महन्थलाई विधानविपरित हटाइएको हो, महतोलाई हामी स्विकार्दैनौँ : लाल

इनेप्लिज २०७५ मंसिर ९ गते १४:०६ मा प्रकाशित

बृजेशचन्द्र लाल, नेता, राजपा

राष्ट्रिय जनता पार्टीभित्र विवाद बढेको छ । अध्यक्षमण्डलको संयोजकबाट महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई ल्याएपछि विवाद उत्कर्षमा पुगेको हो । ठाकुर र महतो पक्षधरले एकअर्कालाई आरोप लगाउन थालेका छन् । यसै विषयमा ठाकुर पक्षधर नेता वृजेशचन्द्र लालसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

अध्यक्षमण्डलको संयोजकबाट महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई ल्याएपछि पार्टीमा विवाद बढेको हो ?
त्यस्तो छैन । महन्थ ठाकुर हटाइसक्यो भनेर कसैले सोच्यो होला । तर उहाँ मधेशको नेता हो । ठाकुरलाई हटाएर महतोलाई संयोजक बनाउने निर्णय राजपा नेपालको विधान विपरित छ । यो निर्णय सर्वसम्मतिले भएको होइन ।

पार्टीभित्र कि यस्तो परिस्थिती आयो ?
अहिले जुन परिस्थिती निर्माण भएको छ, त्यसको कारण के हो ? किन यसो गरिदैछ ? महाधिवेशनको तयारी भइरहेको बेलामा किन विवाद खडा गर्ने प्रयास भइरहेका छन् भन्ने बारेमा राजपाका आन्दोलनकारी साथीहरुबीचमा छलफल गर्दैछौँ ।

महन्थ ठाकुर असफल भएकाले संयोजकबाट हटाइएको कतिपय नेताहरुको तर्क छ नि ?
यो कुरा तपाईकै टेलिभिजन कार्यक्रममा महेन्द्र राय यादवले भनेको सुनेँ । तर निर्णय विधानसम्मत तरिकाले गर्नुपथ्र्यो । ठाकुर असफल हुनुभयो भन्ने कुरा सत्य होइन । उहाँ त मधेशको प्रवक्ता जस्तै हो । उहाँमा अडान थियो । उहाँलाई पनि सबैले सम्मान गर्छन् र उहाँले पनि सबैलाई सम्मान गर्नुहुन्छ । त्यस्तो नेतालाई जुन भाषा प्रयोग गर्नुभएको छ, त्यसले हामीलाई दुःख लागेको छ । हामीहरु गम्भीर चिन्तनमा छौँ ।

महेन्द्र राय यादवले त पार्टी एकताका लागि पनि ठाकुर तयार हुनुहुन्नथ्यो । संयोजक बनाएर एकता गरेका हौँ भन्नुभएको छ नि ?
पार्टी एकता त मधेशमा राजनीतिक शक्ति निर्माणका लागि गरेका हौँ । कोही नेताको स्वार्थका लागि एकता गरिएको होइन । मधेश आन्दोलनलाई सत्ताको भ¥याङ बनाएर स्वार्थ पूरा गर्ने हो भने त्यस्तो पार्टीको नेतृत्व ठाकुरले गर्नुहुन्न ।

महन्थ ठाकुरले पनि मधेशका मुद्धा कार्यान्वय गराउन त सक्नुभएन नि ?
उहाँ चुनावपछि धेरै दबाब आउँदा पनि सरकारमा जानुभएन । संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौँ भनेर अडान लिनुभयो । यही कुराले व्यक्तिगत स्वार्थ पूरा गराउन चाहनेहरुलाई आघात पुगेको हुन सक्छ । पार्टीको निर्णयहरु पनि अध्यक्षमण्डलले गर्दै आएको हो । ठाकुरले मात्रै कुनै पनि निर्णय गर्नुभएको छैन ।

अब महन्थ ठाकुरले अर्कै पार्टी खोल्ने हो ?
महन्थ ठाकुरले त मधेशका सबै दललाई एकता गरेर राजपा गठन गर्नुभएको हो । आफ्नो पार्टी सबैभन्दा ठूलो हुँदा हुँदै पनि अन्य साना पार्टीलाई बराबरी हैसियत दिएर एकता गराउनुभएको हो । त्यसकारण अब उहाँले अर्को पार्टी गठन गर्नुहुन्छ भनेर सोच्न सक्दैनौँ । पार्टीभित्रको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा केन्द्रित छौँ ।

प्रतिक्रिया