संसदमा बामदेवको मात्रै होइन, नारायणकाजीको पनि आवश्यकता छ : झलनाथ (अन्र्तवार्तासहित)

इनेप्लिज २०७५ असोज २४ गते ११:१४ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले गत वर्ष सम्पन्न चुनावमा पराजित बामदेव गौतमलाई उपचुनावमा जिताएर संसद छिराउने प्रक्रिया सुरु गरेको छ । यसबारे जनमानसमा विरोध सुरु भइसकेको छ । गौतमका लागि चुनाव लड्न काठमाण्डौ क्षेत्र नम्बर ७ बाट चुनाव जितेका रामवीर मानन्धरले राजिनामा दिएको घोषणा गरिसकेका छन् । यही विषयमा केन्द्रित रहेर ऋषि धमलाले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बसहका लागि गरिएको कुराकनीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा पछिल्लो समय देशमा धेरै समस्या देखिएका छन् । सरकाभरले समाधान गर्न नसकेको हो ?

सरकार आफ्नै ढंगले चलिरहेको छ । समस्या समाधान हुन सकेन भनेर भन्ने कुरा सरकारलाई नै थाहा होला । कतिपय काम त राम्रै पनि गरिरहेको छ ।

तपाईहरुले सरकारको कामबारे प्रधानमन्त्री केपी ओलीलाई सोध्नुहुन्न ?

अब एउटा बैठक बसेर सबै कुरा गरौँला भन्ने सोचका छौँ । तर स्थायी कमिटिको बैठक परपर सरेको छ । दशैँ अगाडि बैठक नबस्ने परिस्थिती देखिएको छ । अब दशैँपछि बैठक बसेर सरकारको कामको समिक्षा गर्छौँ ।

काठमाण्डौ क्षेत्र नम्बर सातमा रामवीर मानन्धरले राजिनामा दिएर बामदेव गौतमलाई चुनाव लडाउन खोजिएको छ । किन ?
सचिवालय बैठकमा रामवीरले राजिनामा पत्र पठाउनुभएको थियो । त्यो पत्रको बारेमा हामीले छलफल गरेका छैनौँ । राजिनामा स्विकृत गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीले निर्णय गर्न बाँकी छ । यसबारे प्रक्रिया पूरा भएको छैन ।

बामदेवलाई उपचुनावमा लडाउने बारे पार्टीले निर्णय गरेको होइन ?

अहिलेसम्म निर्णय गरेको छैन । छलफल गर्नं बाँकी नै छ ।

संसदमा बामदेव गौतमको आवश्यकता छ ?

आवश्यकता त किन छैन ? पार्टीका सबै नेताहरुको आवश्यकता हुन्छ । नारायणकाजी श्रेष्ठको आवश्यकता छ । जति साथीहरुले चुनाव हार्नुभयो सबैको आवश्यकता छ ।

उपनिर्वाचनलाई बेमौसमको बाजा भन्नेहरु पनि छन् । यो आवश्यक थियो ?

भन्नेहरुले भनिहाल्छन् नि । अब रामवीरको राजिनामा स्विकृत भयो भने उपनिर्वाचन हुन्छ ।

चुनाव हारेको व्यक्तिले पुनः चुनाव लडेर संसद बन्न मरिहत्ते गरेको भन्दै असन्तुष्टी देखिएको छ । पार्टीभित्र के छ अवस्था ?

यसबारेमा पार्टीमा औपचारिक प्रक्रिया अगाडि नबढेकाले असन्तुष्टीबारे केही भन्न सकिदैन । अलिअलि आलोचना त भइहाल्छ ।

तपाईको धारणा चाँही के हो ?

म बामदेवजीको विरोधमा छैन । चुनाव जितेर प्रतिनिधीसभामा आउनुभयो भने राम्रो हुन्छ ।

प्रतिक्रिया