कांग्रेसको सिद्धान्त र दर्शनले हारेको छैन, नेतृत्व असफल भएको हो : आचार्य

इनेप्लिज २०७५ कार्तिक २९ गते २२:२३ मा प्रकाशित

बरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेपाली कांग्रेससँग वैचारिक निकटता राख्ने बुद्धिजीवी हुन् । आचार्यले विशेष गरी कांग्रेसको आन्तरिक राजनीति र यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावबारे विश्लेषणात्मक रूपमा कलम चलाउँदै आएका छन् । उनै आचार्यसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक

नेपाली कांग्रेसको आन्तरिक विवादलाई कसरी लिनुभएको छ ?
नेपाली कांग्रेसभित्र बहस र छलफलले प्राथमिकता पाउन थालेको छ । विभिन्न प्रस्तावहरु आउन थालेका छन् । यसले पार्टीलाई चलायमान बनाएको छ । महासमितिको बैठक आउँदैछ । यो राम्रो हो ।

कांग्रेसको विधान संशोधन प्रक्रियामा गुटको प्रभाव पर्यो नि । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ र ?
कांग्रेसभित्र नयाँ नयाँ नेतृत्व अगाडि आउन खोजेका छन् । चुनावमा पार्टी पराजित भएपछि यस्तो भएको हो । तर कांग्रेसको सिद्धान्त र दर्शनले हारेको छैन । पार्टीभित्र विचार ठिक हुँदाहुँदै पनि नेतृत्व र रणनीति कमजोर भयो । अहिले भइरहेको बैचारिक मन्थनले कांग्रेसलाई नयाँ दिशामा लैजान भूमिका खेल्छ ।

नेताहरु घरघरमा बसेर गुटको बैठक चलाउन थालिसके । यसले पार्टीलाई फाइदा पुग्छ र ?
कांग्रेसभित्र गुट छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । कुनैबेला त गुटले गिरोहको रुप लिने गरेको छ । त्यसैले अब गुटको व्यवस्थापन गर्नुपर्छ । गुटको व्यवस्थापन गर्नु भनेको पार्टीको व्यवस्थापन नै हो ।

कांग्रेसमा गुटगत राजनीतिले किन प्रश्रय पाउँछ ?
यो त व्यक्तिगत स्वार्थका कारण हो । देश, लोकतन्त्र र पार्टीको भविष्यप्रति चिन्ता नभएर हो । आफू र आफू निकट व्यक्तिहरुको स्वार्थका कारण गुटगत राजनीति भएको हो ।

अब कांग्रेस बलियो बनेर अगाडि आउन सक्छ त ?
यतिबेला कांग्रेस सबैतिरको सम्बन्धबाट टाढिएको छ । कांग्रेस जनतासँग डिसकनेक्सन भएको छ । कांग्रेसको नेतृत्व पनि चुकेको छ । यस्तो अवस्थामा सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व अरुलाई दिन सक्नुपर्छ । देउवाको क्षमता र संवाद शैली पनि छैन । अहिलेको दुर्भाग्य भनेकै नेतृत्वमा वैचारिक, संवाद क्षमता र नेतृत्व क्षमता नहुनु हो ।

सत्तारुढ दल नेकपाभित्र पनि आन्तरिक विवाद चुलिदै छ । यसलाई कसरी लिनुहुन्छ ?
सरकार राम्ररी चलेन, प्रभावकारी बनाउनुपर्छ भन्ने बहस भइरहेको छ । यस्तो परिपाटीले राम्रै हुन्छ । तर दुई तिहाई बहुमतको सरकार अलमलिनु राम्रो होइन । पार्टीभित्रकै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले गरेको आलोचनाले सरकारलाई सच्चिन सहयोग पुग्छ ।

जनताको म्याण्डेट पाएर बनेको केपी आली नेतृत्वको सरकारको भूमिकालाई कसरी लिनुभएको छ ?
हिजोको दिनमा राजाले काम गर्न दिएनन्, कांग्रेस र कम्युनिष्टको झगडा थियो । अहिले नेतृत्वको क्षमतालाई लिएर बहस सुरु भएको छ । सरकारको नेतृत्व गर्नेहरुको पनि क्षमतामाथि प्रश्न उठेको छ । निर्मला पन्त प्रकरणले कम्युनिष्ट आन्दोलन नै धराशायी जस्तो भएको छ । अरु धेरै विषय छन्, जसले सरकारको भूमिकालाई कमजोर बनाएको छ ।

प्रदेश सरकारको कामलाई कसरी लिनुभएको छ ?
प्रदेश सरकारले स्रोत साधन र अधिकार पाएका छैनन् । संविधानअनुसार संघ, प्रदेश र स्थानीय तह संचालन हुनुपर्छ । अर्कोतिर प्रदेश सरकारभित्र बेथिती आइरहेको छ । मुख्यमन्त्रीहरु विवादमा परिरहेका छन् । मन्त्रीहरु बर्खास्त भइरहेका छन् ।

प्रतिक्रिया