गर्दिष्मा मल्ल र अविशा हाडा बने सुपर किड इन्टरनेशनल २०१८

इनेप्लिज २०७५ कार्तिक १५ गते ०:१४ मा प्रकाशित

बालबालिका साझा भविष्य हुन् र उनीहरूको स्वतन्त्रता, अधिकार, संरक्षण, विकास र जीवनस्तर सुधारको लागि सामूहिक प्रतिवद्धता र साझा प्रयास आवश्यक पर्दछ भन्ने कुरा महसुस गरी संयुक्त राष्ट्र संघले सन् १९८९ नोभेम्बरमा बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हो ।

बालबालिकालाई जाति, वर्ग, लिङ्ग, भाषा, धर्म, राजनीति वा अन्य विचारको आधारमा भेदभाव गर्न नहुने, बाल अवस्थालाई विशेष स्याहार र सहयोग आवश्यक पर्ने हुनाले बाल बालिकाको विकास र कल्याणको लागि परिवारका सदस्य र समुदायले शान्ति, सम्पत्ति, सहिष्णुता, समानता र एकताको भावनाले प्रेरित भई संरक्षण र लालनपालन गर्नुपर्ने महासन्धीको मर्म हो ।

नेपालमा बालबालिकाको क्षेत्रमा काम गर्ने धेरै संस्था छन् त्यसै गरी पछिल्लो समयमा बालबालिकाको क्षमता विकासको लागी भनेर विभिन्न इभेन्टहरु पनि संचालित हुने गरेका छन् । त्यस्ता इभेन्टहरुले बालबालिका भित्र रहेको प्रतिभा प्रष्फुटनको लागी सहयोग गरेको छ ।

बालबालिकाको क्षमता विकासको क्षेत्रमा विगत केहि समय देखि सक्रिय रुपमा काम गरि इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा उत्कृष्ट सावित भएको मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टको आयोजनामा क्विक्स सुपर किड इन्टरनेशनल–२०१८ सम्पन्न भएको छ ।

मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टकी अध्यक्ष तथा कार्यकारी निर्देशक मोहना क्षेत्रीको अगुवाईमा बालबालिकाको क्षमता अभिवृद्धिको साथै सामाजिक र परोपकारी कार्यमा आर्थिक संकलनको लक्ष सहित आयोजित उक्त प्रतियोगितामा सिनियर तथा जुनियर बालबालिकाहरुको उत्साहजनक सहभागिता रहेको थियो । २६ जना बालबालिकाको संलग्नतामा भएको उक्त प्रतियोगितामा बालबालिकाले आँफूमा रहेको विभिन्न कला प्रस्तुत गरेका थिए । जसमा यो बर्षको सुपर किड इन्टरनेशनलमा सिनियरवाट गर्दिष्मा मल्ल र जुनियरवाट अविशा हाडाले उपाधि जितेका छन् ।

त्यसै गरेर फस्ट रनरअपमा सिनियरवाट प्रन्जु आचार्य र जुनियरवाट बर्षा बेल्वासेले उपाधि जिते भने पब्लिक च्वाइस अवार्ड विराज चौहान सिनियरवाट र अविशा हाडा जुनियरवाट प्राप्त गर्न सफल बने ।

कार्यक्रममा बरिष्ठ फोटोपत्रकार श्याम चित्रकार, बरिष्ठ गायिका कुन्ती मोक्तान र बरिष्ठ अभिनेत्री मिथिला शर्मालाई विशेष सम्मान प्रदान गरिएको थियो ।

विपासना खनालको कोरियोग्राफी रहेको उक्त प्रतियोगिता सुवानी मोक्तानले कार्यक्रम संचालन गरेकी थिइन् । सुवानी चर्चित गायिका शिला बहादुर मोक्तान र कुन्ती मोक्तान कि सुपुत्री सुपुत्री हुन् ।

यस्ता किसिमको कार्यक्रमहरुले बालबालिकामा रहेका अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउनुका साथै प्रतिभा र क्षमताको विकास भएको भन्दै अभिभावकहरुले खुसी व्यक्त गरे ।

नवनारी मिडिया, रेडियो सिटी एफ.एम. ९८.८, र भिजन संसार डट.कमले प्रचार प्रसारमा साथ दिएका थिए ।

प्रतिक्रिया