मंगलबार, माघ ४ २०७८
काठमाडौं १८:३५
वासिङटन डिसी 07:50

सबै जिल्लामा स्वास्थ्य बीमा : मन्त्री ज्ञवाली

इनेप्लिज २०७५ मंसिर १२ गते १२:१५ मा प्रकाशित

काठमाडौँ, मङसिर १२ गते । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले चाँडै नै सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको बताउनु भएको छ ।

प्रदेश नं ५ पत्रकार समाजले आज यहाँ आयोजना गरेको गुल्मीको हुङ्गाकी मिगौला पीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले अहिले २५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएकाले चाँडै नै देशभरका सबै जिल्लामा लागू गर्ने जानकारी गराउनुभयो ।

उहाँले स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यसले मृत्युलाई जित्न नसकिए पनि अकालमा आर्थिक अभावले ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्न सहयोग पु¥याउने बताउनुभयो ।

उहाँले स्वास्थ्य बीमाले मानिसको जीवनस्तर माथि उठाउन र सरकारले परिकल्पना गरेको समृद्ध नेपाल बनाउन थप सहयोग पु¥याउने बताउनुभयो । मन्त्री ज्ञवालीले सरकारले अहिले काम गरिरहेको बताउँदै नकारात्मक टीकाटिप्पणी मात्रै बढी भएको उल्लेख गर्दै ३५ लाख श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको पनि केहीले नबुझेर विरोध गरेको बताउनुभयो ।

‘‘सरकारले कामै गरेन भनेर टिप्पणी गर्नु स्वागतयोग्य कुरा भए पनि सकारात्मक कामको पनि मूल्याङ्कन गर्नुपर्छ’’ उहाँले भन्नुभयो,‘‘सरकार मुलुकलाई समृद्धि बनाउने अभियानमा लागेको छ ।’’

कार्यक्रममा मन्त्री ज्ञवालीले बालिका भण्डारी र उनकी आमा लक्ष्मी भण्डारीलाई उपचारका लागि दुबईमा सङ्कलन गरिएको रु दुई लाख आठ हजार ५०० हस्तान्तरण गर्नु भएको हो ।

दुबईमा वैदेशिक रोजगारीका क्रममा रहेका कुवेर लुइँटेल र खिम केसीले संयोजन गरी नेपालमा कलाकार बैकुण्ठ महतमार्फत रकम उपलब्ध गराउनु भएको हो । बन्दना अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारत हुनुहुन्छ । रासस

प्रतिक्रिया