ढुक्क भएर विरामीको उपचार गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका हौँ : महासचिव डा. लोचन कार्की

इनेप्लिज २०७५ भदौ १८ गते ६:०४ मा प्रकाशित

मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् चिकित्सकहरुको आन्दोलनको विषयमा ऋषि धमलाले नेपाल चिकित्सक संघका महासचिव डा लोचन कार्कीसँ कुराकानी गरेका छन् नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको

-लोचन कार्की, महासचिव, नेपाल चिकित्सक संघ

तपाईहरुले स्वास्थ्य सेवा किन बन्द गर्नुभएको ?
पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । यो नियम हामीलाई स्विकार्य छैन । सरकारलाई नियम संशोधन गर्न भनेका थियौँ । तर सरकारले हाम्रो माग वेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएका हौँ ।

आन्दोलनका नाममा विरामीलाई सास्ती दिने काम गर्न मिल्छ ?
सामान्य तरिकाले हेर्दा डाक्टरले विरामीलाई सास्ती दिएको जस्तो देखिन्छ । तर हाम्रो आन्दोलन विरामीकै हितमा हो । अहिलेको नियमअनुसार डाक्टरहरुले विरामीको उपचार गर्दा आफू सुरक्षित हुनुपर्ने अवस्था हुन्छ । यसले विरामीको उपचार प्रभावकारी नहुन सक्छ । त्यसैले ढुक्क भएर विरामीको उपचार गर्न पाउनुपर्छ भनेर हामीले आन्दोलन गरेका हौँ ।

तपाईहरुको आन्दोलन कसरी विरामीको पक्षमा हुन्छ ?
एउटा विरामी टाउको दुखेर डाक्टरकहाँ आयो भने एमआरआई नगरी औषधी दिन सकिदैन । टाउको टयूमर हुन पनि सक्छ, क्यान्सर हुन पनि सक्छ । रगत जमेको पनि हुन्छ सक्छ । त्यसैले राम्रोसँग जाँच गर्नुपर्छ । राम्रोसँग जाँच गर्ने क्रममा जे पनि हुन सक्छ । यस्तो संवेदनशील विषयलाई अहिलेको नियमले सम्बोधन गरेको छैन् ।

तर स्वास्थ्य क्षेत्रमा बन्द हड्ताल गर्नु राम्रो भएन नि ?
हामीले आकस्मिक सेवा बन्द गरेका छैनौँ । चिकित्सकहरुले मुलुकी ऐनअनुसार काम गर्न नसक्ने अवस्था छ । यो कुरा त सबैले बुझिदिनुपर्यो नि । हामीले रहरले आन्दोलन गरेका त होइनौँ नि । पेशा नै छोड्नुपर्ने अवस्था आएपछि कसरी काम गर्न सकिन्छ ? घाँटीमा तरबार तेस्र्याउने अनि कम गर भन्न त मिलेन नि ।

तर नेपालमा डाक्टरको लापरबाहीले धेरै विरामीको ज्यान गएको उल्टो उपचार भएको यस्तो प्रवृत्ति रोक्न ल्याइएको नियमको किन विरोध गर्ने ?
डाक्टरले गलत उपचार गरेको वा नगरेको भन्ने विषयमा त अनुसन्धानबाट थाहा हुने कुरा हो नि । विशेषज्ञ टोलीले छानबिन गरेर दोषी डाक्टरलाई कारबाही गर्ने कुराको त हामीले विरोध गरेकै होइन नि । तर उपचारको क्रममा तलमाथि हुनेवित्तिकै छानविन नै नगरी डाक्टरलाई कारबाही गर्ने नियम बनाइएको छ ।

आज तपाईहरुले डाक्टरको लाइसेन्स फिर्ता गर्ने हो ?
हो ।

हतार भएन ?
ऐन संशोधनका लागि दर्ता मात्रै गरिदिएको भए पनि हामी आन्दोलनमा जाने थिएनौँ । सरकारले संशोधनको आश्वासन दियो तर संशोधन दर्तासमेत गरेन । त्यसैले आन्दोलनमा गएका हौँ । हतार गरेका छैनौँ । भदौ १५ गतेसम्म समय दिएका थियौँ । तर सरकारले संशोधन दर्ता गरेन ।

 

प्रतिक्रिया