‘नेपाल मगन्ते देश हो, क्रिष्चियनहरुले पैसाको चलखेल गर्नु स्वभाविक हो’

इनेप्लिज २०७५ मंसिर १८ गते ४:२० मा प्रकाशित

एसिया प्यासिफिक समिट सकिएको छ । तर यसको चर्चा र बहस अझै जारी छ । अधिकांशले समिटका नाममा क्रिष्चियन धर्म प्रचार गरिएको भन्दै विरोध गरे भने कतिपयले यसको समर्थन गरे । सरकार र प्रधानमन्त्री केपी ओलीको सहभागितालाई धेरैले आलोचना गरे । यिनै विषयवस्तुमा केन्द्रित रहेर समिटको समर्थन नेकपाका नेता हरिबोल गजुरेलसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

हरिबोल गजुरेल, नेता, नेकपा

एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओलीलाई अवार्ड दिइएपछि तपाईहरु गदगद हुनुहुन्छ हैन ?
आफ्नो पार्टीको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । उहाँले अवार्ड पाउँदा त हामी खुशी हुने नै भयौँ नि । अवार्ड त जसले पनि दिन सक्छ ।

प्रधानमन्त्रीले राम्रो काम गर्नुभएको छ र ?
राम्रो काम गर्ने कोसिस गरिरहनुभएको छ । तर अवार्ड पाउँदैमा सबै खुशी भए भन्ने होइन । प्रधानमन्त्रीले बोलेका कुराहरु व्यवहारमा उतार्न बाँकी नै छ । योजनाहरु कार्यान्वयन हुँदैन कि भन्ने आशंका छ । विभिन्न ढंगले टिका टिप्पणी भइरहेको छ । तर पनि प्रधानमन्त्री आफूले गरेका प्रतिवद्धता पूरा गर्न प्रतिवद्ध हुनुहुन्छ ।

तपाईले नेपालमा क्रिष्चियन धर्म संस्थागत गर्नुपर्छ भन्नुभएको थियो, अब भयो हैन ?
यस्तो कुरा किन गर्नुहुन्छ ? हामीले धर्मनिरपेक्षताको कुरा मात्रै गरेका हौँ । राज्यले सबै धर्मलाई बराबर ठान्नुपर्छ भन्ने हाम्रो तर्क हो । तर कतिपय कुराको गलत प्रचार गरिएको छ ।

तर नेपालमा क्रिष्चियनहरुको प्रभाव बढ्न थाल्यो नि ?
सबैले आफ्नो धर्म विस्तार गर्न चाहन्छन् । क्रिष्चियनहरुले नेपालमा आर्थिक प्रलोभनमा पारेर गरिब जनतालाई धर्म परिवर्तन गराईरहेका छन् । अर्कोतिर हिन्द धर्मका कारण दलितहरु अझै पीडित छन् । दलितले बाहुनको घरमा पसेर खान नपाउने वातावरणको अन्त्य गर्नुपर्छ कि पर्दैन ?

एसिया समिट नेपालमा गरेर धर्मान्तरण गर्न खोजियो भन्ने कतिपयको आरोप छ । यसलाई कसरी लिनुहुन्छ ?
एउटा कार्यक्रम नेपालमा हुँदैमा किन चित्त दुखाउनुपर्यो । यस्ता कार्यक्रमले नेपालको अन्तराष्ट्रिय सम्बन्ध कतातिर जान्छ भन्ने मुख्य कुरा हो । यस्ता कार्यक्रम आयोजना गर्न पाउनु त खुशीको कुरा हो नि ।

तपाईकै दलका नेता भीम रावलले त क्रिष्चियन धर्म प्रचारक एकनाथ ढकालले ग्राइण्ड डिजाइन गरेर प्रधानमन्त्रीलाई प्रभावमा पारेर यो कार्यक्रम गरेको भन्ने आरोप लगाउनुभएको छ नि ?
भीम रावलजीको आफ्नै विशेषता छ । आफ्नो कुरा, चित्त नबुझेका कुरा राख्नुहुन्छ ।, तर उहाँले जसरी कुरा राख्नुभयो, त्यसरी लिनुहुँदैन । उहाँले सजग गराउने कुरा हो । प्रश्न उठाउनु स्वभाविक हो । यसको जवाफ सरकारले पनि दिनुपर्छ ।

एसिया प्यासिफिक समिट गराउने संस्था नै विवादित रहेछ । विवादित संस्थाको कार्यक्रम गर्न एकनाथ ढकाललाई किन सहयोग गरियो ?
एकनाथ ढकाल विगतमा सांसद र मन्त्री हुँदा कसैले केही भनेनन् । अहिले किन विवादमा पार्ने ? हामीले नै २ पटक मन्त्री बनायौँ । हिजोका दिनमा कोही नबोल्ने, अहिले किन ? यो सब सरकारलाई विवादमा पार्नका लागि हो । गिरिजाबाबु कै पालामा पनि यस्तै सम्मेलन भएको थियो ।

तर प्रचण्ड, झलनाथ खनालले कार्यक्रम नै बहिष्कार गर्नुभयो । कांग्रेसले पनि विरोध गर्यो । तपाईहरुले चाँही किन समर्थन ?
सबै नेताहरु जानैपर्छ भन्ने छैन । व्यस्तताले होला वा अरु कुनै कारणले होला । बहिष्कार नै गनुभयो कि भएन मलाई थाहा भएन । म आफैँ पनि बाहिर थिएँ । समर्थन र विरोध हुन्छ, यसलाई अन्यथा लिन जरुरी छैन ।

आयोजक संस्था युनिभर्सल पिस फेडेरेसन कस्तो संस्था हो ? कसरी चलिरहेको छ तपाईलाई थाहा छ ?
नेपालीहरु स्वतन्त्र ढंगले चल्ने कि नचल्ने ? आइएजिओहरु बग्रेल्ती आएका छन् । विदेश पैसा खेलाएर नेपाललाई प्रभाव राख्न खोजेका छन् । नेपाल गरिब भएका कारण जसले पनि हेप्छ । मगन्ते भएपछि यस्तै हो । त्यसैले मगन्ते प्रवृत्तिको अन्त्य गर्नुपर्छ । हामी आफ्नै खुट्टामा उभिनुपर्छ । मगन्तेको कुनै स्वाभिमान हुदैन । तर पैसाको भरमा धर्म परिवर्तन गराउने प्रवृत्ति रोक्नैपर्छ । यसका लागि हिन्दुवादीहरुले दलितलाई गर्ने व्यवहार परिवर्तन गर्नुपर्छ । दलित भनेर हेप्ने हो भने त भड्किएर अन्त गइहाल्छन् नि । आफ्नो ताला बलियो नबनाउने अनि अरुलाई आरोप लगाउने ?

प्रतिक्रिया