शनिबार, भदौ ४ २०७९
काठमाडौं ०१:५३
वासिङटन डिसी 16:08

कालीगण्डकीमा पुल निर्माण शुरु

इनेप्लिज २०७५ मंसिर ९ गते ११:१२ मा प्रकाशित

बेझाड, मङ्सिर ९ गते । कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ र तनहँुको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको रु साढे २८ करोडको लागतमा पुल निर्माण हुन लागेको हो ।

युनाइटेड बिल्डर्स कम्पनीले २०७४ मा पुल निर्माणका लागि जिम्मेवारी लिएपछि अहिले पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता भएको निर्माण कम्पनीका अध्यक्ष पूर्णमान हिराचनले बताउनुभयो । २११ मिटर लम्बाइ र नौ मिटर चौडाइ रहेको डबल लेनको पुल निर्माण हुने उहाँले जानकारी दिनुभयो ।
शनिबार पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देल र निर्माण कम्पनीका अध्यक्ष पूर्णमान हिराचनले सामूहिक रुपमा जग पूजा गर्नुभयो । यहाँ पुल निर्माण भएपछि पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका र तनहुँको घिरिङ्ग गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा प्रत्यक्ष सुविधा पुग्नेछ । प्रदेश नं ४ र ५ लाई जोड्ने यो पुलले कालीगण्डकीबेशीको विकासमा ठूलो टेवा पुग्नेछ ।

प्रतिक्रिया