समृद्धिको आधार कृषि : मन्त्री पौडेल

इनेप्लिज २०७५ मंसिर १६ गते ११:४६ मा प्रकाशित

राँझा, मङ्ङ्सिर १६ गते । प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गरी समृद्ध प्रदेश बनाइने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज यहाँ आयोजना गरेको प्रदेश नं ५ को आवधिक योजना तर्जुमासम्बन्धी सुझाव सङ्कलन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले प्रदेशको समृद्धिको महत्वपूर्ण आधार कृषि भएको बताउनुभयो ।

उहाँले निजी र सार्वजनिक क्षेत्रलाईसँगै र प्रतिस्पर्धी ढङ्गले अघि बढाउन सक्दा विकास प्रभावकारी हुनसक्ने बताउनुभयो । ‘‘हाम्रो रणनीति भनेको कृषिको व्यावसायिक विकास गरी कृषिमा रहेका बहुसङ्ख्यकलाई आर्थिक रुपमा सवल बनाउने हो’’, उहाँले भन्नुभयो, “कृषिको व्यावसायिक विकास गर्न सक्दामात्रै गाउँमै रोजगारको अवस्था सिर्जना हुनेछ ।”

प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषालले छलफलको अवधारणा पत्र प्रस्तुत गर्दै दस्तावेज विषयवस्तु मात्रै महत्वपूर्ण नभएर प्रक्रिया पनि महत्वपूर्ण भएकाले योजना तर्जुमा सम्बन्धमा सुझाव सङ्कलन गर्न गोष्ठी आयोजना गरेको बताउनुभयो । गोष्ठीमा बाँके जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सांसद, स्थानीय तहका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया