कथा कति बेला लेखिएछ

यादवराज जोशी २०७५ मंसिर १६ गते १:२६ मा प्रकाशित

कथा कति बेला लेखिएछ

पत्तै भएन

तर, उ अजीव पात्र थियो

ड्रागन जस्तो

बेलाबेला आगो फल्थ्यो

धेरै शान्त हुन्थ्यो

अत्यन्त सनकी थियो

अचम्म

कहिले काँही प्रेममा परे जस्तो

तारा जुन गन्थ्यो

आधा आँखा खेलेर

रोमान्सको अनुभुतिमा

हराए जस्तो नि देखिन्थ्यो

कथा कति बेला लेखिएछ

पत्तै भएन

एकाएक उ गायब भयो

महिना बिते

वर्ष बिते

उस कहाँ गयो

पत्तै भएन

वर्षौपछि एक दिन उ फर्कियो

मैला कपडा

कलेठी परेको ओठ

र जिड.रिड. कपाल

केटाकेटी उसलाई पागल भन्थे

जिस्काउथे

लट्ठी, ढुंगाले हान्थे

उ केबल डिच्च हास्थ्यो

कथा कति बेला लेखिएछ

पत्तै भएन

गाँउमा हल्ल चल्यो

पागल आकासतिर हेरेर मुस्कुराउछ रे

राम्री यौवना देखे टोलाउछ रे

अनि कहिले काँही

सुसेली पनि हाल्छ रे

मैले पनि उसलाई देखेको हुँ

आगो ओकल्ने ड्रागन

झरीमा रुझेको बिरालो

प्रेममा पागल प्रेमी

तर फेरी आज उ हरायो

कता गयो

थाहै भएन

कथा कति बेला लेखिएछ

पत्तै भएन

गाँउ छेउको खोला किनारमा

उ भेटियो

आधा पानीमा आधा बगरमा

उ शितल थियो

आगो थियो

तर संसार छाडि सकेको थियो

कथा कति बेला लेखिएछ

पत्तै भएन

प्रतिक्रिया