नेपालीहरुको दशैं काम र ब्यस्तताको चेपुवामा परेको हुन्छ

खगेन्द्र अधिकारी २०७५ कार्तिक १ गते १०:४९ मा प्रकाशित

नेपालीहरुको मौलिक पर्व दशैं स्वदेश र बिदेशमा धुमाधामले मनाईन्छ । नेपालमा रहेकाहरु बीचमा दशैं मनाउने तरिका परम्परागत शैलीको छ भने विदेशमा रहेका नेपालीहरुको दशैं काम र ब्यस्तताको चेपुवामा परेको हुन्छ ।

बर्षदिन भरि परदेशमा रहेका आफन्तहरु पनि दशैंमा घर संझिएर फर्किने आम चलन हो । खासगरी मुग्लान् र शहर पसेकाहरु गाउँ संझिएर फर्किने ठूलो चाड नै दशैं हो । अहिले पनि राजधानी काठमाडौ लगायतका शहरबाट ठूलो संख्यामा मानिसहरु गाउँ फर्किएका दृश्यहरु हामी देखिरहेका छौ । काठमाडौ उपत्यकाबाट मात्रै २५ लाख भन्दा बढी मानिसहरु दशैं मनाउँन गाउँ फर्किएको हामीले थाहा पाएका छौ । रित्ता बन्दै गएका हाम्रा गाउँहरु दशैमा फर्किनेहरुले केही समय चहलपहलपूर्ण बनार्इदिन्छ ।

भारतमा रोजगारी र अन्य कामका लागि गएकाहरु पनि ठूलो संख्यामा स्वदेश फर्किन्छन् र दशैं मनाउँछन् । मलेशिया, खाडी लगायतका मुलुकमा रोजगारीका लागि गएकाहरु पनि कतिपय दशैंको मौका पारेर स्वदेश फर्किन्छन् र परिवारसँग खुशी बाँट्छन् । जो स्वदेश फर्किन सक्दैनन्, उनीहरुले परिवारलाई दशै मनाउँन रेमिट्यान्स मार्फत रकम पठाउने गर्छन । त्यही दशैं रकमले नेपाली अर्थतन्त्रलाई आधार दिएको हुन्छ । यसपालि नेपालमा डलरको भाउ बढेर एक डलर बराबर ११९ नेपाली रुपैयाँ पुगेकाले दशैंमा पैसा पठाउनेहरुलाई फाईदा भएको बुझिएको छ ।

दशैं मनाउँन घर जानु र परिवारसँग घुलमिल भएर मिठो मसिनो खानु, पिड. खेल्नु, टीकाको दिन मान्यजनबाट टीका थापी आर्शिबाद लिनु, पुर्णिमाका दिनसम्म पनि टाढा – टाढा रहेका आफन्तजनहरु कहाँ पुगेर टीका थाप्नु परम्परागत तरिकाहरु हुन् ।

हामी अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, कोरिया, युरोप लगायतका देशहरुमा रहेका नेपालीहरु भने दशैं मनाउने नाममा कमै स्वदेश जाने गर्छौ । अमेरिकामा लामो समयदेखि बस्दै आएका एक नेपालीले दशैंमा नेपाल जान कम्तिमा २० हजार डलर अर्थात झण्डै २० लाख रुपैयाँ जोहो गर्नुपर्ने, त्यो रकमले बरु अमेरिकामै केही गर्न सकिने भन्दै मातृभुमि र दशैंलाई पैसासँग जोख्ने प्रयास गरेका थिए । यसरी पैसाको मात्रै कुरा गरेर आफ्नो देश, आफन्त, चाडपर्व, संस्कृतिलाई कम आँक्नु राम्रो हैन तर नेपाल जाँदा पैसा खर्च हुने कुरालाई पनि कतिपयले महत्व दिएका हुनसक्छन् ।

