चितवनको माधवपुरमा यही कार्तिक ७ गतेबाट धनधान्याञ्चल हुँदै, विद्यालयको भवन निर्माण र शैक्षिक स्तरोन्नती गर्ने उद्देश्य

इनेप्लिज २०७५ कार्तिक ५ गते ११:२६ मा प्रकाशित

शिशिर सिंखडा
रत्ननगर, चितवन, ५ कार्तिक ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ नमूना टोलमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्री आधारभूत विद्यालय साविक पिठुवा ९ मा हुने सो महायज्ञ एवम् ‘रत्ननगर माधवपुर श्री आधारभूत धार्मिक शैक्षिक महोत्सव – २०७५’ यही कार्तिक ७ गते बुधबारबाट शुरु हुँदैछ । कार्तिक १३ गतेसम्म सञ्चालन हुने सो ज्ञान महायज्ञमा युवा पण्डित श्री ईश्वर रेग्मीले संगीतमय कथा वाचन गर्नेछन् ।

श्री आधारभूत विद्यालय साविक पिठुवा ९ को भवन निर्माण, चौतर्फी विकास एवम् शैक्षिक स्तरोन्नती गर्ने उद्देश्यले आयोजित महायज्ञमा २ करोड रुपैया संकलन गर्ने लक्ष्य लिइएको मुल समारोह समितिका संयोजक दण्डपाणी लामिछानेले जानकारी दिए । धनधान्याञ्चल एवम् शैक्षिक महोत्सव स्थलमा आज सोमबार आयोजित पत्रकार सम्मेलनमा महायज्ञको बारेमा जानकारी गराइएको थियो । महायज्ञबाट संकलित रकमबाट विद्यालयमा खेलमैदान निर्माण गर्ने, अक्षयकोष समेत स्थापना गरी निरन्तर रुपमा विद्यालयको भौतिक, शैक्षिक विकास गर्ने लक्ष्य रहेको समेत संयोजक लामिछानेले जानकारी दिए ।

रत्ननगर नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष हुमनाथ लामिछानेले यस विद्यालयको शैक्षिक एवम् भौतिक विकासको लागि वडाबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । विद्यालयको शैक्षिक प्रगतिको लागि वडाबाट हुने कुनैपनि सहयोगमा कमि नहुने उनले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर नेपालले विद्यालयको आर्थिक अवस्था कमजोर रहेको भन्दै महायज्ञ मार्फत् आर्थिक संकलन गरी विद्यालयको सबै प्रकारको सुधार गर्न सबैले साथ दिन उनले अनुरोध समेत गरे । विद्यालयका प्रधानाध्यापक लिला बहादुर रायमाझीले यस विद्यालयलाई सरकारी एवम् गैरसरकारी संस्थाहरुबाट हालसम्म आवश्यक सहयोग उपलब्ध नभएकाले विद्यालयले सोचे जति उपलब्धि हासिल गर्न नसकेको बताए । अन्य क्षेत्रका विद्यालयहरुलाई जस्तै यस विद्यालयलाई हेर्ने दृष्टिकोण एउटै बनाउन समेत उनले सम्बन्धित निकायलाई अनुरोध समेत गरे ।

वि.सं. २०४६ सालमा स्थापना भएको यस विद्यालयको ७ कठ्ठा १ धुर जग्गा रहेको छ । विद्यालयमा हाल १ देखी ७ कक्षासम्म अंग्रजी माध्यममा पठनपाठन हुँदै आएको छ । आगामी वर्ष कक्षा ८ मा पनि अंग्रेजी माध्यममा पढाई हुने बताइएको छ ।
मंगलबार मोटरसाइकल ¥याली, बुधबार उद्घाटन

धनधान्याञ्चल महायज्ञ एवम् धार्मिक महोत्सवको अवसरमा यही कार्तिक ६ गते मंगलबार मोटरसाइकल ¥याली हुने भएको छ । महायज्ञ स्थलबाट शुरु हुने मोटरसाइकल ¥याली रत्ननगर र कालिका नगरपालिकाका विभिन्न क्षेत्र परिक्रमा गरी महायज्ञ स्थलमा पुगेर समापन गरिने मुल समारोह समितिका सचिव गोकुल पन्तले जानकारी दिए । महायज्ञको उद्घाटन पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डेले यही कार्तिक ७ गते बुधबार दिउसो उद्घाटन गर्ने छन् । सो उद्घाटन हुनुपूर्व बिहान बृहत कलश यात्रा समेत हुने सचिव पन्तले जानकारी दिए ।

मुल समारोह समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा वडा सदस्य रामकृष्ण खड्का, समाजसेवी डिल बहादुर अधिकारी, प्रचारप्रसार समितिका संयोजक गोपी खड्का, भण्डार व्यवस्थापन समितिका संयोजक शंकर देवकोटा, आर्थिक समितिका संयोजक दिल बहादुर अधिकारी, सांस्कृतिक समितिका संयोजक मुक्ति प्रसाद लामिछाने, अनुगमन समितिका आसिक तमाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर नेपाल, विद्यालयका प्रधानाध्यापक लिला बहादुर रायमाझी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया