चार बालिका घाइते, एकको अवस्था गम्भीर

इनेप्लिज २०७५ असोज २७ गते १०:५३ मा प्रकाशित

गौशाला, असोज २५ गते । महोत्तरी जिल्लाको औरही नगरपालिकामा आज ढिस्कोमा पुरिएर चार बालिका घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेमा औरही नगरपालिका–३ श्रीपुर बस्ने विनोद साहकी १० वर्षीया छोरी मन्तोरिया साह, सम्झारो महतोकी ६ वर्षीया छोरी रीता महतो, दरेश यादवकी १२ वर्षीया छोरी काजल यादव र ८ वर्षीया छोरी वसन्ती यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

दशैँको बेला घर लिपपोत गरेर झकीझकाउ बनाउनुपर्ने भन्दै आज बिहान १० बजेतिर गाउँमै रहेको नदीको किनारमा माटो ल्याउन गएका चारै जना बालिका माटोकै ढिस्कोमा पुरिएर घाइते भएका छन् । घाइतेमध्ये विनोद साहकी १० वर्षीया छोरीको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ भने अन्य तीन जना बालिकाको उपचार गाउँकै एक निजी क्लिनिकमा भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया