कोइराला परिवारसँग विवाद छैन : सभापति देउवा

इनेप्लिज २०७५ मंसिर ४ गते ११:०० मा प्रकाशित

विराटनगर, मङ्सिर ४ गते । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा उहाँले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताउनुभयो । कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी सङ्गठन विस्तारमा सहयोग पुग्ने दाबी उहाँले गर्नुभयो । सभापति देउवाले काङ्ग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहने विचार व्यक्त गर्नुभयो ।

उहाँले तोकिएको समयमा पार्टीको महासमिति बैठक हुने बताउँदै त्यसपछि काङ्ग्रेसभित्र देखिएको विवाद हटेर जाने दाबी गर्नुभयो । सभापति देउवाले पार्टीलाई सङ्गठित बनाउन आन्तरिक प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । सभापति देउवाले काङ्ग्रेस प्रजातान्त्रिक विचार बोकेको पार्टी भएकाले पार्टीभित्रका आन्तरिक विवादलाई गुट–उपगुट भन्न नमिल्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया