कमल थापाले राणा र डा.लोहनीको राप्रपा विलय गराउन खोजेपछि…

इनेप्लिज २०७५ कार्तिक २६ गते ११:५५ मा प्रकाशित

 

काठमाडौं, २६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले कमल थापाको राजसंस्था सिधै अस्वीकार गरिदिएका छन् ।

राणाले राजसंस्था बोक्न नसक्ने अडान लिएपछि अन्तिम समयमा तीन वटा राप्रपाबीच हुने भनिएको पार्टी एकता अबरुद्ध भएको छ ।

सोमबार राष्ट्रियसभा गृहबाट एकता घोषणा गर्ने तयारी भएको थियो । कमल थापा नेतृत्वको राप्रपाका तर्फबाट आएका तीनवटा प्रस्तावहरू मध्ये राजसंस्था र चुनाव चिन्हको विषय बाधक बनेको थियो ।

पार्टी एकीकरण भनिए पनि कमल थापाले राजसंस्था, हिन्दू राष्ट्र र चुनाव चिन्ह गाईलाई नछाड्ने अडान राखेका थिए । पशुपति शम्शेर राणाले हिन्दू राष्ट्रलाई मान्न तयार भएका थिए । तर राजसंस्था र चुनाव चिन्ह गाईको सट्टा हलो प्रस्ताव गरेका थिए ।

कमल थापाका कारण पार्टी एकताको कुरा भाँडिएको एक नेताले बताएका छन् । कमल थापाको राप्रपा, पशुपति शम्शेर राणाको राप्रपा (प्रजातान्त्रिक) र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (एकीकृत राष्ट्रवादी)बीच एकता तत्काल नहुने भएको छ ।

कमल थापा नेतृत्वको राप्रपाका नेता मोहन श्रेष्ठले राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र र चुनाव चिन्ह गाईमा कहिल्यै सम्झौता गर्दैन भनेर स्टाटस लेखेका छन् । राप्रपाका अध्यक्ष थापाले राणा र लोहनीको राप्रपालाई आफ्नो दलमा मिसाउने गरेर रणनीति बनाएपछि अरु नेताहरू झस्किएका हुन् ।

राप्रपा (प्रजातान्त्रिक)का एकजना नेताले भने, ‘पार्टी एकीकरण गराउँदा सबै कुरा कमल थापाको मान्ने हो भने पार्टी बिलय गराए भैहाल्यो नि । किन पार्टी एकीकरणको नाटक गर्ने । केही कुरा कमल थापाजीले पनि कम्प्रमाइज गर्नुपर्छ । कमलजीका सबै कुरा मान्न सकिँदैन ।’

राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र लोहनी नेतृत्वको राप्रपा एकीकृत राष्ट्रवादीले गणतन्त्र स्वीकार गरेका छन् । कमल थापा नेतृत्वको राप्रपा संवैधानिक राजसंस्थाको पक्षमा उभिँदै आएको छ ।

प्रतिक्रिया