सरकारसँग जनता सन्तुष्ट छैनन् : उपेन्द्र यादव

इनेप्लिज २०७५ कार्तिक ४ गते १:३८ मा प्रकाशित

उपेन्द्र यादव, उपप्रधान तथा स्वास्थ्य–जनसंख्या मन्त्री

संविधान निर्माणदेखि जारी गरेपछिसम्म संविधानको विरोध गरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । संविधान संशोधनको शर्त राखेर सरकारमा गए पनि अहिलेसम्म उक्त शर्त पूरा भएको छैन । सधैँजसो केपी ओली र पुष्पकमल दाहालको आलोचना गर्ने यादवले अहिले सरकारमा हुँदा पनि त्यसलाई निरन्तरता दिइरहेका छन् । आफैँ सरकारमा रहेर पनि सरकारकै विरोध गरिरहेका छन् । उनै यादवसँग ऋषि धमलाले अन्तवार्ता लिएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

देशको राजनीति कतातिर जाँदैछ ?
अहिले पनि मुलुकले दिशा पक्रिन सकेको छैन । २ वटा अत्यन्त महत्वपूर्ण काम बाँकी छ । एउटा राजनीतिक काम । मुलुकलाई भ्रष्टाचारी, तस्कर, कालोबजारीया जस्ता तत्वबाट मुलुकलाई बचाउनुपर्छ । अर्को काम भनेको विरासतमा पाएको विभेद र असमानताको भावना त्याग्नुपर्छ । सबै जनतालाई समावेशीकरण गरेर मूल धारमा ल्याउनुपर्छ । समावेशी लोकतन्त्रलाई बलियो बनाउनुपर्छ ।

संघीय प्रणाली लागु भइसकेको छ । अब समस्या समाधान हुने अपेक्षा गर्न सकिदैन ?
एकात्मक शाषन प्रणालीको विकल्पको रुपमा संघीयता आएको छ । अब संघीयताको विकल्प एकात्मक प्रणाली हुन सक्दैन । त्यसकारण प्रदेशहरुलाई अधिकारसम्पन्न बनाउनुपर्छ । प्रदेश सरकारलाई साधन, स्रोत, अधिकार र शक्ति प्रदान गर्नुपर्छ ।

तपाईको काँधमा पनि ठूलो जिम्मेवारी छ । तर तपाईले भनेजसरी सरकारले काम गर्न सकेको छैन । यो सरकार असफल भएको हो ?
अहिले नै सरकार सफल वा असफल भयो भन्ने बेला भएको छैन । तर जनता सन्तुष्ट हुने अवस्था चाँही छैन ।

सत्तारुढ दलकै नेताहरुले देश डुब्न लाग्यो भन्न थालिसके । यो सरकारको असफलताको संकेत होइन ?
माधवकुमार नेपालजीले किन भन्नुभयो भन्ने विषयमा समिक्षा गर्नुपर्छ । धेरै कामहरु गर्नुपर्ने भए पनि सरकारले गर्न सकेको छैन । भ्रष्टाचार, कमिसनतन्त्र र तस्करी नियन्त्रण गर्नुपर्छ । सुशासन दिनुपर्छ ।

अहिलेको सरकारले यि काम गर्न सक्छ त ?
चाह्यो भने गर्न सक्छ । चाहनुभएको हो कि होइन, त्यो कुरा त प्रधानमन्त्रीले नै भन्नुहोला । तर हामी संक्रमणकाल पार गरेर भर्खर आउँदैछौँ । गाइजात्रे संविधानको परिणाम पनि हो । संविधान राम्रो बनाएको भए सिस्टम पनि राम्रो हुन्थ्यो । मुलुकले गति लिन्थ्यो । तर संविधान निर्माण गर्दा गल्ती भयो । संविधान नसच्याएसम्म देशले गति लिन सक्दैन ।

विकासको बाधक पनि संविधान नै हो त ?
विकासको बाधक संविधान होइन । शाषन प्रणालीको बाधक हो । संघीयता लागु भएपछि पनि प्रदेशमा द्धैध शाषन हुन्छ र ? प्रदेश र स्थानीय तहलाई केन्द्रले नियन्त्रण गर्नु नै समस्या हो । तर आर्थिक विकासका लागि संविधानले रोक्दैन ।

तपाई संविधान संशोधनको माग राखेर सरकारमा जानुभयो । तर संविधान संशोधन त भएन नि ?
संविधान संशोधन हुन्छ । संविधान सच्याउनुबाहेक अरु विकल्प छैन । ढिलो चाँडो संशोधन हुन्छ ।

देशको समस्या समाधानका लागि त नेता पनि राम्रो हुनुपर्ला नि ?
नेता त भगवानले जन्माएर पठाइदिने होइन । भएकै नेता राम्रो हुनुपर्छ । नेताले काम नै गरेनन् भन्नु पनि गलत हो । जति विकास भयो त्यो अपर्याप्त चाँही हो ।

केपी ओली नेतृत्वको सरकारलाई बलियो बनाउनका लागि तपाईले पनि समर्थन गर्नुभयो । तर यसको प्रभावकारिता देखिएन नि ?
जनताले अनुभूति गर्ने गरी विकास हुन्छ । केही समय धैर्य गरौँ । दुई तिहाईको परिणाम जनताले पाउँछन्

प्रतिक्रिया