आउ मेरो मासु खाउ

रामप्रसाद खनाल २०७५ भदौ १२ गते ११:२३ मा प्रकाशित


हिँजो
सिफारिश दस्तुर सय तिर्थेँ
आज
दुई हजार तिर्छु
पाँच हजार तिर्छु
यसो गर्न खोज्छु कर
उसो गर्न खोज्छु कर
चाहिने कुरामा कर
नचाहिने कुरामा कर
मेरो रगतको आर्जनमा कर
मेरो गर्धनमा कर

मैले तिर्ने कर
मेरा लागि हुनु पर्थ्यो
हाम्रा लागि हुनुपर्थ्यो
बिकास र निर्माणका लागि हुनुपर्थ्यो
टुङ्गोका लागि हुनुपर्थ्यो
तर
मैले तिरेको कर
बुङ्गाका लागि भएको छ
मैले तिरेको करमा
उनको गाडी चल्छ
स्मार्ट मोबाइल चल्छ
उनिहरुको चुलो बल्छ
तर मेरो चुलो
निभ्दै गैरहेको छ !

हिँजो खुब चिच्याएँ
लोकतन्त्र जिन्दाबाद भने
गणतन्त्र जिन्दाबाद भनेँ
सँघियताको नारा लगाएँ
सिँहदरवार गाउँ गाउँमा भनेँ
नेताहरुले जे जे भन्न लगाए
मैले पनि त्यही त्यही भनेँ
नेताकै कुरा माने
मेरो रगत, पसिनामा अहिले
गाउँ पालिका चल्छ
नगर पालिका चल्छ
प्रदेश सरकार
केन्द्र सरकार चल्छ
ए सरकारै सरकारहरु हो
आउ मेरो मासु खाउ
जसले जताबाट सक्छौ लुछ
गिद्धले लाश लुछे जस्तै लुछ
कसैले मेरो रगत पिउ
अनी तिमीहरु मज्जाले जिउ
म थाकी सकें
अब पाकी सकें
मेरो बाँकी रहेको प्राण
तिम्रै सँघियतालाई सुम्पे
आउ, खाउ, रमाउ
घुम्न जाउ
टाउको दुखे सिङ्गापुर जाउ
छेरपाटे लागे भारत जाउ
करोडौँ लिएर युरोप जाउ
अमेरिका जाउ
स्वास्थ्य ऊपचार गराउ
म नाथेलाई
सिटामोल नभएर के भो र !
तिम्रो सिँहदरवार गाउँ गाउँमा छ
ठाउँँ ठाउँँमा छ
मलाई जे चाहिएको थियो
पाइरहेकै छु
अझै पनि तिम्रा भेला र सभाहरुमा
सधैं धाईरहेको छु
एक मुठी शाहस रहुन्जेल
तिमीले बारम्बार पिउने
मेरो अलिकती रगत रहुन्जेल
म तिम्रै पछाडि छु

ए सरकारै सरकारहरु हो
आउ मेरो मासु खाउ
जसले जताबाट सक्छौ लुछ
गिद्धले लाश लुछे जस्तै लुछ
कसैले मेरो रगत पिउ
अनी तिमीहरु मज्जाले जिउ
म थाकी सकें
अब पाकी सकें
मेरो बाँकी रहेको प्राण
तिम्रै सँघियतालाई सुम्पे
आउ, खाउ, रमाउ !
मलाई चिहान घारीको
भुत बनाउ
तिमीहरु खुशी मनाउ !
– रामप्रसाद खनाल, हाल अमेरिका, जुलाई ३०, २०१८

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया