प्रधानमन्त्री ओलीज्यू, दायित्व पूरा नगर्ने भए कुर्सी छोड्नुस् : झलनाथ खनाल

इनेप्लिज २०७५ मंसिर ४ गते २३:१० मा प्रकाशित

झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण प्रक्रिया टुङ्ग्याउन नसक्दा सत्तारुढ दल अलमलमा देखिएको छ । यिनै विषयवस्तुमा केन्द्रित रहेर ऋषि धमलाले नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

पछिल्लो समय देशको अवस्थालाई कसरी हेर्नुभएको छ ?
हाम्रो देश परिवर्तनको प्रवाहमा छ । सामान्तवादको हजारौँ वर्षको युग र राजतन्त्रको युगबाट मुक्त भएर लोकतान्त्रिक युगमा प्रवेश गरेका छौँ । अहिले कम्युनिष्ट पार्टीको सरकार छ । तर यो सरकारले सात महिनाको अवधिमा उल्लेखनीय काम गर्न सकेन ।

सरकारको कामबारे पार्टीभित्र छलफल हुँदैन ?
नियमित रुपमा पार्टीको सचिवालय बैठक बस्ने सकेको छैन । स्थायी कमिटी र केन्द्रिय कमिटिको बैठक पनि नियमित बस्न सकेको छैन । संविधानले भनेअनुसारको समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा पार्टीभित्र गम्भीर बहस हुन सकेको छैन । सृजनात्मक रुपमा नयाँ काम सुरु हुन सकेन ।

पार्टी एकीकरण प्रक्रिया पनि टुङ्ग्याउन सक्नुभएन नि ?
केही समय पार्टी एकीकरण प्रक्रियाले व्यस्त भयौँ । तर एकीकरण टुप्पोमा मात्रै भएको छ । तल्लो तहमा अझै हुन सकेको छैन । तल्लो तहको कमिटिहरु विघटन गर्ने काम ब्लण्डर मिस्टेक हो । अहिलेसम्म पनि ति कमिटिहरुमा एकीकरण गर्न सकिएको छैन । तल्लो तहसम्म नीति, योजना र भिजन दिन सकिएको छैन । एकीकरणपछि माथिल्लो तह पनि प्रभावकारी हुन सकेको छैन । आवश्यक रुपमा बैठकहरु बस्न सकेको छैन ।

तपाईहरुलाई जनताले विश्वास गरेर मत दिए । तर सत्तारुढ दल र सरकार किन जिम्मेवार बन्न सकेन ?
पार्टीको बैठक र बहसहरु नहुने, सरकार आफ्नै ढंगले चल्ने प्रवृत्तिले काम हुन नसकेको हो । सरकारको गति र प्रभावकारिता कमजोर देखिएको छ ।

नेकपाभित्र नेताहरुको गुटका कारण पनि पार्टी र सरकार कमजोर भयो भन्ने टिप्पणी छ नि ?
विगतमा नेकपा एमाले र माओवादीका गुटहरु अहिले कायम छैनन् । विगतका गुटहरु अहिले ब्ल्कमा रुपान्तरण भएका छन् । ब्ल्कहरुलाई पनि विलिन बनाएर एकढिक्का बनाएर लैजानुपर्छ ।

तपाईहरु आफैँ गुट चलाउनुहुन्छ । कसरी एकढिक्का बन्छ ?
मैले सबै नेताहरुलाई के भनिरहेको छु भने, गुट छोड्नुहोस् । गुटगत राजनीति गर्नु भनेको अपराध हो । पार्टीलाई विभाजित गर्ने, फुटाउने र पार्टीलाई बर्बाद गर्ने काम हो । त्यसैले यस्तो काम बन्द गर्नुहोस् । यद्यपी अहिले पनि ९० प्रतिशत कार्यकर्ता गुटको विरुद्धमा छन् । तर नेताहरु नै गुटको विरुद्धमा लाग्न सकेका छैनन् । अहिले पनि पार्टी एकीकृत भइसकेको छैन । नयाँ कम्युनिष्ट पार्टीभित्र गुटबन्दी रहनुहुँदैन भन्ने मेरो चाहना हो । जसले गुटगत राजनीति गर्छ त्यो अपराधी हो ।