गैरआवासीय नेपाली संघले दशैंको छेक पारेर आफ्नो विश्व सम्मेलन नेपालमै आयोजना गर्ने गरेकाले कतिपयलाई नेपालमा गएर दशैं मनाउने अवसर जुरेको छ । विदेशमा काम र ब्यस्तताको परिबन्दमा परेका नेपालीहरुले त्यही सम्मेलनका लागि भए पनि केह दिनको छुट्टी मिलाएर जन्मभुमि फर्किन पाएका छन् । एनआरएनएले आफ्नो देश फर्किएर आफन्त, साथीभाईहरुसँग एकाकार हुने मात्रै हैन, मातृभुमिमा लगानी गर्ने अवसर पनि मिलाउँदै गरेको छ । तर यस्तो अवसर विश्वभरि छरिएर रहेका लाखौं नेपालीहरुमा अझै राम्ररी फैलाउनु परेको छ ।

विभिन्न कारणले विदेशमा रहेका नेपालीहरुले फरक फरक शैलीमा दशैं मनाउँछन् । कामको चाप र नयाँ परिबेशका कारण नेपालमा जस्तो फुर्सदिलो भएर दशैं मनाउँन पाउने छुट खासगरी युरोप, अमेरिका, अष्ट्रेलिया, कोरिया र जापानमा रहेकाहरुलाई हुन्न । यी देशहरुमा रहने धेरै नेपालीहरुको साथमा नजिकका आफन्त नहुँदाको पीडा त छदैछ, सबै नेपालीहरु एकै ठाउँमा भएर भएर रमाईलो गर्ने अवसर पनि कमै मात्र मिल्दछ । काम र ब्यवसायका लागि मिनेट मिनेटको महत्व हुने हुँदा विदेशमा बस्ने नेपालीहरुको दशैं तनाव र कामको चापापाचकै बीचमा बित्ने गर्छ ।

यस्तो ब्यस्तताका बीच पनि विदेशमा बस्ने नेपालीहरुका लागि दशैं लगायतका मौलिक नेपाली चाडहरु उत्तिकै प्रिय हुने गर्छन । दशैं, तिहार, छठ, लोसार, माधी जस्ता पर्बहरु विदेशमा पनि नेपाली समुदायले उत्तिकै महत्व दिएर मनाउँछन् । आफन्त नभएकाहरुले समुदाय र समूहमा मिलेर चाँड मनाउँछन् र दुख सुख बाँड्ने गर्छन । चाड पर्वका बेला कतिपय ठाउँमा त नेपालीहरुको जमघटले “मिनी नेपाल” नै यहीँ रहेछ जस्तो अनुभुति पनि दिलाउँछ । नेपाली मठ मन्दिर, गुम्बाहरु स्थापना गरेर नेपालीहरुले विदेशमा पनि आफ्नो धर्म संस्कृति जोगाएका छन् र चाड पर्वलाई जीवन्त राखेका छन् । विदेशमा पनि दशैंको टीका र तिहारको भाईटीका उत्तिकै महत्वका साथ लगाईन्छ । आफन्त नहुनेले समाजका अगुवाबाट टीका थाप्छन् । दिदी बहिनी नहुनेले दिदी बहिनी बनाएका छन् । बिदेशमै परिवार ल्याएका र बनाएकाहरुमा आफ्नो नेपाली भाषा, कला, संस्कृति मौलिक परम्परा, चाडपर्वलाई आफ्ना सन्ततिहरुमा कसरी जीवन्त राख्ने भन्ने चिन्ता पनि देखिन्छ ।

नेपालीहरु हामी जुन देशमा रहे पनि हामी नेपाली नै हौ र एकपल्टको नेपाली सधैका लागि नै बनिरहने छौ । त्यसैले एक नेपालीले अर्को नेपालीलाई सहयोग गरौं र विदेशमा बस्ने नेपालीको दशैं पनि स्वदेशमा बस्ने नेपालीकै जस्तो हर्षोल्लास र खुशियालीसाथ मनाऔं ।

स्वदेश वा विदेश जहाँ रहे पनि दशैंमा खुशी बाँडौ ।

शुभ दशैं ।

(लेखक अधिकारी समाज सेवी तथा एएनएका वरिष्ठ उपाध्यक्ष हुनु हुन्छ )

प्रतिक्रिया