सडकमा दुख पाएका आमाबुबाहरुलाई नवजीवन प्रदान गर्दै मानव कल्याण समाज

इनेप्लिज २०७५ साउन ८ गते ११:१५ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। संसारमा दीनदुःखीलाई आत्मतृप्त गराउनु बराबर अर्को सुख हुँदैन । यसै आसयको महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको एक अंश मनन गरौँ ।

खोज्छन् सबै सुख भनी
तर त्यो कहाँ छ ?
आफू मिटाई अरुलाई
दिनु जहाँ छ ।

त्यसैगरी, मुनि व्यासद्वारा रचित ग्रन्थमा लेखिएको छ– ‘परोपकार पुण्याय पापाय परपीडनम् !’ यसै सन्दर्भलाई आत्मसात् गर्दै आफ्नो कर्म क्षेत्रमा लाग्दालाग्दै पनि सडकमा अलपत्र परेका असहायको उद्धार गर्न भनी सेवामा समर्पित हुने अभियन्ताबाट सुरू गरिएको एक आश्रम भर्खरै मात्र संचालनमा आएको छ।

२०७५ साल बैशाख महिनाको २५ गते देखि चाँगुनारायण नगरपालिका–७, वागेश्वोरी, भक्तपुरमा संचालित मानव कल्याण समाजले परिवारबाट त्यागिएका मानसिक सन्तुलन गुमाएका, अशक्त, अनाथ, दीनदुःखीको संरक्षण गर्न उद्धार गरी सेवामा तत्पर सञ्चालक समिति गठन गरेको छ। सुमित्रा चौलागाई, विजय कुमार पोखेरेल, राम चन्द्र भण्डारी, सुदर्शन जोशी, हरि तिमल्सिना, कृष्ण मुराहरी पुडासैनी र सन्तोष निरौला गरेर ७ जनाको सदस्यद्वारा घर भाडामा लिएर संस्था सञ्चालन भएको हो।

‘दियो मुनिको अध्यारो झैँ भएको छ भक्तपुर जिल्ला त्यसैले यस जिल्लालाई उज्यालो बनाउन जरुरत छ। ‘ भन्छिन् सुमित्रा। विगत लामो समय देखि मानव सेवा आश्रममा निरन्तर सहयोग गर्दै आएको कारणले गर्दा पनि उनले भक्तपुरमा पनि यस्तो आश्रम जरुरत छ भनेर उनले मानव समाज कल्याण खोल्ने निर्णय गरेकी हुन्।

घरपरिवारद्वारा त्यागिएका, मानसिक सन्तुलन गुमाएका, असहाय, अनाथ, दीनदुःखीहरुको बाँच्न पाउने अधिकारको सुनिश्चितता एवम् गाँस, बास र कपासको व्यवस्था गरी स्वस्थ भएपछि आयआर्जनका निम्ति सीपमूलक तालिम र बालबालिकाको शिक्षाको व्यवस्था गर्ने र पीडितहरुको उपचारपछि तिनीहरुको थातथलो पत्ता लगाई परिवारसँग पुनर्मिलन गराउने यो संस्थाको उद्देश्य रहेको छ । यस भक्तपुर जिल्लालाई सडक मानवमुक्त गराई जरैबाट यस समस्यालाई निर्मुल पार्ने यस संस्थाको उद्देश्य रहेको छ।

आश्रममा आश्रितहरुलाई सेवा गर्न चाहनेले आफ्नो जन्मदिन, विवाह, व्रतबन्ध, चौरासी, वैवाहिक कार्यक्रम, वार्षिकी, पितृकार्य, सप्ताह पुराणमा एकदिन वा एक छाक खुवाएर यो संस्थालाई सेवा गर्न सक्नेछन्। भोकाएका, एक छाक तातो खान नपाएकालाई खुवाउनु नै सबै भन्दा ठुलो धर्म हो। खान पाएकाले त यसैउसै खान पाएका नै छन् तर भोकाको लागि भोजन गराउनु महापुण्यको काम हो।

आफू पनि बाँचौँ र अरुलाई पनि बाँच्न देऊ भन्ने उपदेशलाई चरितार्थ गर्दै सबै उदार दानदाताले होस्टेमा हैँसे गर्दै जाँदा ती असहाय आश्रममा आश्रित प्राणीको संरक्षणमा सहयोग पुग्नेछ ।

यस संस्थामा विभिन्न कारणबाट कष्टकर जीवन बिताउन बाध्य भएका विभिन्न उमेरका सडकमा असहाय, अशक्त, अपाङ्ग, मानसिक सन्तुलन गुमाएका र मागेर पनि खान असमर्थ अनि परिवारबाट त्यागिएका तथा दैवी प्रकोपमा परेर आफन्त गुमाई बिचल्लीमा परेका व्यक्तिहरुको उद्धार गर्ने गरिएको छ। हाल ४ वर्षको सानो बच्चा देखि ७५ वर्षको बृद्ध समेतलाई यस संस्थाले आश्रय दिईरहेको छ।

प्रतिक्रिया