेर, फकाई फुल्याई गरेर त्यो बर्षको क्रिसमस सकियो । अर्को बर्ष बेलैमा सानो प्लाष्टिकको रूख किनेर ल्याएर , आमा छोरा मिलेर सजायौं उसैले बनाएका थरिथरिका अर्नामेन्टले।

हो त्यो बेला, १६ बर्ष देखि तेही “क्रिसमस रूख” सजाउने गरेको छु । पोहोर साल अलिक ढिलो भएको थियो सजाउन । छोरा छुट्टीमा क्याम्पसबाट घर आउने साथ सोधिहाल्यो खोईत हाम्रो “ क्रिसमस रूख” , नसजाउने ? लौ अब मैले नसजाउनु त ! यो रूख मात्र होइन की यसमा त हाम्रा धेरै सम्झना पो रहेछनत !!!!!

आउँदै गरेको क्रिसमसको शुभकामना सबैलाई

 

शशी के.सी

लेखिका

प्रतिक्रिया