प्रथम चौमासिकको विकास खर्च शून्य, कर्मचारी पुगेनन्
बैतडी, मङ्सिर १९ गते । सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका विभिन्न सरकारी कार्यालयको प्रथम चौमासिकको विकास खर्च शून्यजस्तै भएको छ । बैतडी, दार्चुला र बझाङ जिल्लामा प्रादेशिक रणनीतिक सडक, ठूल्ठूला झोलुङ्गे पुल र सडक पुल निर्माणका लागि बैतडीमा भौतिक पूर्वाधार विकास कार्यालय स्थापना भए पनि पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको कार्यालयले जनाएको छ ।
कात्तिक महीनामा कार्यालय स्थापना भएको र ढिलो गरी अख्तियारी आएकाले पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर जगतप्रसाद जोशीले बताउनुभएको छ । भौतिक पूर्वाधार विकास कार्यालयले तीनवटै जिल्लामा ९९ वटा सडक निर्माण गर्ने अख्तियारी पाएको भए पनि अहिलेसम्म एउटा काम पनि शुरु भएको छैन ।
कर्मचारीको अभावमा काम शुरु गर्न नसकिएको इञ्जिनीयर जोशीले बताउनुभयो । कार्यालयमा कर्मचारी नहुँदा कार्यालयले गर्ने काम अघि बढाउन नसकिएको उहाँले बताउनुभयो । सात सबइञ्जिनीयर र चार जना इञ्जिनीयरको दरबन्दी भएको कार्यालयमा एक जना सबइञ्जिनीयर र एकजना इञ्जिनीयरबाहेक अन्यको पदपूर्ति हुन नसकेको उहाँले बताउनुभयो ।
बैतडी र दार्चुला हेर्ने गरेर बैतडीमा स्थापना भएको कृषि ज्ञानकेन्द्रले पनि सामान्य कामबाहेक अन्य काम सञ्चालन गर्न नसकेको केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । प्रदेश सरकार मातहत स्थापना भएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पनि पहिलो चौमासिकमा विकास खर्च गर्न सकेको छैन । अख्तियारीनै नआएकोले विकास खर्च गर्न नसकेको कार्यालयका पशुसेवा प्राविधिक विशनसिंह विष्टले बताउनुभयो ।
विकास निर्माणका कामसँग प्रत्यक्ष जोडिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले पनि पहिलो चौमासिक विकास बजेटतर्फ एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन । अख्तियारी नै ढिला आएकाले विकास निर्माणका काम अघि बढाउन नसकिएको कार्यालयका ओभरसियर गोविन्द भट्टले पनि बताउनुभयो ।
प्रदेश सरकार मातहत स्थापना भएका कार्यालयले पहिलो चौमासिकमा विकास बजेट खर्च नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले बताउनुभयो ।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त
प्रतिक्रिया