ओली तीन हप्तापछि बालुवाटार बाहिरको कार्यक्रममा सहभागी

इनेप्लिज २०७५ मंसिर ३ गते ९:४९ मा प्रकाशित

काठमाडौँ, ३ मंसिर । स्वास्थ्यमा समस्या देखिएपछि बालुवाटार बाहिरका सार्वजनिक कार्यक्रममा सहभागी नभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र स्व प्रकाश दाहालको पहिलो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उपस्थित भएका हुन् । स्मृतिसभामा सहभागी हुन प्रधानमन्त्री बालुवाटारबाट खुमल्टार पुगे ।

स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १२ गते अस्पताल भर्ना भएका उनी १६ गते डिस्चार्ज भएका थिए । त्यसयता उनी बालुवाटारभन्दा बाहिरका कुनैपनि कार्यक्रममा सहभागी भएका थिएनन् । प्रधानमन्त्रीको स्वास्थ्यका कारण यो बीचमा मन्त्रिपरिषद बैठक समेत बालुवाटारमै भएका थिए।

चिकित्सकले उनलाई धुँवाधुलो हुने सार्वजनिक कार्यक्रममा नजान सल्लाह दिएका छन् । धपेडी नगर्न एवं भिडभाडमा नजान चिकित्सकले सुझाव दिएका छन् । सोमबार प्रकाश दाहालको स्मृतिसभामा उपस्थित भएका प्रधानमन्त्रीले करिब १० मिनेट भाषण गरे ।

प्रधानमन्त्री ओलीले प्रकाश दाहालको स्मृतिग्रन्थ समेत पनि सार्वजनिक गरे । प्रकाशको अघिल्लो वर्ष मंसिर ३ गते काठमाडौँका निधन भएको थियो ।

प्रतिक्रिया