निर्मला पन्तका हत्यारा छिटै पक्राउ पर्दैछन् : गृहमन्त्री

इनेप्लिज २०७५ कार्तिक ११ गते २२:३२ मा प्रकाशित

रामबहादुर थापा, गृहमन्त्री
पछिल्लो समय सरकारको आलोचना गृहमन्त्रालयसँग जोडेर हुने गरेको छ । महिला हिंसा र बलात्कारका घटना बढेसँगै गृहमन्त्रालय आलोचनाको सिकार बनिरहेको छ । निर्मला पन्त प्रकरणले त झन गृहलाई असफल जस्तै बनाइदियो । यातायात क्षेत्रको सिण्डिकेट र काम चोर ठेकेदारलाई कारबाही गर्ने गृहको अभियान पनि अलपत्र छ । यिनै विषयवस्तुमा केन्द्रित रहेर ऋषि धमलाले गृहमन्त्री रामबहादुर थापासँग विशेष कुराकानी गरेका छन् । उनीसँगको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

निर्मला पन्त प्रकरणमा दुई जना प्रहरी अधिकृतलाई कारबाही गर्नुभयो । तर अपराधी किन पक्राउ हुन सकेन ?
अपराधीहरुको अनुसन्धान भइरहेको छ । अपराधीहरु छिटै कानुनी कठघरामा आउँछन् ।

कति दिनभित्रमा अपराधी पक्राउ गर्न सक्नुहुन्छ ?
अहिले भविष्यवाणी नै गर्न त सकिदैन । तर म दृढतापूर्वक भन्छु, अपराधीहरु छिटै कानुनी कठघरामा आउँछन् ।

नेपालमा पछिल्लो समय महिला हिंसा र बलात्कारका घटना बढिरहेका छन् । किन नियन्त्रण हुन सकेन ?
हामीले विभिन्न अभियानहरु चलाइरहेका छौँ । महिला हिंसा नियन्त्रण र रोकथामका लागि कात्तिक ११ गतेदेखि विशेष अभियान देशव्यापी रुपमा सुरु गर्दैछौँ ।

अब सबै नागरिकले सुरक्षाको प्रत्याभूति पाउनेछन् भनेर आश्वस्त पार्न सक्नुहुन्छ ?
निः सन्देह । यसमा कुनै शंका छैन ।

सरकार शान्ति सुरक्षा कायम राख्नमा असफल भयो भन्ने आरोप लागेको छ । तपाई के भन्नुहुन्छ ?
सरकार शान्ति सुरक्षा कायम राख्नमा सफल भएको छ भन्ने हाम्रो निष्कर्ष हो । हिजोका दिनमा भन्दा अहिले शान्ति सुरुक्षामा सुधार आएको छ । गुण्डागर्दी नियन्त्रण गरेका छौँ ।

यातायात क्षेत्रको सिण्डिकेट हटाउने अभियान के हुँदैछ ?
कानुनी रुपमा सिण्डिकेट अन्त्य भइसकेको छ । अब व्यवस्थापनको काम मात्रै बाँकी छ ।

प्रदेश सरकारलाई प्रहरी भर्ना लिन दिने कि नदिने ?
यो विषयमा संविधानले स्पष्ट पारेको छ । संविधानअनुसार कानुनहरु धमाधम बन्दैछन् । कतिपय बनिसकेका छन् ।

तर प्रदेश सरकार र संघीय सरकारबीच विवाद त कायमै छ नि ?
अब छिटै संसदबाट कानुनहरु पारित भएपछि सबै समस्या समाधान हुन्छ ।

नेपालमा संघीयता अभिषाप भयो भन्नेहरु पनि छन् नि ?
अभिषाप होइन । बरदान हो ।

तर विकास निर्माण र अर्थिक समृद्धि त हुन सकेन नि ?
भइरहेको छ । सरकारले भर्खर बजेट ल्याएको छ । बजेट कार्यान्वयन हुँदै जादा परिवर्तन देखिन्छ । विकास भनेको रातारात हुँदैन । केही समय चाहिन्छ । नेपाल एउटा समृद्धि र विकासतिर अघि बढ्छ ।

तपाईहरु सरकारमा गएपछि पनि भ्रष्टाचार रोकिएन नि ?
हामीले भ्रष्टाचारीलाई कारबाही गरिरहेका छौँ ।

समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्छु भन्नुभएको थियो । तर केही पनि भएन नि ?
त्यस्ता ठेकेदारहरु पनि कानुनी कठघरामा आउँछन् ।

प्रतिक्रिया