तपाईको पनि त गुट होला नि ?
चाह्यो भने पार्टीभित्र जसले पनि गुट बनाउन सक्छ । म पनि गुट बनाउनबाट पछि पर्नुपर्छ भन्ने लाग्दैन । तर मेरो सबैलाई अपिल छ, गुटगत राजनीति नगरौँ । यतिमात्रै होइन, आफ्ना एसम्यान र हनुमानहरुलाई नियुक्ती नगरौँ । सरकारले निर्णय र नियुक्ति गर्दा पार्टीभित्र सल्लाह गरेर, कमिटिहरुले निर्णय गरेर मात्रै गर्नुपर्छ । आफूखुशी गर्दै जाने हो भने २–४ दिनको रमाइलो मात्रै हुन्छ ।

तर पार्टीभित्रैका विभिन्न पदहरुमा पनि गुटगतरुपमा जिम्मेवारी दिइएको छ नि ?
प्रदेश कमिटिहरु अझै बनेको छैन । तर अध्यक्ष, इन्चार्ज, सहइन्चार्ज र सचिव तोकिएको हो । ति पदहरुमा दिइएको जिम्मेवारीमा बहस र विवाद कायमै छ । मुख्यमन्त्रीहरुलाई नै प्रदेश कमिटिको प्रमुख बनाउँनुहुँदैन भन्ने विचार आएको छ । यसमा मेरो पनि विचार मिलेको छ । यसबारे टुङ्ग्याउन बाँकी नै छ ।

दुई तिहाई बहुमतको समर्थन पाएको सरकार छ । केपी ओली शक्तिशाली प्रधानमन्त्री बनेको ९ महिना हुन लागिसक्यो । उहाँले काम गर्न सक्नुहुन्छ भन्ने विश्वास छ ?
केपी ओली प्रधानमन्त्री भए पनि वा अरु भए पनि गर्नुपर्ने काम एउटै हो । गर्छु भनेर प्रतिवद्धता जनाएका कामहरु गर्न सके मात्रै हामी संविधानलाई कार्यान्वयन र्न सक्छौँ । काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? कुनै कुर्सीमा बस्दा त्यो कुर्सीले बताएको दायित्व पूरा गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? यो त सबैले उठाउने प्रश्न हो ।

प्रभावकारी रुपमा काम गर्न सक्नुभएन भने प्रधानमन्त्री ओलीले कुर्सी छोड्नुपर्छ भन्ने तपाईको निष्कर्ष हो ?
मलाई के मात्रै भन्न मन लागेको छ भने हरेक व्यक्तिले पदमा बसिसकेपछि निश्चित दायित्व पूरा गर्नसक्नुपर्छ । दायित्व र जिम्मेवारी बहन गर्न सकिदैन भने त कुर्सी छोड्नैपर्छ । म ओलीलाई सफल हुनका लागि, लोकप्रिय प्रधानमन्त्री बन्नका लागि शुभकामना दिन्छु । मैले अझै पनि प्रधानमन्त्री ओलीबाट आशा गरेको छु । उहाँ सफल भए हामी सबै सफल हुन्छौँ । उहाँ हामी सबै चढेको जहाजको सारथी हो । तर उहाँले जहाजमा प्वाल पारिदिनुभयो भने हामी सबै डुब्छौँ ।

तर ओली असफल भए आफ्नो पालो आउँछ भन्ने आश त तपाईहरुमा पनि होला नि ?
यो त परम्परावादी कुरा भयो ।

खनालसँगको कुराकानीको पूर्ण अंशका लागि भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया